डीपीआर स्वीकृत नहुँदा विमानस्थल विस्तार अन्योल



हुम्ला ।

सिमकोट विमानस्थल विस्तार र जग्गा अधिग्रहण कार्य अन्योलमा परेको छ । यसका लागि आवश्यक बजेटको व्यवस्था भएपनि निर्माण कार्य अघि बढ्न सकेको छैन् । चालू आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएपनि डीपीआर स्वीकृत नहुँदा काम अघि बढाउन समस्या भएको जग्गा खरिद समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए ।

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय काठमाडौँले विमानस्थल विस्तारका लागि डीपीआर तयार पारेको छ । तर त्यसलाई स्वीकृत नगरिएको कारण आवश्यक विमानस्थल विस्तारको काम अगाडि बढाउन समस्या भएको हो । बजेटको व्यवस्था गरी अख्तियारी नेपाल नागरिक उड्डयन प्राधिकरणको सिमकोट शाखालाई आएको छ ।

विमानस्थल विस्तारका लागि जग्गा खरिद व्यवस्था अगाडि बढाउन लागिएको बेला प्राधिकरण केन्द्रका अधिकारीले डीपीआर स्वीकृत नभएको भन्दै काम अघि नबढाउन आदेश दिएका छन् । जग्गा खरिद कार्य अगाडि बढाउनु भन्दा पहिले डीपीआर पारित गराउने कार्य गर्न सुझाव छ ।
‘प्राधिकरणको सिमकोट शाखाले जग्गा खरिद कार्य अन्तिम चरणमा पु¥याएर सूचना प्रकाशन गर्ने अवस्थामा पुगेको थियो’ प्रजिअ रेग्मीले भने, ‘अब मुख्य काम नै डीपीआर पारित गराउनु बाँकी छ, त्यका लागि पहल भइरहेको छ ।’ यसअघि लामो समयदेखि बजेटको अभावका कारण सिमकोट विमानस्थलको धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्य रोकिएको थियो ।

तर, प्राधिकरणले गत साउन ३० गते आवश्यक बजेट २७ करोड ९४ लाख रूपैयाँ विनियोजन गरि काम अघि बढाउन आदेश दिएको थियो । विमानस्थल विस्तारका लागि ६० दशमलव ८१ रोपनी जग्गा आवश्यक पर्ने उल्लेख छ । जग्गाको नापजाँच समेत भई सकेको छ । विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गाको मूल्य जिल्ला दररेट अनुसार प्रति वर्गमिटर ६ हजार २०० रूपैयाँ रहेको छ । सो क्षेत्रभित्र नौ वटा भवन समेत अधिग्रहण हुनेछन् ।

यसअघि जग्गा अधिग्रहणका लागि गर्नुपर्ने सबै काम पूरा गरिएको थियो । यो काम सम्पन्न भए हाल विमानस्थलको लम्बाईमा ३०० मिटर वृद्धि हुने छ । पर्यटकीय सिजनमा उडानको चाप व्यवस्थापन हुने अपेक्षा छ । हाल सिमकोट विमानस्थलको लम्बाई घेरवारसहित ७०० मिटर लम्बाइ रहेको छ, भने रनवे ६५० मिटर लम्बाइ छ ।

अब विस्तारपछि विमानस्थलको लम्बाइ घेरवारसहित एक हजार १० मिटर लम्बाइ रहनेछ भने ९५० मिटर लम्बाइ रनवे हुनेछ । विमानस्थल विस्तारपछि २९ र ४५ सिटे जहाज अवतरण गराउने लक्ष्य राखिएको छ । हाल १४ देखि १८ सिटे साना जहाज विमानस्थलमा अवतरण गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार