जुम्ला ।
जुम्लाको चन्दननाथ नगरपालिका ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा २ घर जलेर नष्ट भएपछि १ करोड७७ लाख बढीको क्षति भएको छ । स्थानीय प्रहरीको मुचुल्का अनुसार सरस्वती पूजाको लागि बालिएको दियोबाट सल्कीएको आगोले दुईघर जलेर खरानी भएपछि एक करोड ७७ लाख ६७ हजार बराबरको क्षति भएको हो ।
चन्दननाथ– ३ का स्थानीय तथा घरधनी धर्मलाल उपाध्याय र खीम प्रसाद उपाध्यायको घरमा आगलागी भएपछि घर भित्रको अन्नपात, भाडा वर्तन, लत्ता कपडा लगायतका सबै सामान जलेका छन् । प्रहरीले उठाएको मुचुल्का अनुसार धर्मलाल उपाध्यायको ३ तले १७ कोठा भएको घर पूर्ण रूपमा क्षति भएको छ । भने खीम प्रसाद उपाध्यायको ३ तले आठ कोठाको घर पूर्ण रूपमा क्षति भएको छ ।
स्थानीय र सुरक्षा निकायको सक्रियतामा आगो नियन्त्रण भएपनि मानवीय क्षति भने हुन पाएन् । तर २ घर परिवार भने बिचल्लीमा परेका छन् । लगाउने, लत्ता, खाने गाँस र बस्ने बाँस सबै आगोमा खरानी भएपछि खीम प्रसाद र धर्मलाल उपाध्यायको परिवार यतिबेला बिचल्लीमा परेको छ ।
घरवार विहिन उपाध्याय परिवारको राहत तथा पुर्नस्थापनाका लागि स्थानीय अगुवाहरूले सहयोग संकलनको अभियान समेत सञ्चालन गरिरहेका छन् । यता चन्दननाथ नगरपालिकाले पनि तत्तकालका लागि आगलागी पिडितलाई नगद सहयोग गरेको छ । पूर्ण रूपमा क्षति भएको घरधनी धर्मलाल उपाध्याय र खीम प्रसाद उपाध्यायलाई ६० हजारका दरले नगद,कम्बल र त्रिपाल उपलब्ध गराइएको चन्दननाथ नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले जानकारी दिए ।
उनका अनुसार आशिंक क्षति भएका २ घर परिवारलाई भने नगद १० हजारका दरले नगद तथा कम्बल र त्रिपाल वितरण गरिएको छ । जुम्लामा एक साताको अवधिभित्र तातोपानी ४ को वनमा, चन्दननाथ १० को वनमा र तातोपानी ६ कै वन क्षेत्रमा आगलागी भएको थियो । स्थानीय तथा सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।
जुम्लामा केहिदिन यता आगलागीका घटना बढेपछि विपद् पूर्वतयारीलाई मजबुद बनाउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी मजबुद बनाउने निर्णय गरिएको छ । बुधबार बसेको बैठकले जिल्लामा सम्भावित विपदलाई मध्यनजर गरी आठै पालिका, सरकारी तथा गैरसरकारी कार्यालयहरू एकजुट भएर विपद पूर्वतयारीमा लाग्ने निर्णय गरिएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला जिल्ला अधिकारी राम बहादुर शाहीको अध्यक्षामतामा बसेको बैठकले विपद् पूर्वतयारीलाई मजबुद बनाउन विभिन्न पाँच वटा निर्णय गरेको छ । यता चन्दननाथका नगर प्रमुख राजुसिंह कठायतले नगर क्षेत्रभित्रको विपद् व्यवस्थापनलाई मजबुद बनाउन लागि परेको बताए । दमकलको मर्मतका लागि प्रक्रिया अघि बढेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्