नेपालगन्जमा महायज्ञ आयोजना गर्ने तयारीका बीच ‘बैकुण्ठधाम सिधनियाघाट’को योजनादेखि महायज्ञ आयोजकको शैलीसमेतलाई लिएर पक्ष र विपक्षमा टीकाटिप्पणीहरू भइरहेका छन् । ती टिप्पणीमध्ये कतिपय टिप्पणीहरूले सिधनियाघाटमा शवदाहस्थल व्यवस्थित बनाउने मोडेलमा मतमतान्तरदेखि लिएर सनातन परम्परामा श्रद्धापूर्वक लिइने महायज्ञलाई समेत विवादमा तानिरहेका छन् । यस्तै स्थानीयहरूलाई पाखा लगाइएको, स्थानीय सरकारले योजना बनाइरहँदा अर्को उस्तै योजना किन बनाउन लागिएको र समितिमा सीमित व्यक्तिको वर्चस्व रहेको भन्दै सबैतिरबाट प्रश्न उठिरहेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘नेपालगन्जमा केही सामाजिक अगुवाको अगुवाईंमा र आम नागरिकको समर्थनमा सञ्चालन गर्ने भनिएको बैकुण्ठधाम महायज्ञको भित्री आशय बेठिक दिशामा क्रमशः केन्द्रित हुँदै छ’ लुम्बिनी प्रदेश सभा सदस्य एवंम् लुम्बिनी सरकारका पूर्वमन्त्री रत्न खत्रीले शनिबार अपरान्ह्र लेखेको फेसबुक स्टाटस हो यो ।
यसमा खत्रीले संकेत गर्न खोजेको विषय के हो खुलाएका छैनन् । उनीसँग टेलिफोन सम्पर्क प्रयास गर्दा मोबाइल स्वीच अफ थियो । यद्धपि एक बहालवाला जनप्रतिनिधि र पूर्वमन्त्रीले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिले डुडुवा गाउँपालिका–५ सिधनियाघाटमा हिन्दु धार्मिक संस्कारअनुसारको सद्गतिस्थल निर्माणार्थ आयोजना गर्ने भनिएको महायज्ञ र उक्त योजनामाथि पहिलेदेखि नै उठिरहेका विवादहरूलाई थप बल पु¥याइदिएको छ ।
‘महायज्ञबाट १५ करोड रुपैयाँ संकलन गर्ने र राप्ती नदीमा व्यवस्थित शवदाहस्थलसँगै योग ध्यानसमेत गर्न मिल्नेगरी व्यवस्थित भौतिक संरचनाहरू निर्माण गर्ने ।’ केही चिकित्सक, कानुन व्यवसायी र मानवअधिकारकर्मी समेत सम्मिलित समूह ‘मल्हमपट्टि मर्निङ वाक ग्रुप’ले बनाएको योजना हो यो । उक्त योजनालाई यो ग्रुपले ‘बैकुण्ठधाम सिधनियाघाट’ नाम दिएको छ । यही नाममा संस्था पनि दर्ता गरिएको छ ।
‘बैकुण्ठधाम सिधनियाघाट’को योजनालाई सफल बनाउन नेपालगन्जमा महायज्ञ आयोजना गर्ने, त्यसबाट केही रकम संकलन गर्ने र अपुग रकम राज्यका निकायबाट बजेट हाल्न लगाएर पूर्ति गर्ने रोडम्याप बनाइएको छ । महायज्ञलाई आयोजकले ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ नाम दिएको छ । कथावाचक हुनेछन् वाचन प्रवीण उपाधिले प्रसिद्ध पण्डित दीनबन्धु पोखरेल ।
यही कात्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जको रामलीला मैदानमा आयोजना हुने महायज्ञमा दान गर्ने दाताहरूलाई उनीहरूले दिएको रकमका आधारमा सम्मान गर्ने खाका समेत बनाइएको छ । जसमा ३ हजार रुपैयाँसम्म दान गर्नेले फूल उपहार पाउनेछन् भने १५ लाखभन्दा बढी दान गर्नेलाई चौसल्ला, रुद्राक्षको माला, जोडी कलशले सुशोभन गरी घरबाटै बाजागाजासहित रथमा राखेर महायज्ञस्थलमा लगिने स्किम बनाइएको छ । अझ त्यसभन्दा बढी दान गर्नेलाई त नगर परिक्रमा नै गराउने भनिएको छ ।
गत साउन महिनामा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा लगाइएको एक महिने कोटीहोम महायज्ञमा पनि दानकर्ताहरूलाई यस्तै खालको सम्मानको खाका थियो । भाडाको घरमा बसिरहेको अनाथालयमा रहेका बालबालिकालाई आफ्नै घरमा सार्ने भनेर गरिएको उक्त महायज्ञमा देशविदेशबाट सहयोगको ओइरो लागेको थियो । यद्धपि अन्त्यमा आयोजकले २० करोड १५ लाख ८२ हजार रुपैयाँ संकलन भएकोमा संकलन भएभन्दा बढी आयोजनामै खर्च भएको भन्दै ७२ लाख ५० हजार रुपैयाँ घाटा भएको विवरण सार्वजनिक ग¥यो ।
उक्त महायज्ञपछि अहिले महायज्ञलाई लिएर देशैभरी नै मानिसहरूमा नकारात्मक धारणा विकास भइरहेको समाचारहरू सञ्चारमाध्यममा आइरहेका छन् । यसै अवस्थामा नेपालगन्जमा पनि महायज्ञ आयोजना गर्ने तयारीका बीच ‘बैकुण्ठधाम सिधनियाघाट’को योजनादेखि महायज्ञ आयोजकको शैलीसमेतलाई लिएर पक्ष र विपक्षमा टीकाटिप्पणीहरू भइरहेका छन् ।
ती टिप्पणीमध्ये कतिपय टिप्पणीहरूले सिधनियाघाटमा शवदाहस्थल व्यवस्थित बनाउने मोडेलमा मतमतान्तरदेखि लिएर सनातन परम्परामा श्रद्धापूर्वक लिइने महायज्ञलाई समेत विवादमा तानिरहेका छन् । तीमध्ये मुख्य तीन विवादहरू सतहमा छन् ।
विवाद १ : स्थानीयलाई समेटिएन
महायज्ञ र बैकुण्ठधाम सिधनियाघाटको योजनामा उक्त योजना कार्यान्वयन हुने ठाउँमै स्थानीयहरूलाई पाखा लगाइएको आरोप लागिरहेको छ । आयोजकले असोज १९ गते शुक्रबार नेपालगन्जमा पत्रकार भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा पत्रकारहरूको सङ्ख्या करिब आधा दर्जन मात्रै थियो ।
प्रश्न सोध्ने बेलासम्म दुई जना मात्रै पत्रकार थिए । आयोजकले महायज्ञका लागि हालसम्म २५ सदस्यीय सचिवालय र १ सय ५ उपसमितिमा २ हजारभन्दा बढी सदस्यहरू जोडेको बताएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा सहभागी राजनीतिकर्मी एवम् समाजसेवी अजितकुमार शर्माले मञ्चबाटै भने, ‘यस हलमा रहेका खाली कुर्सीहरू हेर्दा बाहिर यस आयोजनलाई लिएर आइरहेका सबै टीकाटिप्पणीहरू बेवास्ता गर्नलायक छैनन् भन्ने देखियो ।’ उनले स्थानीय समुदायलाई र नेपालगन्जका विभिन्न समुदायको प्रतिनिनिधित्व र अपनत्वको सवाललाई बिर्सन नहुने बताए ।
आयोजक बैकुण्ठधाम सिधनियाघाटका अध्यक्ष सुरेशकुमार कनोडिया सबैको प्रतिधित्व गराउनेगरी आफूहरूले काम गरिरहेको बताउँछन् । स्थानीयहरूसँग सल्लाह र समन्वय गरेरै २८ कठ्ठा जग्गाको बयानासमेत बुझाइसकेको उनले बताए । यस्तै थप तीन बिघा जग्गाका लागि पनि स्थानीयसँग सल्लाह भइरहेको कनोडिया बताउँछन् ।
विवाद २ : स्थानीय सरकारले योजना बनाइरहँदा अर्को उस्तै योजना किन ?
