सुर्खेतको गढी पुननिर्माणको काम थालियो



पुरातत्व विभागको क्षेत्राधिकारमा पर्ने वीरेन्द्रनगर नगरपालिका–१४ मा रहेको गढीलाई अब हेर्न लायक बनाइने भएको छ । विभागले चालू आर्थिक वर्षमा गढी पुननिर्माणका लागि ७ लाख बजेट विनियोजन गरेको थियो । त्यहीँ बजेटमार्फत छरपष्ट रहेको गढीलाई पुननिर्माण गरेर संरक्षण गर्न लागिएको हो । नेपाली सेनाको कपासे ब्यारेकले हाल निर्माण व्यवसायीलाई जिम्मा दिएर काम थालेको जानकारी दिएको छ ।
नन्दराम जैशी । सुर्खेत ।

विगत ६ दशकदेखि भग्नावशेष अवस्थामा रहेको सुर्खेतको गढी पुुननिर्माणको काम थालिएको छ । पछिल्लो समय गढीमा बढ्दो आन्तरिक पर्यटकलाई मध्येनजर गर्दै बाह्य पर्यटकको पनि आकर्षण बढाउन र पुुरातात्विक सम्पदाको संरक्षण गर्न पुननिर्माणको काम थालिएको हो । पुरातत्व विभागको क्षेत्राधिकारमा पर्ने वीरेन्द्रनगर नगरपालिका–१४ मा रहेको गढीलाई अब हेर्न लायक बनाइने भएको छ । विभागले चालू आर्थिक वर्षमा गढी पुननिर्माणका लागि ७ लाख बजेट विनियोजन गरेको थियो । त्यहीँ बजेटमार्फत छरपष्ट रहेको गढीलाई पुननिर्माण गरेर संरक्षण गर्न लागिएको हो ।

नेपाली सेनाको कपासे ब्यारेकले हाल निर्माण व्यवसायीलाई जिम्मा दिएर काम थालेको जानकारी दिएको छ । आर्थिक वर्ष २०८१–०८२ को जेठ मसान्तसम्म काम सक्नेगरी सेनाले याम जी कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको छ । उत्खननसँगै हेर्न लायक गढी निर्माणको काम तीव्र गतिमा भइरहेको कन्ट्रक्सनले जनाएको छ । कन्ट्रक्सनका सञ्चालक रेशम ढकालले गढीको यकिन लिखित संरचना नभएकाले विभागले भनेअनुसारकै हेर्न लायक गढीको काम भइरहेको बताए । गढीमा कुनै बेला हतियार राख्ने खोपासहितको संरचना थियो । अहिले पनि पुननिर्माण गर्दा सोही अनुसारको संरचना बनाइने भएको छ । यसअघि तारबार गरेर घेरिएको तर हेर्न लायक संरचना नहुँदा त्यहाँ पुुग्ने पर्यटकहरू खिन्न हुने परिस्थिति थियो ।

नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ । सेनाले यसको प्रवेशद्धारमा पृथ्वीनारायण शाहको प्रतिमा बनाएको छ । जसले यस क्षेत्रको शोभा बढाएको छ । गोठीकाँडा क्षेत्र पुग्न सुर्खेत–दैलेख सडक अन्तर्गत छेडाबाट पश्चिमतर्फ मोडिनुपर्छ । दैलेख सडकको जिरोप्वाइन्ट इत्राम कपासेदेखि छेडाको दुरी ७ किलोमिटर छ । वीरेन्द्रनगर १ टेम्पो पार्क–बराहताल गाउँपालिका–१० सलेना हुँदै वैकल्पिक सडक निर्माण गरिएको छ ।

कुनै बेलाको राज्य सञ्चालनको केन्द्र, प्रशासनिक केन्द्र सुर्खेत उपत्यका (वीरेन्द्रनगर) को विकास क्रमसँगै ओझेलमा पर्दै गयो । अधिक मानिसहरू बसाइँ सर्न थालेपछि यो ठाउँ विकासका अभियानबाट वञ्चित हुन पुगेको हो । गढी पुुग्न सडक पुरै कालोपत्रे भइसकेको छैन । पछिल्ला वर्ष त्यहाँको मुख्य समस्या खानेपानी बनेको छ ।

नजिक पानीको मुहान नहुँदा र टाढा रहेका मुहानहरू पनि दिनानुदिन बढ्दो तापक्रमका कारण सुक्दै गएका छन् । गाउँमा भएको सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन् । निजी स्कुलहरू छैनन् । जसले गर्दा छोराछोरीको शिक्षाका लागिसमेत त्यहाँबाट वीरेन्द्रनगर बसाइँ सर्ने प्रचलन बढेको छ । वीरेन्द्रनगरले गढीको विकासका लागि पर्यटकीय क्षेत्र घोषणा गरेर सडक पूर्वाधारदेखि अन्य कामहरू गरिरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले गढी क्षेत्रमा तारबार लगाउने जस्ता प्रारम्भिक संरक्षण कार्यहरू गरेको छ । कालीबहादुर गण कपासे ब्यारेक, सुर्खेतले गढीको संरक्षण र प्रचारप्रसारमा पहल गरिरहेको छ । नेपाली सेनाले गढीको संरक्षणको लागि ५ लाख रूपैयाँ बजेट छुट्याएको थियो । जसबाट गढी संरक्षणबारे अन्तरक्र्रिया, स्थलगत अध्ययन र गढीको स्केच (डिजाइन) बनाउने काम भएको छ । गढी पुननिर्माणसँगै चहलपहल बढ्ने अपेक्षा गरिएको छ । वीरेन्द्रनगर – ४ देखि १४ नम्बर वडास्थित गढीसम्म पुग्ने पैदलमार्गको यसअघि नै निर्माण गरिएको छ ।

हिउँदमा पारिलो घाम ताप्न पाइने र गर्मी याममा चिसो हावा चल्ने हुँदा वीरेन्द्रनगरबाट गर्मी छल्न अधिक मानिसहरू त्यहाँ पुग्ने गर्छन् । शनिबार र बिदाका दिन गोठीकाँडा क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । यो क्षेत्र यो स्थान पर्यापर्यटनमा रमाउन मात्र नभई इतिहासका विद्यार्थी र अन्वेषकका लागिसमेत भ्रमणयोग्य रहेको नेपाल पत्रकार महासंघका अध्यक्षसमेत रहेका सुर्खेत इतिवृत्त २ लेखकका सुशीलराज शर्मा बताउँछन् । उनको भनाइमा खस राजा, बेलासपुरे राजाका फौजको सेल्टरका रूपमा गढीलाई उपयोग गरेको देखिन्छ । जब बेलापुर राज्य र दुल्लु राज्यका बीच मनमुटाव भयो अनि बहादुर शाहको नेतृत्वमा त्यसलाई ध्वस्त पारिएको हुनसक्छ ।

गढीको इतिहास

गढी समुद्री सतहदेखि १,५२२ मिटर उचाइमा अवस्थित छ । बयलकाँडा गढीमा कुनै समय सुर्खेतको सदरमुकाम थियो । सुर्खेत इतिवृत्त २ अनुसार २०१९ सालमा औलो उन्मुलनका लागि कार्यालय स्थापना भएको र गढीमा रहेका सरकारी कार्यालयमा २०२३ मा वीरेन्द्रनगर उपत्यकामा सारिएको थियो ।

बाइसे चौबिसे शासनकाल, राणाकाल र पञ्चायतको प्रारम्भमा बाक्लो बस्ती, मानिसहरूको चहलपहल रहेको गढी क्षेत्र जब सुर्खेतमा औलो उन्मुलन भयो तब क्रमशः सुनसान बन्दै गयो । सुर्खेत उपत्यकामा २०२२ सालमा औलो उन्मुलन घोषणा भएको थियो । त्यसअघि उपत्यकाको तल्लो क्षेत्रमा राजी र थारु जातिको मात्र बसोबास थियो । गोठीकाँडाका केही अगुवाले उपत्यकामा गरिने खेतीबालीको सहयोगका लागि दाङबाट थारु जातिका मानिस झिकाएका थिए ।

जानकारहरका अनुसार २०२३ को मंसिरतिर गोठीकाँडा क्षेत्रका प्रशासनिक कार्यालयहरू पनि उपत्यकामा स्थानान्तरण भए । कट्कुवा, कपासे क्षेत्रको पूरै बस्तीलाई स्थानान्तरण गरी त्यहाँ वृक्षारोपण कार्यक्रम सञ्चालन गरियो । बयलकाँडा टाकुरामा ऐतिहासिक गढीमा लामो समयदेखि भग्नावशेष रहेको थियो । यो पाँच कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको छ । गढी बाइसे चौबिसे राज्यकालमा बनेको अनुमान छ । गढीको केही दुरीमा फाटफुट अक्षर देखिने ढुंगाका खम्बाहरू गाडिएका छन् ।

यो त्यतिबेला दैलेख बेलासपुर राज्यको अधिनस्थ थियो । गोर्खाली फौज र बेलासपुरे राजाका फौजबीच लडाइँ हुँदा गढी भत्किएको हुन सक्ने अनुमान बाहेक लिखित दस्तावेज हालसम्म भेटिएका छैनन् । गढीमा अवस्थित स्तम्भमा लेखिएको छ, ‘साके १७१२ मा फेरि कालु पाँडे, सरदार सत्रुघन शाही कम्पनी २ ली कास्कीका द्धान्या जैभत्र बोहरा थर, घर उमराली सुर्खेत, दैलेखका लडायी जीती दैलेख सर गरी कर्नालीमा खाडो पर्खाली नेपाल गया ।’

यो लेखोटले युद्धभन्दा अघि र पछि पनि युद्ध भएको अनुमान गर्न सकिन्छ । बहादुर शाहका पालामा बेलासपुर राज्य कब्जा गरिएको थियो । किनकि यो बेलासपुर राज्यको अधिनमा थियो । अन्यत्रका गढीको इतिहास हेर्दा यो गढीको पनि नेपाल एकीकरणकै क्रममा भत्काइएको अनुमान गर्न सकिन्छ ।

गढीकै नामबाट साबिक गाउँ विकास समितिको नामकरण गरिएको थियो । यहाँबाट वीरेन्द्रनगर उपत्यकासँगै बराहताल र दैलेखको गुराँस गाउँपालिकाका विभिन्न बस्तीलाई नियाल्न सकिन्छ । सूर्योदयदेखि सूर्यास्तसम्म बयलकाँडा गढीबाटै देख्न सकिन्छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार