दोश्रो विश्वयुद्धले ब्रिटेनलाई आर्थिक र सैनिक रूपमा खोक्रो बनाइदियो । उता भारतमा स्वतन्त्रताको आन्दोलन चर्किँदै गयो । महात्मा गान्धीको अहिंसात्मक आन्दोलन, नेहरू, पटेल, मौलाना आजादजस्ता नेताहरूको नारा र हजारौँ क्रान्तिकारीहरूको बलिदानले ब्रिटिस शासनलाई हल्लाइदियो । अन्ततः १९४७ को अगस्टमा अंग्रेजहरूले भारत छोडे । तर उनीहरूले एउटा चिरिएको भारत छोडे । एउटा अखन्ड भारत दुई देशमा विभाजन भयो । एउटा भारतको रूपमा र अर्को पाकिस्तानको रूपमा । भारत र पाकिस्तान दुई स्वतन्त्र राष्ट्रको जन्म भयो ।
सागर गैरे ।
भारत हजारौँ वर्षदेखि विविध संस्कृतिहरू, सभ्यताहरू र राज्यहरूको संगमभूमि हो । यहाँ कुनै दिन चन्द्रगुप्त मौर्यले शासन गरे, कहिले गुप्त वंशले स्वर्णयुग ल्याए, कहिले राजपूत राजाहरूले आफ्ना दुर्गहरू बनाएका थिए । तर उनीहरू टुक्रिएका थिए ! राज्य–राज्यमा, राजा–राजामा । यही कमजोर संरचनामा एउटा नयाँ शक्तिको उदय भयो । त्यो थियो मुगल साम्राज्य । बाबरको आगमनसँगै भारतमा एक विशाल र शक्तिशाली राजशाही स्थापना भयो, जसले एक प्रकारको एकताको स्वाद चखायो । मुगलहरू आए, शासन गरे, सुन्दर महल र मस्जिदहरू बनाइदिए । तर समय परिवर्तनशील हुन्छ । मुगल साम्राज्य पनि ढल्दै गयो ।
यस्तै बेलामा, समुद्रपारिबाट आएका थिए अंग्रेजहरू । पहिलोपटक व्यापारको बहानामा, पछि सत्ता कब्जाको योजनासहित । अंग्रेजहरूले मुगलकालीन कमजोर भारतलाई पङ्क्तिबद्ध गरे, एकपछि अर्को राज्य जित्दै गए । उनीहरूले भारतमा रेल ल्याए, अदालत स्थापना गरे, आधुनिक प्रशासन र शिक्षा प्रणाली बसाए । अँग्रेजले भारतलाई एउटा भौगोलिक नक्सामा बाँध्न थाले । जुन पहिले कहिल्यै सम्भव भएको थिएन । तर अंग्रेजहरूको उद्देश्य भारतलाई सुदृढ बनाउनु थिएन, उनीहरूको लक्ष्य थियो, ‘शासन गर्नु र शोषण गर्नु ।’ भारत उनीहरूको लागि सुनको चरा बन्यो । अंग्रेजले सोचेका थिए, ‘भारत हाम्रो स्थायी उपनिवेश बन्नेछ ।’ तर समयले अर्को कथा लेख्दै थियो सायद ।
दोश्रो विश्वयुद्धले ब्रिटेनलाई आर्थिक र सैनिक रूपमा खोक्रो बनाइदियो । उता भारतमा स्वतन्त्रताको आन्दोलन चर्किँदै गयो । महात्मा गान्धीको अहिंसात्मक आन्दोलन, नेहरू, पटेल, मौलाना आजादजस्ता नेताहरूको नारा र हजारौँ क्रान्तिकारीहरूको बलिदानले ब्रिटिस शासनलाई हल्लाइदियो । अन्ततः १९४७ को अगस्टमा अंग्रेजहरूले भारत छोडे । तर उनीहरूले एउटा चिरिएको भारत छोडे । एउटा अखन्ड भारत दुई देशमा विभाजन भयो । एउटा भारतको रूपमा र अर्को पाकिस्तानको रूपमा । भारत र पाकिस्तान दुई स्वतन्त्र राष्ट्रको जन्म भयो । तर त्यो स्वतन्त्रता र खुसीको क्षण रगत, पीडा र आँसुका भेलसँगै आएको थियो । लाखौँ मानिसहरू विस्थापित भए । लाखौँ मारिए । सयौँ वर्षको सहअस्तित्व एकै क्षणमा चकनाचुर भयो ।
यो लेख भारतबाट उदय भएको पाकिस्तानको विश्व राजनीतिमा भएको पर्दापणको बारेमा हुनेछ । नयाँ देश नयाँ अवसरको खोजमा पाकिस्तानले अमेरिकासँग सम्बन्ध गाँस्यो । त्यही पाकिस्तानले चीनसँग कसरी दोस्ती कायम ग¥यो । पाकिस्तानले कसरी अणु बम बनायो । पाकिस्तानबाट बंगलादेशको उदयले पाकिस्तानको अहममा कस्तो चोट प¥यो । भारत र पाकिस्तानको सम्बन्ध झन् झन् तनावपूर्ण किन बन्दै गइरहेछ । भारत र पाकिस्तानको सम्बन्धमा आधारित भएर यो लेख केन्द्रित हुनेछ । सबैभन्दा पहिले हामी पाकिस्तानको उदयबाट यो लेखको शुरुवात गरौँ ।
१. भारतीय भूमिबाट पाकिस्तान कसरी उदय भयो ?
१९४७ अगाडि भारत एक साझा राजनीतिक एकाइ थियो, जहाँ विभिन्न धर्म, भाषा र संस्कृतिका मानिसहरू बस्ने गर्थे । तर ब्रिटिस शासनको अन्त्यसँगै धार्मिक आधारमा विभाजनको माग तीव्र बन्यो । मुस्लिम लिगका नेता मोहम्मद अली जिन्नाले भारतका मुस्लिमहरूका लागि पृथक राष्ट्रको माग गर्दै पाकिस्तानको अवधारणा अघि सारे ।
अंग्रेजहरूले बेहोर्नुपरेको ठूलो चूनौती थियो त्यो । हिन्दु र मुस्लिमबीच बढ्दो अविश्वास र घृणा । सयौँ वर्षदेखि सँगै बसिरहेका यी समुदायहरूबीच विखण्डनको भावना अँगाल्न थालिएको थियो । मुस्लिम लिगको माग थियो, ‘हामीलाई अलग राष्ट्र चाहिन्छ ।’ नेहरू र गान्धी मिलेर भारतलाई एक राख्न संघर्षरत थिए । तर स्थिति बेकाबु हुँदै थियो । त्यो बेला भारत विभाजन अब चाहेर पनि रोक्न सकिने अवस्था थिएन ।
धार्मिक भावनाले मानिसहरूलाई अन्धो बनाइरहेको थियो । गाउँ–शहरमा दंगा चर्किरहेका थिए । रगत बगिरहेको थियो । मोहम्मद जिन्ना वकिल थिए । उनले लन्डनबाट वकालत गरेका थिए । उनको जन्म कराँचिमा भएको थियो । उनले नै भारतमा मुस्लिम लिगको नेतृत्व लिए । भारतमा एकसाथ दुई घटना भए । एक अंग्रेजहरूले भारत छोडे । अर्को भारत बिभाजित भयो । हिन्दुहरूको हिन्दुस्तान र मुस्लिमहरूको पाकिस्तान गरी दुई राज्य बने । मोहम्मद जिन्ना जसले पाकिस्तान देशको जग राखेका थिए । उनले कहिल्यै आफू प्रधानमन्त्री हुने चाहना राखेनन् । बरु देशको संरक्षक भएर बस्न चाहे । जिन्ना पाकिस्तानको पहिलो गभर्नर जनरल थिए ।
पाकिस्तान एउटा मुस्लिम देशको रूपमा उदय भयो । भलै मोहम्मद जिन्ना धेरै वर्ष बाँच्न पाएनन् । यद्यपि पाकिस्तानमा उनलाई अत्यन्त सम्मानित व्यक्तित्वका रूपमा आदर गरिन्छ । पाकिस्तानको मुद्रामा उनको तस्बिर छापिएका छन् । पाकिस्तानका मानिसहरू जिन्नालाई आफ्नो देशको निर्माता र एउटा राजनेताको रूपमा सम्झन्छन । आज पाकिस्तानका स्कुल कलेज सडक पुल सरकारी भवन जस्ता अनेक संरचनाहरूमा जिन्नाको नाम जोडिएको छ ।
उनले धर्मनिरपेक्ष पाकिस्तानको परिकल्पना गरेका थिए । तर पाकिस्तान कट्टर मुस्लिम देश बन्यो । पाकिस्तानको उदय भारतको निम्ति गहिरो चोट थियो । दुवै देशबीच सुरुमै युद्ध भयो । युद्धले पाकिस्तान शतर्क भयो । उसले आफ्नो अस्तित्व कायम राख्न शक्तिशाली देशहरूको साथ खोज्यो । यहि क्रममा अमेरिकासँग पाकिस्तान नजिकिन पुग्यो ।
२. पाकिस्तान र अमेरिकाको सम्बन्ध
पाकिस्तान र अमेरिकाको सम्बन्ध सन् १९५० को दशकबाट औपचारिक रूपमा गहिरिएको हो । पाकिस्तान सन् १९४७ मा स्वतन्त्र भएपछि उसले चाँडै नै अमेरिका जस्ता शक्तिशाली देशहरूसँग सम्बन्ध विस्तार गर्न खोज्यो । यसको पछाडि मुख्य कारण आर्थिक सहायता, सैनिक सहयोग र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने आकांक्षा थियो ।
सन् १९५० को दशकमा शीतयुद्ध उत्कर्षमा थियो । अमेरिका सोभियत संघको प्रभाव रोक्न एशियामा मित्र देशहरू खोज्दै थियो । पाकिस्तानले आफूलाई कम्युनिस्ट विरोधी राष्ट्रका रूपमा प्रस्तुत ग¥यो, जसले अमेरिकालाई आकर्षित ग¥यो । पाकिस्तान सन् १९५४ सीटो र सन् १९५५ मा सेन्ट्रो सन्धिमा सामेल भयो । यी दुवै अमेरिकी नेतृत्वमा सोभियत प्रभाव रोक्न बनेका सन्धिहरू थिए । अमेरिकाले पाकिस्तानलाई ठूलो मात्रामा सैनिक सहायता र आर्थिक अनुदान दिन थाल्यो । सन् १९५० र १९६० को दशकमा पाकिस्तानले ठूलो मात्रामा अमेरिकी हतियार र प्रविधि पायो । अमेरिकाबाट ट्याङ्क, फाइटर विमान, बन्दुक, र अन्य सैनिक उपकरणहरू पाएर पाकिस्तानको सैन्य क्षमता निकै बढ्यो ।
कृषि सुधार कार्यक्रममा अमेरिका र अन्य पश्चिमी देशहरूको सहयोगले पाकिस्तानमा खाद्य उत्पादन बढ्यो । सडक, बाँध र उद्योगहरू निर्माणमा समेत सहायता पायो । अन्तर्राष्ट्रिय स्तरमा विशेष गरी संयुक्त राष्ट्रसंघमा पाकिस्तानलाई अमेरिकाको समर्थन रह्यो, विशेष गरी भारतसँगका विभिन्न मुद्दाहरू जस्तै कश्मीर विवादमा पनि ।
अमेरिका र पाकिस्तानबीच खुफिया सहयोग पनि गहिरो भयो । उदाहरणका लागि, पाकिस्तानले अमेरिकी उडानहरूका लागि आफ्नो भूमिबाट जासुसी विमानहरू सञ्चालन गर्न अनुमति दिएको थियो । पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोग त टन्नै पायो तर त्यसको दुरुपयोग पनि भयो । विशेष गरी पाकिस्तान भित्र अस्थिरता बढ्यो, किनकि विदेशी सहायता प्रायः सैनिक शासनलाई सशक्त बनाउन प्रयोग भयो ।
पाकिस्तान अमेरिकी खेमामा गएपछि भारत सोभियत खेमामा गयो । भारतमा हातहतियार फाइटर जेट जस्ता अनेकन युद्ध सामाग्रीहरू सोभियत संघबाट आए । शीत युद्धमा सिंगो विश्व दुई खेमामा थियो । एउटा खेमा अमेरिकी पक्षधरको र अर्को खेमा सोभियत संघ पक्षधरको थियो । भारत र पाकिस्तान दुई विपरित खेमामा थिए । शीतयुद्धको फाइदा पाकिस्तानले मज्जाले उठायो । एउटा नवोदित देश भएर पनि पाकिस्तानले अमेरिकी सहयोगमा आफूलाई स्थापित गर्ने अवसर पायो ।
३. पाकिस्तानबाट बंगलादेशको उदय
सन् १९७१ मा भारत–पाकिस्तान सम्बन्ध अर्को ठूलो मोडमा पुग्यो । त्यो बेला पाकिस्तान दुई भागमा विभाजित थियो, पश्चिम पाकिस्तान (आजको पाकिस्तान) र पूर्वी पाकिस्तान (आजको बंगलादेश) । पूर्वी पाकिस्तानमा बंगाली भाषीहरूको बहुलता थियो र उनीहरूले आफ्नो राजनीतिक अधिकार र सांस्कृतिक पहिचानको माग गरिरहेका थिए । तर पश्चिमी पाकिस्तानले उनीहरूलाई शोषण र दमन गरिरहेको थियो ।
सन् १९७० को आम निर्वाचनमा शेख मुजीबुर रहमान नेतृत्वको ‘अवामी लिग’ पार्टीले पूर्वी पाकिस्तानमा अत्यधिक बहुमतले जित्यो, तर पश्चिम पाकिस्तानको सैन्य नेतृत्वले उनलाई सत्ता हस्तान्तरण गर्न मानेन । यसले पूर्वी पाकिस्तानमा व्यापक असन्तोष र स्वतन्त्रताको आन्दोलन सुरु ग¥यो । पाकिस्तानी सेनाले यस आन्दोलनलाई बलपूर्वक दबाउने प्रयास ग¥यो । जसले लाखौँ बंगाली नागरिकहरू भारततिर शरण लिन बाध्य भए ।
भारतले यो मानवीय संकटलाई गम्भीर रूपमा लियो । अनि अन्ततः सन् १९७१ को डिसेम्बरमा भारतले खुला रूपमा पूर्वी पाकिस्तानको स्वतन्त्रताको पक्षमा हस्तक्षेप ग¥यो । छोटो तर निर्णायक भारत–पाकिस्तान युद्ध भयो, जसको परिणामस्वरूप बंगलादेश स्वतन्त्र राष्ट्रका रूपमा उदायो ।
यो युद्धले पाकिस्तानलाई गम्भीर सैन्य र मनोवैज्ञानिक धक्का दियो । बंगलादेशको उदयसँगै भारतले आफ्नो रणनीतिक स्थान मजबुत त बनायो तर पाकिस्तान सँगको सम्बन्धमा भारतको सम्बन्ध थप कटुता र शत्रुता तिर लम्कियो । जुन आजको दिनसम्म आइपुग्दा झन गहिरिएको छ ।
त्यसयता भारत पाकिस्तानबीच कहिले काहीँ वार्ता र सहकार्यका प्रयास भैइहाले तापनि समग्रमा शत्रुतापूर्ण सम्बन्ध नै रहँदै आएको छ । विशेषगरी कश्मीर मुद्दा, आतङ्कवादका आरोपहरू र सीमावर्ती तनावहरूले सम्बन्धलाई बारम्बार चिसो बनाइरहेको छ । भारत पाकिस्तानको द्वन्द्व पछिल्लो पटक कश्मिरको पहलगाम कान्डसम्म आइपुग्दा थप जटिल भएको छ ।
४. पाकिस्तान र आणविक हतियार
सन् १९७४ मा भारतले सफलतापूर्वक आफ्नो पहिलो आणविक परीक्षण गरेपछि पाकिस्तान झस्कियो । भारतबाट सुरक्षाको लागि आफूसँग पनि आणविक हतियार जरुरी छ भन्ने कुरा पाकिस्तानले महसुस ग¥यो । कसरी हुन्छ आफ्नो आणविक कार्यक्रमलाई सम्पन्न गर्नुपर्छ भनेर पाकिस्तामा तीव्र गतीमा आणविक कार्यक्रममा केन्द्रित भयो । भारतसँगको परम्परागत र आणविक शक्ति असन्तुलनले पाकिस्तानलाई पनि परमाणु बम विकास गर्न प्रेरित गरेको थियो त्यो बेला ।
सन् १९७२ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फिकार अली भुट्टोले मुल्तान बैठकमा वैज्ञानिकहरूलाई भेला गरेर परमाणु बम बनाउन निर्देशन दिएका थिए । त्यसपछि डा. अब्दुल कादिर खानको नेतृत्वमा पाकिस्तानले ‘खान रिसर्च ल्याबोरेटरी’ स्थापना ग¥यो । डा. खानले युरेनियम ग्यास सेन्ट्रीफ्यूज प्रविधिमार्फत युरेनियम समृद्ध गर्ने काम सुरु गरे ।
अर्कोतर्फ, पाकिस्तानले आणविक प्रविधि विकासका लागि गोप्य रूपमा अन्तर्राष्ट्रिय सञ्जालबाट उपकरण र प्रविधि पनि प्राप्त ग¥यो खासगरी यूरोप र मध्यपूर्वबाट । पाकिस्तानले यी सब काम गोप्य रूपमा गरिरहेको थियो ।
सन् १९९८ मा भारतले पाँच वटा आणविक बम परीक्षण ग¥यो । लगत्तै २८ मे १९९८ मा पाकिस्तानले पनि बलुचिस्तानको चगाई क्षेत्रमा पहिलोपटक आणविक परीक्षण ग¥यो । यसरी आणविक परिक्षणपछि पाकिस्तान विश्वको सातौँ र इस्लामिक देशहरूको पहिलो आणविक शक्ति बन्न सफल भयो ।
सन् २०२५ सम्मका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरू अनुसार पाकिस्तानसँग अहिले करिब १७० वटा आणविक वारहेडहरू साथमा छन् । यो सङ्ख्या भारतको करिब बराबर छ । पाकिस्तानले अपेक्षाकृत छरितो आणविक हतियार पनि विकास गरिसकेको बताइन्छ । अहिले भारत पाकिस्तानबीच आणविक हतियारकै कारण शक्ति सन्तुलन छ । भारतले पाकिस्तानलाई आक्रमण गर्ने दबाब दिने बित्तिकै पाकिस्तानले आणविक युद्धको धम्की दिने गर्दछ ।
५. चीन पाकिस्तान एउटै खोलिमा
चीन र पाकिस्तान दुवैलाई भारतको शक्ति र प्रभाव क्षेत्र विस्तारप्रति चासो छ । पाकिस्तानले चीनलाई भारतविरुद्ध एक रणनीतिक साझेदारको रूपमा प्रयोग गर्छ, जबकि चीनले पाकिस्तानलाई भारतको पश्चिमी छेउमा ‘स्ट्राटेजिक प्रेशर’ बनाउन प्रयोग गर्छ ।
पाकिस्तान हुँदै ग्वादर बन्दरगाहसम्म जाने मार्गले चीनलाई अरब सागरमा सिधा पहुँच दिन्छ । चीनलाई ऊर्जा आपूर्ति छोटो पार्न र आफ्नो पश्चिमी क्षेत्रमा विकासको अवसर बढाउन यो मार्ग अत्यन्तै महत्वपूर्ण छ । पाकिस्तानले चीनबाट ठूलो मात्रामा लगानी र पूर्वाधार निर्माणमा सहयोग पाइरहेको छ । पाकिस्तानले आफ्नो रक्षा उपकरण फाइटर विमानको विकासमा चीनबाट प्राविधिक र आर्थिक सहयोग पाएको छ ।
