17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मनमोहक कुपिण्डे दह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०८०  

शुभाकर विश्वकर्मा
कुपिन्डे दह सल्यान जिल्लाको एक पर्यटकीयस्थल हो । कर्णाली प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक गन्तव्यका रुपमा परिचित पनि छ, कुपिण्डे दह । यो दह जिल्ला सदरमुकाम खलंगादेखि २४ किलोमिटर पश्चिममा अवस्थित छ । बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ मा अवस्थित यो दह मनोरम र आकर्षक छ । प्रत्येक वर्ष यो दहसँगै जोडिएर रहेको मन्दिरमा पूजापाठ गर्न छिमेकी जिल्लाका भक्तजन आउने गर्छन् ।


सुर्खेत, दाङ, बाँकेलगायतका जिल्लाबाट यहाँ आन्तरिक पर्यटक पुग्छन् । यो मन्दिरमा माघ शुक्लपूर्णिमा र वैशाख शुक्लपूर्णिमाका दिन मेला लाग्छ । धार्मिक र पर्यटकीय दृष्टिले यो ताल प्रसिद्ध छ ।

यो दहले वर्षमा तीनपटक वर्षा, हिउँद र गर्मी याममा रंग परिवर्तन गर्ने गरेको विश्वास गरिन्छ । किंमदन्तीअनुसार अहिले तलाउ रहेको ठाउँमा एउटा गाउँ थियो । एकजना ब्रहा देवता जोगीको भेषमा बास माग्न आए । कसैले बाँस दिएनन् । अन्तिममा एकजना बुढी आमा र छोराले बाँस दिए । तीनलाई ढुटोको रोटी पकाएर खान दिए । तर भोलिपल्ट गाउँमा ताल रहेको देखियो र कुपिण्डा तैरिरहेको देखियो । यसको गहिराइ ६९ मिटर, लम्बाइ १२ सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेको बताइन्छ ।

काफल बेचेर पढाइ खर्च जुटाउने बालक
अहिलेको समय काफल बेच्ने समय हो । कुपिण्डे दहमा अहिले काफल बेचेर जीविकोपार्जन गर्नेहरु भेटिन्छन् । बालकदेखि बृद्धसम्म प्रशस्तै भेटिन्छन् । उनीहरुमध्येका एक हुन्, जीवन कवँर । उनी आठ वर्षका भए । महिनादेखि उनी कुपिण्डेमा काफल बेच्दै आएका छन् । उनी हरेक दिन काफल बेच्न आउँछन् । शनिबार दिनभर र अन्य बार स्कुल समय सकिएछि काफल बेच्न आउने गरेको उनले बताए । सो सिजनमा उनी काफल बेचेर पढाइ खर्च जोहो गर्छन् ।


भन्छन्, ‘अरु दिन स्कुल जान्छुँ । साझतिर आउँछु । शनिबार भने दिनभरि नै आउँछु । कमाइ ठिकै हुन्छ ।’ उनी कक्षा ६ मा पढ्छन् । घरमा आमा बुबा र दाइ छन् । उनीहरु खेती किसानी गर्छन् । उनी मात्रै होइन बाबियाचौरकी पवित्रा कवँर पनि कुपिण्डेमा काफल बेच्दै गरेको अवस्थामा भेटिइन् ।

उनी पनि जीवनजस्तै शनिबार दिनभर काफल बेच्नका लागि कुपिण्डे पुग्ने गर्छिन् । मन्दिरमा घुम्न आउने र मन्दिर दर्शनका लागि आउनेहरुलाई काफल बेच्ने गरेको उनले बताइन् । प्रतिगिलास ५० रुपैयाँका दरले उनीहरु काफल बेच्छन् । दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन् । कुपिण्डेमा पुग्न उनको घरदेखि आधा घण्टा लाग्छ ।

बाबियाचौरमा कक्षा ७ मा अध्ययनरत बिमला कवँरको बुबा रोजगारीका लागि भारतमा छन् । उनकी आमा ज्याला मजदुरी गर्छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले काफलको सिजनमा हरेक वर्ष कुपिण्डेमा काफल बेच्ने गरेको उनले बताइन् । ‘घरमा कोही छैनन् । पढाइ खर्च जोहो गर्न काफल बेच्न आउँछु । कमाइ ठिकै हुन्छ । कापी कलम किन्न सहज हुन्छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन् ।

उनीहरु मात्रै होइन त्यहाँ वृद्धवृद्धाहरु पनि काफल बेचिरहेको अवस्थामा भेटिन्छन् । त्यहाँ सानोतिनो व्यवसायसमेत सञ्चालन भइरहेको छ । दहमा घुम्न आउनेहरुको लागि खाना, नास्ताको व्यवस्था छ । त्यहाँ आधा दर्जनजति व्यापारी पनि रहेका छन् । पाँच वर्षदेखि व्यवसाय गर्दै आएका रुपलाल ऐडी वर्षभरि पर्यटकको राम्रो चहलपहल हुने बताउँछन् । उनका अनुसार आन्तरिक पर्यटकहरुको रोजाइको रुपमा कुपिण्डे छ । अरुभन्दा शनिबार सबैभन्दा धेरै पर्यटकहरु आउने गरेको उनले बताए । उनले त्यहाँ व्यवसाय गरेरै पाँचजनाको परिवार पालेका छन् ।

डुंगा चलाएर जीविकोपार्जन
कुपिन्डे दहमा डुंगा चलाउँदै आएका छन्, सेतीराम पुरी । उनी २०६३ सालदेखि तालमा डुंगा चलाउँदै आएका छन् । उनको जीविपार्जनको प्रमुख स्रोत नै यही हो । सुरुमा संस्थागतरुपमा साथीहरु मिलेर व्यवसाय सुरु गरेका थिए ।
पछिल्लो केही वर्षयता भने व्यक्तिगतरुपमा आफूले व्यवसाय सुरु गरिरहेको उनले बताए । पुरीका डुंगा दुईवटा छन् । उनका दाइ पनि यहाँ डुंगा चलाउँछन् । दुई दाजुभाइ गरेर चारवटा डुंगा छन् । ‘आम्दानी सन्तोषजनक नै छ । अलि बढी शनिबार हुन्छ । शनिबार धेरैजना आउनुहुन्छ । खान लाउन पुगेको छ जे होस्,’ उनले भने ।


उनले प्रतिव्यक्ति दुई सय रुपैयाँ चार्ज लिने गरेका छन् । यो पूरै ताल घुमाएको खर्च हो । आधा ताल घुमेको चाहिँ प्रतिव्यक्ति एक सय रुपैयाँ लिने गरेको छ । यस्तै उक्त स्थानमा डुंगा चलाउँदै आएका स्थानीय हरिशचन्द्र पुरीले यस दहको पानीले वर्षमा तीन पटकसम्म रङ बदल्ने गरेको जानकारी गराए । प्रायँ निलो देखिने दहको पानी माघ–फागुन महिनामा रङ खैरो र रातो बन्छ भने वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उनले बताए ।

गर्मी महिनामा दहको अवलोकन गर्न र ढुंगा चढेर सयर गर्न टाढाटाढाबाट आउने पर्यटकहरूको संख्या बढ्ने गरेको डुंगा चालक पुरीले उल्लेख गरे । उनीहरु मासिक कम्तिमा पनि २० हजारभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ । उनीहरुको प्रमुख पेसा नै यही हो ।

कर्णालीकै प्रमुख गन्तव्य बनाउने लक्ष्य

कुपिन्डे दह संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले २०६७ सालदेखि मात्रै यो दहको चर्चा सुरू भएको बताए । उनका अनुसार उक्त दहको छुट्टै विशेषता छ । वरिपरि घना जंगल भए पनि यसमा एउटा पनि पात भेटिँदैन । पात खस्नासाथ आफैँ किनारमा पुग्छन् । नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ यो दह चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो ।


दहले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा एकिन जानकारी नभएको बताइन्छ । दहमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने पनि स्पष्ट जानकारी यहाँका बासिन्दामा छैन । यो दहको देखिने मुहान पनि छैन र निकास पनि छैन तर वर्षामा दहमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो बिस्तारै घट्दै जाने गरेको अध्यक्ष कुँवरले बताए ।

यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जंगलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान गरिएको छ । दहमा स्वदेशी तथा विदेशी पर्यटकलाई धेरै संख्यामा भिœयाउन सके जिल्लाको मुहार नै फेर्न सकिने कुपिन्डे दह संरक्षण समितिका पदाधिकारी बताउँछन् ।

त्यसका लागि दह क्षेत्रमा पुग्ने बाटो कालोपत्रे हुनुपर्ने, पर्यटकहरुका लागि बास बस्ने होटेल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र दह क्षेत्रमा सुरक्षाका लागि उचित व्यवस्था हुनुपर्नेमा सरोकारवालाले जोड दिए ।

कर्णाली कै प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ समिति लागेको छ । सम्भावनै सम्भावना बोकेको तालसम्म पुग्न भौतिक संरचना र प्रचारप्रसार गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०८०     11:30:30 AM  |