श्यामलाल पोखरेल । बुटवल ।
बुटवलमा छाडा कुकुरको बिगबिगी छ । छाडा चौपायाहरूको बिगबिगीले समस्या झेल्दै आएको बुटवलले छाडा कुकुरको अर्को समस्या निम्ताएको छ । छाडा छोडिएका कुकुरहरूले सडकयात्रीलाई दिनदाहाडै टोक्ने गरेका छन् । विशेष गरेर मर्निङ वाक र इभिनिङ वाकमा हिँड्नेहरू असुरक्षित बनेका छन् । सडकमा हिँड्दा हिँड्दै कुकुरले टोक्न थालेपछि सर्वसाधारण नागरिकले सास्ती भोग्नु परेको छ ।
बुटवलको गोलपार्क, चिडियाखोला, मुख्यबजार ट्राफिकचोक, अस्पताललाइन, नेपालगन्जरोड, मिलनचोक, कालिकानगर, दीपनगर, देविनगरलगायतका ठाउँमा भुस्याहा कुकुरहरूको बिगबिगी बढेको छ । मुख्य बजार र मुख्य सडकदेखि बजारको भित्री गल्लीहरूमा पनि छाडा भुस्याहा कुकुरहरूले टोक्दा सडकयात्री तथा सर्वसाधारण नागरिकले समस्या झेल्नु परेको हो ।
उक्त ठाउँहरूमा हिँड्ने सर्वसाधारण नागरिक असुरक्षित बन्न थालेपछि साँझ बिहान हिँड्ने मानिसले हातमा लौरो र ढुंगा जस्ता घरेलु हतिायार लिएर हिँड्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । बुटवलको गोलपार्कमा कुकुरको टोकाइबाट एकैदिन ४५ जना पीडित बनेका छन् । सडकमा हिँड्दै गरेको अवस्थामा ट्राफिक चोकमा सावित्रा कोइरालालाई कुकुरले टोक्दा हातको ठूलो नशामा क्षति पुराउँदा हात भाँचिएपछि उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गत आइतबार अप्रेसन गरिएको छ ।
कुकुरले झम्टेर टोक्न थालेपछि सावित्रा कोइराला कुकुरबाट छुट्टाउन खोज्दा उनका श्रीमान हरिलाल पौडेललाई पनि कुकुरले खुट्टामा टोकेर घाइते बनायो । बुटवलको तिनकुनेस्थित मोतिपथ निवासी दिना थापामगर पनि चैत ३ गते सिद्धार्थ कटेज अगाडी कुकरको टोकाइबाट घाइते भएकी छन् । कुकुरले टोकेपछि उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । चैत ५ गते बुटवल ७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी स्कुल अगाडी मोटरसाइकलमा सवार सुन्दर पाण्डेलाई पनि कुकुरले देब्रे खुट्टामा टोकेर घाइते बनाएको छ ।
यस्तै मंगलबार बुटवलकै कालिकापथस्थित शिवालय मन्दिर नजिककै तिलोत्तमा नगरपालिका १ का युनिस आलेलाई कुकुरले टोक्दा उनको मुखमा ठूलो चोट लागेको छ । घाउ ठुलो भएकाले अप्रेसन गर्नुपर्ने अस्पताले बताएको छ । सडकमा हिँड्नेहरूलाई दिनदाहाडै कुकुरले झम्टेर टोक्न थालेपछि बालबालिका र वृद्ववृद्वालाई हिँडडुल गर्न झनै समस्या बढेको छ । पछिल्लो समय बुटवलमा भुस्याहा कुकुरहरूले सङ्ख्या बढ्दै गएको र नियन्त्रणमा कसैको ध्यान नगएकाले समस्या निम्तिएको पैदलयात्री खिमानन्द चालिसेले बताए ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको एआरभी शाखाले दिएको तथ्यांक अनुसार बुटवलमा चैत ४ गतेसम्मको विवरण अनुसार फाफागुन २९ गते ४५ जना, चैत १ गते २० जना चैत २ गते ४५ जना, चैत ३ गते ९२ जना र चैत ४ गते २० जना गरी कुल २ सय २२ जनालाई कुकुरले टोकेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल एआरभी शाखा इन्चार्ज तिलकराज गौतमले यो एकसाता अबधीमा कुकुरले टोकेर इन्जेक्सन लगाउन आउनेहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको बताए । अहिलेसम्म अस्पतालमा एआरभी इन्जेक्सन मौज्दात रहेको र महामारी जस्तै कुकुरले टोक्न थालेपछि अभाव हुनसक्ने गौतमले बताए ।
कुकुरले एकैदिन धैरेजनालाई टोक्न थालेपछि अहिले इन्जेक्सन अभाव नभएपनि अभाव हुन सक्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका कोल्ड चेन निरीक्षक हरिप्रसाद आचार्यले बताए । माग अनुसार इन्जेक्सन नआएपनि ५ हजार ४ सय इन्जेक्सन स्टक रहेको निरीक्षक आचार्यले जानकारी गराए । बजार क्षेत्रमा कुकुरको बिगबिगी बढेपछि बुटवल उपमहानगरपालिकाले वडा नम्बर ११ मा शिविर राखेर ३ सय कुकुरको बनध्यायकरण गरेको थियो ।
बुटवल उपमहानगरपालिका भेटेनरी शाखाका पशु डाक्टर झविन्द्र बञ्जाडेले कुकुरको बिगबिगी बढेको बताउँदै कुकुरलाई नियन्त्रणमा लिएर देवदहमा रहेको कुकर व्यवस्थापन केन्द्रका लैजाने तयारी गरिएको बताए । कस्ता कुकुरले टोकेका हुन् भन्नेबारे कुनै पुष्टि हुन सकेको छैन । नगरपालिकाको प्राविधिक टोलीले चेकजाँच गरेपछि बल्ल पुष्टि हुने पशु डाक्टर बञ्जाडेले मिसन टुडेलाई बताए ।
मान्छे टोक्दै हिँड्ने कुकुरको टोकाइको अवस्था हेर्दा खतरा खालका कुकुरले टोकेको हुन सक्ने लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टरले प्रतिक्रिया दिए । मुख्य बजार र मुख्य सडकदेखि भित्री सडक र बस्तीमा रहेका भुस्याहा कुकुरहरूलाई नियन्त्रण गर्न बुटवल उपमहानगर नगर प्रहरीसहित परिचालन गरेको छ । सडकमा रहेका छाडा कुकुरहरूलाई नियन्त्रण गरेर सडकलाई सुरक्षित बनाई नागरिकलाई सहज रूपमा हिँड्डुल गर्नका लागि छाडा कुुकुरको नियन्त्रण गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख लेखराज पाण्डेयले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्