चीनले पाकिस्तानलाई परमाणु प्रविधिमा अप्रत्यक्ष सहयोग गरेको भन्ने व्यापक विश्वास छ । दुवै देशले संयुक्त सैन्य अभ्यास र रक्षा सम्झौता गर्दै आएका छन् । अन्तर्राष्ट्रिय मञ्चहरूमा (जस्तै संयुक्त राष्ट्र संघमा) चीनले पाकिस्तानलाई समर्थन गर्ने गरेको छ, विशेषगरी कश्मीरको विषयमा । पाकिस्तानले पनि चीनलाई ताइवान, सिङजियाङ र हङकङ मामिलामा समर्थन गर्दै आएको छ ।
पाकिस्तान, एक प्रमुख इस्लामिक देश हो । उसले चीनलाई मुस्लिम देशहरूसँग सम्बन्ध विस्तारमा ‘पुल’ जस्तै काम गरेको छ । विशेष गरी मुस्लिम मुद्दामा चीनको छवि बचाउन पाकिस्तानले मद्दत गरेको छ ।
चीन र पाकिस्तान दुवैलाई आतंकवाद, उग्रवाद र राजनीतिक अस्थिरताको समस्या छ । दुवै देश आपसी सुरक्षामा सहकार्य गर्दै सीप आदान–प्रदान र गुप्तचर सहयोग गर्दै आएका छन् । चीन–पाकिस्तान सम्बन्ध केवल ‘मित्रता’को सवाल होइन यो दुवै देशको रणनीतिक आवश्यकताको उपज हो पनि हो ।
चीनले पाकिस्तानलाई दक्षिण एशियामा आफ्नो प्रभाव विस्तारको लागि प्रयोग गर्छ भने पाकिस्तानले चीनलाई आफ्नो आर्थिक–सैन्य विकास र भारतविरुद्ध काउण्टर ब्यालेन्सको रूपमा हेर्छ ।
६. भारतबाट पाकिस्तान टुक्रिएपछि भारतले के पायो के गुमायो ?
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त भयो । लामो संघर्षपछि भारतले आफ्नो शासन आफैँ चलाउन पाउने अधिकार पायो । भारतलाई आफ्नै संविधान तयार गरी सन् १९५० मा कार्यान्वयन ग¥यो, जसले भारतलाई एउटा स्वतन्त्रराज्य बनायो । स्वतन्त्र राष्ट्रको रूपमा भारतले आफ्नो संस्कृति, धर्मनिरपेक्षता र लोकतन्त्रको मार्ग तय ग¥यो । भारतमा रहेका धेरै रियासतहरूलाई मिलाएर भारतले भौगोलिक एकता कायम ग¥यो ।
भारतले धेरै थोक पाउँदा केही गुमाएको पनि छ । भारतको दुई ठूलो भूभाग जसमा पूर्वमा पूर्वी पाकिस्तान (आजको बंगलादेश) र पश्चिममा पश्चिमी पाकिस्तान (आजको पाकिस्तान ) गुमायो । देश विभाजनको क्रममा करिब १० देखि १५ लाख मानिसको ज्यान गयो र करोडौँ मानिसहरू एकातिरबाट अर्कातिर विस्थापित भए । सो अवधिमा भारत र पाकिस्तानमा अत्यधिक हिंसा, बलात्कार र लुटपाट भयो । विगत दिनहरूमा हिन्दू–मुसलमानबीच जुन खालको सद्भाव र सौहार्दता थियो त्यसमा ठूलो क्षति पुग्यो । त्यसको असर आज पनि भारत–पाकिस्तान सम्बन्ध र भारत भित्रको सामाजिक सम्बन्धमा देखिन्छ ।
भारत पाकिस्तान विभाजनले असर पु¥याएको अर्को क्षेत्र आर्थिक क्षेत्र हो । त्यतिबेला उद्योग, व्यापार र यातायात मार्गहरू ध्वस्त भए । केही महत्वपूर्ण व्यापारिक शहरहरू जस्तै कराँची लाहोर पाकिस्तानतिर परे भने ढाका जस्ता सहर बंगलादेशतिर परे । भारतको आर्थिक, साँस्कृतिक, धार्मिक हरेक शक्ति र बिम्ब टुक्रिन पुग्यो । एउटा सग्लो सभ्यता टुक्रिनुको पीडा भारतलाई भन्दा बढी कसलाई होला र ?
