धमाधम चीन जान थाले हुम्लावासी



जिल्ला प्रशासन कार्यालय हुुम्लाले नयाँ सीमापास दिएसँगै हुम्लावासी धमाधम चीन जान थालेका छन् । एक हजारभन्दा बढी हुम्लावासी चीनको पुराङकाउण्टीस्थित ताक्लाकोट गएका हुन् । व्यापार व्यवसाय र रोजगारीका लागि युवायुवतीहरू हिल्सा नाका हुँदै ताक्लाकोट गएको यारी नाका भन्सार कार्यालय प्रमुख रामराज जैसीले बताए । उनका अनुसार यही वैशाख १ गतेयता एक हजारभन्दा बढी बेरोजगार युवायुवती चीनको ताक्लाकोट गएका छन् ।

नन्दराम जैशी । सुर्खेत ।

जिल्ला प्रशासन कार्यालय हुुम्लाले नयाँ सीमापास दिएसँगै हुम्लावासी धमाधम चीन जान थालेका छन् । एक हजारभन्दा बढी हुम्लावासी चीनको पुराङकाउण्टीस्थित ताक्लाकोट गएका हुन् । व्यापार व्यवसाय र रोजगारीका लागि युवायुवतीहरू हिल्सा नाका हुँदै ताक्लाकोट गएको यारी नाका भन्सार कार्यालय प्रमुख रामराज जैसीले बताए ।

उनका अनुसार यही वैशाख १ गतेयता एक हजारभन्दा बढी बेरोजगार युवायुवती चीनको ताक्लाकोट गएका छन् । जसमा २९९ जना महिला र ७०३ जना पुरुष रहेका छन् । यसवर्ष हालसम्मकै सबैभन्दा बढी महिलाहरू कामका लागि ताक्लाकोटमा पुगेका हुन् । हालसम्म ताक्लाकोट गएका मध्ये अधिकांश रोजगारीका लागि गएका छन् । भने केही व्यक्ति फुरु व्यापारका लागि गएको भन्सार कार्यालय प्रमुख जैसीले बताए ।

उनका अनुसार ताक्लाकोटमा नेपालीहरू होटेल रेष्टुरेन्टमा काम गर्नुका साथै अन्य ज्याला मजदुरीको पनि काम गर्ने गर्छन् । उनीहरू अब ६ देखि ८ महिना ताक्लाकोटमा बसेर काम गर्नेछन् भने हुम्लाका बेरोजगार युवायुवतीको रोजगारीको गन्तव्य पनि ताक्लाकोट बनेको छ ।

नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीका स्थानीयमध्ये ७० प्रतिशतले ताक्लाकोट पुगेर काम गर्ने गर्दछन् । रोजगारीका लागि ताक्लाकोट मुख्य गन्तव्य भएका कारण लिमीबाट धेरै पहिलेदेखि काम गर्न जाने चलन थियो । अन्य देशमा जान नसक्ने लिमीका बेरोजगार युवायुुवतीहरू केही महिना ताक्लाकोट गएर काम गरी कमाएको पैसाले वर्षभरी घर खर्च चलाउने गर्दछन् ।

त्यहाँ कामदारले एक दिनमा १२० युआनदेखि ३०० युआनसम्म कमाइ गर्ने गरेका छन् । ताक्लाकोट जान सुरु भएपछि जिल्ला प्रशासन कार्यालयबाट नयाँ सीमापास लिनेको सङ्ख्या ५०० बढी पुगेको छ । योे अवधिमा नवीकरण गर्नेको सङ्ख्या ३०० बढी छ । यस्तै ४०० भन्दा बढीलाई घुम्ती शिविरबाट सीमापास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । उनका अनुसार चीनको ताक्लाकोट जान सीमापास लिनेको घुइँचो बढ्दै गएको छ । चीनले सीमा जोडिएका जिल्लाका स्थानीय बासिन्दालाई सीमानाबाट ३० किलोमिटरसम्म सो पासका आधारमा प्रवेश गर्न दिने गरेको छ ।

यसअघि नाका सुचारु भएपनि नारा लेकमा जमेको हिउँको कारण हुम्लावासी ताक्लाकोट जान रोकिएका थिए । नारा लेकमा जमेको हिउँ हिल्सा सिमकोट सडक योजनाले स्काभेटर लगाएर फालेपछि यातायात सुचारु हुँदा ताक्लाकोट जाने क्रम सुरु भएको थियो । चिनियाँ पक्षले हप्तामा ५ दिन बिहान ११ बजेबाट हिउँसो २ बजेसम्म नेपालीले ताक्लाकोट जान पाउने नियम बनाएको छ ।

हुम्लावासी ताक्लाकोट जान सुरु गरेसँगै यारी नाका भन्सार कार्यालयले पनि राजस्व संकलन गर्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म करिब ८ लाख राजस्व संकलन गरेको भन्सार कार्यालयले असारसम्म १५ लाख बढी राजस्व उठ्ने अनुमान गरेको छ । तर यारी भन्सार कार्यालय प्रविधि र जनशक्ति दुुवैविहीन हुँदा राजस्व संकलनदेखि नियमित सेवा प्रवाहमा सकस परेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार