बैकुण्ठधामको बजेट फ्रिज हुने जोखिम



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदी तट सिधनियाँघाटमा व्यवस्थित शवदाह स्थल निर्माण गर्ने उद्देश्यले नेपालगन्जमा महायज्ञ सञ्चालन गरिएको चार महिना बितिसकेको छ । तर, अहिलेसम्म उक्त योजनाको डिजाइन नै स्वीकृत भएको छैन । डिपिआर पनि अधुरै छ ।

शवदाह स्थलको डिजाइनको काममै ढिलाईँ हुँदा उक्त योजनाका लागि भनेर संघीय सरकारबाट सुनिश्चित भएको दुई करोड रूपैयाँ बजेटको कार्यान्वयन हुन नसकी फ्रिज भएर जानसक्ने जोखिम बढेको हो । अग्निदाह स्थल, विद्युतीय शवदाह गृह, मलामीका लागि ओत लाग्ने ठाउँ, शिवालय, किरियापुत्री कक्ष, पितृको मृत्युकर्म, सोह्रश्राद्ध, पितृ मोक्ष कर्मकाण्डलगायतका कार्य गर्नका लागि संरचना निर्माण गर्ने उक्त योजनाको परिकल्पना केही सामाजिक अगुवाहरूले गरेका थिए ।

उनीहरूले उक्त योजनालाई ‘बैकुण्ठधाम सिधनियाँघाट’ नाम दिएका थिए । यही नाममा एक संस्था दर्ता गरी कात्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जमा संरचना निर्माणस्थलको लागि जमिन खरिद प्रयोजनार्थ महायज्ञ सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट संकलित रकममध्ये दुई करोड २८ लाख सात हजार बढी रकम बचत भएको जानकारी दिइएको थियो । जसमध्ये करिब एक करोड १० लाख ८० हजार रूपैयाँबाट एक बिगाह ६ कठ्ठा १६ धुर जगा खरिद गरिएको बैकुण्ठधाम सिधनियाँघाटले जनाएको छ ।

बैकुण्ठधाम सिधनियाँघाटका अध्यक्ष सुरेश कनोडियाले महायज्ञ सञ्चालन भइरहँदा योजनाको डिजाइन र डिपीआर लगायतका कामहरू सँगै चलिरहेको बताएका थिए । तर, जग्गा खरिद भइसक्दा पनि योजनाको डिजाइन नै स्वीकृत भएको छैन । डिजाइन स्वीकृत नहुँदा दुई करोड रूपैयाँबाट बन्नसक्ने शवदाह घाट निर्माणका लागि ठेक्का आह्वान हुन सकेको छैन ।

ठेक्का प्रक्रियामा जान अझै कम्तिमा एक हप्ताभन्दा बढी लाग्न सक्ने संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका निमित्त प्रमुख रामकृष्ण आचार्य बताउँछन् । उनले अब ठेक्का प्रक्रियामा गएमा वैशाख अन्तिम वा जेठ महिनाबाट मात्रै काम सुरु हुनसक्ने अवस्था देखिएको बताउँछन् । यस्तो अवस्थामा चालू आर्थिक वर्षभित्रै योजना निर्माण गर्न कठिनाई हुनसक्ने उनले बताए । ‘नदी क्षेत्रमा काम गरेको अनुभवी निर्माण व्यवसायी ठेक्का प्रक्रियामा आए भने एक महिनामा पनि काम गर्न सकिन्छ । तर, नयाँ निर्माण कम्पनीलाई कम समयमा काम गर्न अप्ठ्यारो पर्न सक्छ,’ आचार्यले मिसन टुडेसँग भने ।

निमित्त आयोजना प्रमुख आचार्यले योजनाको डिजाइन र डिपिआर ‘बैकुण्ठधाम सिधनियाँघाट’ले नै गर्ने र त्यसमध्ये दुई करोडबाट हुनसक्ने काम संघीय सरकारले गर्नेगरी बजेटको व्यवस्था भएको बताए । उनले भने, ‘यो बजेट यही वर्ष खर्च गरिसक्नुपर्ने बजेट हो ।’

‘बैकुण्ठधाम सिधनियाँघाट’का महासचिव श्रीराम सिग्देलले भने सरकारले बजेट विनियोजन गर्दा नै एक करोड नेपालगन्ज उपमहानगरपालिका र एक करोड डुडुवा गाउँपालिका गरी अलग–अलग स्थानीय तहका लागि छुट्याएकोले त्यसलाई एकै शिर्षकमा गाभ्न समय लागेको बताए । अहिले सबै बजेट फस्र्यौटको प्रक्रिया डुडुवा गाउँपालिकाबाट हुनेगरी व्यवस्था मिलाइएको उनले जानकारी दिए । यसका साथै माटो परीक्षण लगायतका केही प्राविधिक प्रक्रियाहरू पनि पूरा गर्न समय लागेको उनको भनाइ छ । माटो परीक्षणको प्रतिवेदन पनि आइसकेकोले अब उक्त प्रतिवेदन पेश भएपछि संस्थाको तर्फबाट गर्नुपर्ने प्रक्रिया पूरा हुने उनले बताए ।

‘जग्गा खरिद गरेका छौँ । डिजाइन पनि पेश गरेका छौँ । डिजाइन स्वीकृतिको काम पनि दू्रत माध्यमबाट गरिदिनुपर्याे भनेर अनुरोध गरिरहेका छौँ । बाँकी प्रक्रिया छिटो बढाइदिने काम डुडुवा गाउँपालिका र योजना कार्यान्वयन गर्ने निकायको हो । त्यो भइदियो भने निर्माणका लागि धेरै समय लाग्दैन,’ सिग्देलले भने ।

डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेयले ‘बैकुण्ठधाम सिधनियाँघाट’का तर्फबाट योजनाको अभिभावकत्व लिइदिन पत्राचार भएको बताए । उनले भने, ‘हाम्रो गाउँपालिकाको योजना भन्दा पनि उहाँहरूको योजना भएकोले हामीले मात्रै चाहेर नहुने अवस्था छ । हामीले उहाँहरूले बुझाउनुभएका डकुमेन्टहरूका आधारमा सिफारिस गरिदिने काम हो । त्यो गरिरहेका छौँ ।’

संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका निमित्त प्रमुख आचार्यले सहरी विकास मन्त्रालयका सचिवसमेतको नेतृत्वमा निर्माणस्थलको अनुगमनपछि डिजाइनमा केही थप तथ्यांक चाहिने देखिएको बताए । उनले उक्त तथ्यांकका आधारमा डिजाइन परिमार्जन भई स्वीकृत हुने चरणमा रहेको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २८ गते बुधबार