शिवु खनाल। देउखुरी ।
कृषि क्षेत्रको विकास र कृषि उत्पादकत्व वृद्धिका लागि भरपर्दो र दिगो सिँचाइ सुविधाको विस्तार प्रमुख आधारमध्ये एक हो । कृषि र सिँचाइ एक–अर्काका परिपूरक हुन् । दिगो सिँचाइबिना कृषि क्षेत्रको विकास सम्भव छैन । कृषि क्षेत्रलाई जीवन्त र चलायमान बनाइराख्न सिँचाइ क्षेत्रको विकासलाई पनि सँगसँगै बढाउन जरुरी हुन्छ ।
तर, कृषि छोडेर अन्य पेसातर्फ आकर्षण, गाउँघरका युवाको विदेश पलायन किसानले भोगिरहेका समस्या र स्थानीय तहको कमजोर नीतिगत र कार्यान्वयन व्यवस्था आदिले कृषि क्षेत्रको विकासमा चुनौती थपिरहेका छन् । दाङको राजपुर गाउँपालिका–७ डगमारा नाका निवासी प्रमोद घर्तीले गाउँमा सिँचाइको सुविधा नहुँदा एक बिघा खेतीयोग्य जग्गा बाँझो रहेको बताए । उनले स्थानीय सरकारबाट कृषि क्षेत्रमा उपलब्धि हुन नसकेको आरोप लगाए ।
‘अहिले तीन तहको सरकार छ । स्थानीय सरकार किसानको पक्षमा हुनुपर्नेमा किसानका लागि त्यस्तो महसुस हुन सकेको छैन,’ उनले भने, ‘समयमा मल बीउ पाइँदैन, सिँचाइको व्यवस्था छैन, असिना पानी, बाढी पहिरो र अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा पनि समयमा नै उचित क्षतिपूर्ति पाइँदैन ।’भारतसँग सीमा जोडिएको दाङको गढवा र राजपुर गाउँपालिका ग्रामीण क्षेत्र हुन् ।
यहाँका ९० प्रतिशतभन्दा बढी स्थानीय कृषि पेसासँग आबद्ध छन् । सोही ठाउँ निवासी जगत बहादुर घर्तीले कृषि र कृषकका हितका लागि स्थानीय सरकारले कुनै उदाहरणीय काम नगरेको गुनासो गरे । उनले स्थानीय तहका जनप्रतिनिधिले विगतमा दिएको आश्वासन पूरा गर्न नसकेको बताए । ‘गाउँमा सिँचाइको सुविधा छैन । डगमारा खोलाबाट पानी बोकेर गहुँमा पानी लगाउने गरेका छाँै,’ उनले भने, ‘सिँचाइको सुविधा नहुँदा उत्पादनमा कमी हुनुका साथै दैनिक उपभोग्य बस्तु भारतीय बजारबाट किनेर खानुपर्ने बाध्यता छ ।’
त्यस्तै, स्थानीय सृजना पुनले पनि गाउँमा पर्याप्त सिँचाइको सुविधा नहँुदा अन्नबाली उत्पादनमा कमी हुँदै गएको जनाइन् । उनले कृषि क्षेत्रमा लगानी बढाए पनि सिँचाइको पर्याप्त सुविधा नहुँदा उत्पादनमा कमी आएको बताइन् । ‘सीमावर्ती क्षेत्रका विभिन्न गाउँमा अन्नबाली प्रसस्त मात्रामा फलाउथ्यौं, तर सिँचाइको समस्या छ,’ उनले भनिन्, ‘सिँचाइ अभावका कारण खेतीयोग्य जमिन बाँझो राख्न बाध्य छाँै ।’
भारतसँग सीमा जोडिएका डगमारा, गम्भीरा, सिउरेनी, गन्धेला, छेक्रियालगायतका नाकामा सिँचाइ नहुँदा अधिकांश खेतीयोग्य जमिन बाँझो रहेको छ ।
राजपुर गाउँपालिका–७ सुनपत्थरी नाका निवासी गोरेन्द्र घर्तीले स्थानीय सरकारसँग सिँचाइको माग गरे पनि अहिलेसम्म कुनै चासो नदेखाएको बताए । उनले हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँजस्ता बालीनाली प्रभावित भएको जानकारी दिए । खेतबारीमा छरेका कुनै पनि बाली सप्रन नसकेको बताउँदै उनले दिगो कृषिका लागि भरपर्दो सिँचाइको आवश्यक रहेको बताए । आफ्ना मागहरूलाई स्थानीय सरकारले गम्भीरतापूर्वक नलिएको यस क्षेत्रका किसानहरूको गुनासो छ ।
सरकारले हरेक ऐन, नियम र नियमावलीमा सिँचाइ क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । संविधानमै जलस्रोतको बहुपयोगी विकास गर्ने, जलउत्पन्न प्रकोप नियन्त्रण र नदीको व्यवस्थापन गर्दै दिगो र भरपर्दो सिँचाइको विकास गर्ने राज्यको नीतिमा रहे पनि व्यवहारमा भने सिँचाइ क्षेत्र अझै उपेक्षित रहेको स्थानीय चक्रबहादुर खड्काले बताए । उनले दिगो रूपमा किसानका खेतमा सिँचाइ सुविधा पु¥याई कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्