डाँफे कप फुटबल : खेलाडी जुध्दा रोकियो खेल



खगेन्द्र दाहाल । खजुरा ।

बाँकेको खजुरामा जारी १०औँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा बुधबार भएको खेलमा केही विवाद सिर्जना भएको छ । स्वर्गीय गज बहादुर सिजालीको स्मृतीमा सञ्चालन गरिएको डाँफे कप फुटबलमा बुधबार न्यू दर्पण युवा स्पोट्र्स क्लब, खजुरा ४ ई गाउँ र एफ सी ब्रोदर्स खजुरा ४ डि गाउँ बीच प्रतिस्पर्धा भएको थियो ।

खेल सुरु भएको २१औँ मिनेटमा न्यू दर्पणका जर्सी नम्बर २ का हरी बुढामगरले पहिलो गोल गरेका थिए । खेलको पहिलो हाफको अन्यमा एफसी ब्रदर्सका जर्सी नम्बर ४ का सुजन गुरुङलाई पहेंलो कार्ड लगत्तै रातो कार्ड रेफ्री केबी गुरूङले दिएपछि खेल विवादमा आएको थियो । खेलाडीले रेफ्रीलाई धकालेका कारण रातो कार्ड दिएको रेफ्री गुरुङले बताए ।

केहीबेर खेल विवाद हुँदा रोकिएपछि ब्रदर्सको टीम १० जना खेलाडी लिएर पुन खेलमा फर्किएको थियो । खेल सकिन झण्डै १५ मिनेट बाँकी रहँदा न्यू दर्पण र ब्रदर्शका खेलाडीको मनमुटाव हुँदा दर्शकले पनि मैदान भित्र प्रवेश गरी खेल बिगार्न खोजेपछि आयोजकले बुधबारको बाँकी खेल रोकिदिएको छ । खेल खेल्दा खेलाडी नै जुध्न लागेपछि आयोजकले खेल सोही दिनका लागि रोकेको हो ।

आज बिहीबार बिहान आयोजक टीम बसेर भद्र सहमतिअनुसार निर्णय गरी बाँकीका खेलहरू सञ्चालन गरिने न्यू डाँफे स्पोट्र्स क्लब खजुराका अध्यक्ष हरिप्रकाश विकले जानकारी दिए । आज खजुरा ३ स्थीत बाग्मती स्पोट्र्स क्लब र पशुपति युवा क्लब घिया बीच प्रतिस्पर्धा हुने खेल खेल संयोजक तिलाकबिर सुनारले जानकारी दिए ।

खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना गरिएको फुटबल प्रतियोगितामा १६ टिमले भाग लिएका छन् । शनिबार ९ गतेदेखि सुरु भएको प्रतियोगिता २१ गते सकिने प्रचारप्रसार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । खेल संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रूपैयाँ नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

विगत केही वर्षदेखि निरन्तर उक्त प्रतियोगिताका लागि प्रथम पुरस्कार र अन्य खेलकुदका सामग्री डि गाउँ निवासी हाल अमेरिका रहेका लिलबहादुर थापाले सहयोग गर्दै आएका छन् । अन्य खर्च आयोजकले स्थानीय सरकार, व्यक्ति तथा व्यापारीबाट सहयोग संकलन गरी गर्ने गरेको क्लबका कोषाध्यक्ष ओपेन्द्र खत्रीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रूपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १४ गते बिहीबार