देश विभाजनपछि भारतले विभिन्न प्रकारका आन्तरिक समस्या (जस्तै शरणार्थी व्यवस्थापन) र बाह्य समस्या (जस्तै पाकिस्तानसँग युद्ध) भोग्न थाल्यो । विभाजनसँगै सुरु भएको कश्मीर विवाद आजसम्म समाधान भएको छैन । यो भारत र पाकिस्तानबीच लगातार तनाव र युद्धको कारण बनेको छ ।
७. वर्तमान समयमा भारत पाकिस्तान सम्बन्ध
भारत र पाकिस्तानबीचको सम्बन्ध सामान्यभन्दा पनि इतिहासभरी शत्रुतापूर्ण नै रहँदै आएको छ । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा, धार्मिक विभाजनका आधारमा भारत र पाकिस्तान दुई स्वतन्त्र राष्ट्र बनेका थिए । तर त्यो विभाजन निकै रक्तरञ्जित र पीडादायक रह्यो । करोडौँ मानिसहरूको जीवनमा असुरक्षा, हिंसा र विस्थापनको ज्वालामुखी फुट्यो ।
त्यसपछि दुवै देशबीचको सम्बन्धमा गहिरो अविश्वास र वैरभाव बसेको हो, जसले बारम्बार युद्ध र टकराव निम्त्यायो ।
भारत र पाकिस्तानले अहिलेसम्म ठूला तीन युद्ध (१९४७–४८, १९६५, १९७१) र सन् १९९९ मा कारगिल युद्ध लडेका छन् । यीमध्ये १९४७–४८ को पहिलो युद्ध जम्मु कश्मीरमाथि थियो । जहाँ पाकिस्तान समर्थक घुसपैठीहरू र भारतीय सेनाबीच भीषण युद्ध भयो । द्वन्द्वले कश्मीर समस्यालाई गहिरो बनाइदियो, जुन आजसम्म पनि दुवै देशबीचको मूल विवादको विषय बनेको छ ।
८. निष्कर्ष
भारत र पाकिस्तानबीचको पुरानो तिक्तता र प्रतिद्वन्द्विता आजको युगको आवश्यकता होइन । दुवै आणविक शक्ति राष्ट्रले विगतका गल्तीहरूबाट पाठ सिक्दै साझा हितका मुद्दाहरूमा सहकार्य गर्न आवश्यक छ । चाहे त्यो जलवायु परिवर्तन होस्, गरिबी निवारण होस् वा आतंकवाद विरुद्धको साझा संघर्ष ।
यदि दुवै देशले परिपक्वता देखाउँदै विश्वासको वातावरण निर्माण गरे भने मात्र दक्षिण एशियाको भविष्य युद्धको भुमरी होइन स्थायित्व र समृद्धिको साझा गन्तव्य बन्न सक्छ । यही आशामा अब समय आएको छ कि भारत र पाकिस्तानले संवाद र सहयोगको बाटो रोजुन् न कि द्वन्द्व र अविश्वासको ।









प्रतिक्रिया दिनुहोस्