बैकुण्ठधाम सिधनियाघाँटका लागि संरचना बनाउने भनिएकै ठाउँमा डुडुवा गाउँपालिकाले पनि संरचनाहरू बनाउन थालेको छ । स्थानीय तहले निर्माण गरिरहेकै योजनाजस्तै अर्को अलग्गै योजना आवश्यक नहुने भन्दै कतिपयले विरोध पनि गरिरहेका छन् । तर, बैकुण्ठधाम सिधनियाघाँटका अध्यक्ष कनोडिया उक्त संरचना पर्याप्त नभएको बताउँछन् ।
पार्किङदेखि लिएर शवदाहस्थल पनि व्यवस्थित नभएकाले गाउँपालिकाले बनाएको संरचनाले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने उनको भनाइ छ । आफूहरूको योजनामा अग्नि दाहस्थल, विद्युतीय शवदाहगृह, मलामीका लागि ओत लाग्ने ठाउँ, शिवालय, किरियापुत्री कक्ष, पितृको मृत्युकर्म, सोह्रश्राद्ध, पितृ मोक्ष कर्मकाण्डलगायतका कार्य गर्नका लागि संरचना बनाइने उनले बताए । भविष्यमा उक्त योजना स्थानीय सरकारले जिम्मा लिन्छ भने त्यसमा पनि तयार रहेको उनी बताउँछन् ।
विवाद ३ : समितिमा सीमित व्यक्तिको वर्चस्व
बैकुण्ठधाम सिधनियाघाटको योजनाको परिकल्पनाकार समूह ‘मल्हमपट्टि मर्निङ वाक ग्रुप’ले योजनालाई सबैको अपनत्व हुने बनाउन नसकेको आरोप लागिरहेको छ । उक्त योजनामा मधेशी समुदायलाई किनारामा पारेर समितिहरू बनाइएको र विरोध गर्नेहरूलाई मुख थुन्ने उद्देश्यले सदस्यता बाँड्ने गरिएको आरोप लागिरहेको छ ।
कतिपय व्यक्तिले असन्तुष्टि जाहेर गर्दै दिइएको सदस्यता फिर्ता गरेका पनि छन् । योजनामा जनताबाट रकम उठाएर र सरकारी बजेटसमेत लिएर निर्माण गर्ने भनिएपछि यसलाई सामूहिक अपनत्व महसुस हुनुपर्ने योजना बनाउनुपर्ने भन्दै आवाज पनि उठिरहेको छ । अध्यक्ष कनोडिया परिकल्पनाकार ‘मल्हमपट्टि मर्निङ वाक ग्रुप’ नै भएपनि यसलाई सामूहिक बनाउन नै महायज्ञ आयोजना गर्न लागिएको बताउँछन् ।
यसलाई हामीहरू आफैँ चन्दा उठाएर पनि अघि बढाउन सक्थ्यौँ । तर सामूहिक बनाउनुपर्छ भनेर नै आध्यात्मिक महोत्सवको अवधारणामा अघि बढेका हौँ,’ उनले थपे, ‘कतिपय विरोध गर्नेहरू राजनीतिक स्वार्थले पनि प्रेरित छन् । अन्य स्वार्थ पनि होलान् ।’
यसबाहेक आर्थिक हिसाबकिताब पारदर्शिताको सुुनिश्चितताका विषयमा पनि कतिपयले आशंका व्यक्त गरिरहेका छन् । तर, आयोजक संस्थामा सामाजिक प्रतिष्ठा भएका र स्वच्छ छवि भएका व्यक्तिहरू नै छन् । अध्यक्ष कनोडिया हरेक हिसाब पारदर्शी हुनेमा शंका नगर्न आग्रह गर्छन् । उनले बैकुण्ठधाम सिधनियाघाटको योजना पूरा हुन २० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको बताए ।
अर्कोतिर अन्तिम संस्कारस्थललाई चमकधमकयुक्त र अति सुविधायुक्त बनाउनु आवश्यक छ कि छैन भन्ने विषयमा पनि मतमतान्तर भइरहेको छ । कथावाचक पोखरेल भन्छन् ‘जन्मजस्तै मृत्यु पनि सानदार बनाउनुपर्छ ।’ त्यो मृत्यु अघिको अवस्थामा सानदार हो कि मृत्यु भइसकेपछिको सानदार ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘मृत्युअघिको अवस्था सानदार बनाउन पूर्वीय दर्शनले योग ध्यानदेखि अनेक विधिहरू दिएको छ । मृत्युपछि त अन्तिम संस्कार मान्छेको गच्छेअनुसारको गर्ने हो ।’
प्रतिक्रिया दिनुहोस्