घरबेटीले गरे डेरावालाको हत्या



बुटवल ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहा जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीलाई उनकै घरबेटीले हत्या गरेको खुलेको छ । बुढाथोकीको हत्या आरोपमा तानसेन नगरपालिका–११, साँचाका ३१ वर्षीय माधव विष्टलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहीबार पक्राउ गरेको हो ।

बुढाथोकी केही समय अघिदेखि विष्टको घरमा डेरा लिइ बस्दै आएका थिए । माघ २३ गते बुधबार बिहान ८ बजेतिर डेरामा बुढाथोकी मृत अवस्थामा भेटिएका थिए ।

मृत अवस्थामा भेटिए पनि बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेकाले थप अनुसन्धान गर्दा घरबेटीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए ।

विष्टको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टम गराई परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार