सामन्तवादीका जस्ता लाग्ने गणतन्त्रवादीका कार्यक्रम



व्यवहारको अवलोकन गर्दा हामी जसलाई शोषक, सामन्त, दलाल, पुँजीवादी आदि आदि भनेर घृणा गर्छौैं व्यवहारगत हिसाबले हामी त्यो वर्गका हौँ कि झैँ लाग्ने गर्दछ पटकपटक । हामीले सामन्त, शोषक, पुँजीवादी भन्नेहरूको व्यवहार बरु सामान्य र विभेदरहित देखिएको हुन्छ । उनीहरू सम्बोधन गर्दासमेत लेडिज एन्ड जेन्टिलमेन (महिला तथा सज्जनवृन्द) भनेर उपस्थित सारालाई समेटेर सम्बोधन टुङ्गाइदिन्छन् । हामी भने सम्बोधनमै लगाइदिन्छौँ आधा घन्टा । त्यति गर्दा पनि मेरो त नामै लिएन, मेरो नाम त अघि लिनुपर्नेमा पछि लियो भन्नेहरूको पनि लर्को हुन्छ ।
जीतबहादुर शाह ।

अघिल्लो हप्ता बाँकेको नेपालगन्जमा एउटा सुन्दर कार्यक्रम सञ्चालन भयो । विषयवस्तुका दृष्टिकोणले भन्दा पनि विधिको दृष्टिकोणले सुन्दर । यसको अर्थ विषयवस्तु राम्रो थिएन भन्न त मिल्दै मिल्दैन । विषयवस्तुअन्तर्गत बाँकेका रैथाने कथाहरूको सम्बन्धमा यसको विगत, वर्तमान र भविष्यको बारेमा सर्जकहरूसँग छलफल गरिएको थियो ।

निबन्ध विधामा कलम चलाइरहेका बाँकेका निबन्धकारहरूका बारेमा चर्चा गरिएको थियो । कस्ता आख्यान कसरी लेख्ने भन्ने विषयमा पनि विज्ञहरूको बीचमा संवाद गरिएको थियो । बाँकेका मात्र नभई बर्दियाका समेत साहित्यकारहरूको उपस्थिति थियो । यसकारण पनि विषयका दृष्टिकोणले कार्यक्रमलाई कमजोर भन्न मिल्ने स्थिति देखिँदैन । तथापि सुनमा पनि कुन सुन चौबीस क्यारेटको र कुन सुन तेईस क्यारेटको भन्न कुरामा मैले कार्यक्रमको विधिलाई चौबीस क्यारेटको उपमा दिन खोजेको मात्र हुँ । विषयवस्तु पनि सोबराबर नपुगेको मात्र हो, तेइस क्यारेटसम्म त पुगेकै हो ।

तोकिएको समयभन्दा केही मिनेटमात्र ढिला गरी कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा जिम्मेवार भूमिकामा रहेका व्यक्तित्वहरूको उपस्थिति भइसकेको थियो । बाँके बर्दियाका साहित्यकारलगायत नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव साहित्यकार धनप्रसाद सुवेदी र गद्य विभागका प्रमुख साहित्यकार अमर न्यौपानेको पनि कार्यक्रममा उपस्थिति थियो । मञ्चमा कार्यक्रमका सहजकर्ताका निम्ति मात्रै पोडियमको व्यवस्था गरिएको थियो । कुर्ची र सोफा त एक जनाका निम्ति पनि मञ्चमा राखिएको थिएन ।

बस्नका लागि सबैलाई दर्शकदीर्घातिरै व्यवस्था गरिएको थियो । कसैलाई प्रमुख अतिथि, कसैलाई विशिष्ट अतिथि, कसैलाई विशेष अतिथि र कसैलाई अतिथिको रूपमा पनि वर्गीकरण नगरी सबैलाई अतिथिको रूपमा सम्मान गरिएको थियो । आसन ग्रहण पनि कसैलाई गराइएको थिएन । बरु अतिथिको नाम बोलाउँदै आफ्नो नाम बोलाएको बखत बसिरहेको स्थानबाट उठिदिन आग्रह गरिएको थियो । अतिथिहरूबाट पनि आग्रह अनुसार भएको थियो । यसबाट एकअर्कामा परिचित हुन सबैलाई सहयोग पुगिरहेको थियो ।

कार्यक्रमको प्रस्तुत विधिलाई अवलोकन र प्रयोग गरिसकेपछि हाम्रो मुलुक किन परिवर्तन हँुदैन भन्ने कुराको स्पष्टरूपमा बोध भयो । हामी कुरा अनि शब्दको खेती बढी गर्दा रहेछौँ, आचरण, व्यवहार र प्रवृत्ति भने पुरातनलाई नै प्रयोग गर्न प्रयत्नशील हुँदारहेछौँ । नतिजा देखिँदा भने भनेको कुराले भन्दा पनि गरेको कुराले प्रभाव पार्दो रहेछ । त्यसैले हामी लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र जे भने पनि मुलुक भनेअनुसार अघि बढ्न नसकेको रहेछ । बरु मुलुक हामीले गरेअनुसार अघि बढिरहेको रहेछ । हामी अहिले पनि ठूलाबडाहरूलाई ध्यानमा राखेर कार्यक्रमहरूको डिजाइन गर्छौं । ठूलाबडाहरूलाई ख्याल गरेर सेवा सुविधा र सम्मानका कुराहरू गर्छौं । सम्मान पनि किलो र क्विन्टलका मालाहरूको तरिकाले तरङ्गित हुने गर्दछ । अतिथिहरूको वर्गीकरण र अतिशयोक्ति किसिमले सम्मान गर्ने यो तरिका हाम्रो मुलुकमा राणाकाल र राजाकालमा जे थियो अहिले पनि त्यही छ र हुबुह त्यस्तै छ ।

कार्यक्रममा मुख्य आकर्षक व्यक्तित्व मदन पुरस्कार बिजेता साहित्यकार अमर न्यौपानेले सुनाउनुभएको कुनै कार्यक्रम विशेषको घटना यस्तो थियो– कुनै विशेष कार्यक्रममा प्रमुख अतिथिको रूपमा मुख्यमन्त्री आउँदै हुनुहुन्थ्यो । उहाँलाई आसन ग्रहणका लागि विशेष सोफाको व्यवस्था गरिएको थियो । उहाँको सम्मानमा अलि परैदेखि पानीका आकर्षक गेट, पानीका घडाहरू र रातो कार्पेटको व्यवस्था गरिएको थियो ।

मञ्चमा बस्नेहरूको लेयर पनि तीनचार किसिमको थियो । त्यही अनुसारका सोफा र कुर्चीहरूको व्यवस्था गरिएको थियो । मञ्चदेखि तल स्रोता अर्थात दर्शकदीर्घामा बस्नेहरू पनि तीनचार थरिमा बाँडिएका थिए । जनप्रतिनिधिहरू, सचिवहरू, कार्यालय प्रमुखहरू, नागरिक समाज आदि । बस्ने सोफा र कुर्चीहरूको पनि त्यही अनुसार व्यवस्था गरिएको थियो । अन्तिमतिर त कार्पेट मात्रै थियो । त्यसदेखि पछिल्तिर घाँसले ढाकिएको भुइँ थियो । यो देशले चिन्न नसकेका भुइँमान्छेहरू त्यहाँसम्म पनि बसिरहेका थिए ।

कार्यक्रम ढिला गरी सुरु भयो करिब दुई घन्टा । यसको कारण अरू केही थिएन बाहेक मुख्यमन्त्री । उहाँ विराजमान हुनुभयो आफ्नो आसनमा । कार्यक्रमका सञ्चालकले आफ्नो आसनमा बिराजमात्र भइरहेका मुख्यमन्त्रीलाई पुनः आसन ग्रहणका लागि अनुरोध गरे । यसैगरी सञ्चालकले धेरैलाई आसन ग्रहण गराए । आसनग्रहणमै आाधा घन्टाभन्दा बढी समय गयो । आसनग्रहण हुँदाहुँदै कसैको छुट्यो भनेर चिट आयो भने कसैले तलमाथि भयो भनेर मन दुखाएर पनि हिँडेका दृश्यहरू देखिए ।

बिचरा सञ्चालकले आसनग्रहणमा तल–माथि हुन गएको भए माफी चाहन्छु भनेर उद्घोषणको क्रममा पटकपटक माफीसमेत मागिरहेका थिए । कार्यक्रम लामो भयो । धेरै वक्ताहरूले बोले । कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्रीले बोल्ने क्रममा भनेका थिए– हामी सबैले ज्यानको बाजी लगाएर सबै नागरिकलाई समान बनाउनका लागि देशका तानाशाहहरूलाई सत्ताच्यूत ग¥यौँ र देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यौँ । यो कुरा यहाँहरू सबैलाई घामजत्तिकै छर्लङ्गै छ । त्यसैको परिणामस्वरूप अहिले हामी सबै नागरिकले समान किसिमले जिउने अवसर पाइरहेका छौँ ।

साहित्यकार अमर न्यौपानेको भनाइलाई साभार गरी प्रस्तुत उल्लिखित घटना त मलाई लाग्छ सबै सरकारी र सबै राजनीतिक कार्यक्रमहरूको साझा विशेषता हो । कार्यक्रमको उपलब्धि के हुने भन्नेले भन्दा पनि उक्त कार्यक्रमको प्रमुख अतिथि को हुने भन्ने सवालमा कार्यक्रमको आधा समय बर्बाद भइरहेको हुन्छ । कुनै व्यक्तित्व विशेषलाई प्रमुख अतिथि, अतिथि बनाइयो भने सोही मर्यादाक्रममा रहेका अन्य व्यक्तिहरूलाई सकेसम्म बोलाइँदैन र कथम्कदाचित बोलाइयो भने पनि उनीहरू त्यो सबै कुरा बुझेर कार्यक्रममा जाँदैनन् ।

हामी तीनवटै सरकारका बीचमा सहकार्य, समन्वय र सहअस्तित्वको कुरा त गर्छौं तर प्रदेशका मन्त्रीहरू उपस्थित हुने कार्यक्रममा संघीय सांसदहरू उपस्थित हुँदैनन् । त्यसरी नै संघीय मन्त्रीहरू उपस्थित हुने कार्यक्रममा प्रदेशका मुख्यमन्त्रीहरू पनि उपस्थित हँुदैनन् । कारण बुझ्दा मर्यादाक्रम बाधक हुने गर्दछ । ऊ भन्दा म के कम भन्ने चिन्तनले घर गर्ने गर्दछ । संविधानले व्यवस्थापन गरेको मर्यादाक्रमलाई आत्मसात गर्नसमेत संविधानको कार्यान्वयनका लागि नियुक्त मन्त्री र सांसदहरू समेत उदासीन भइरहेको देखिन्छ ।

मलाई त लाग्छ, व्यवहारको अवलोकन गर्दा हामी जसलाई शोषक, सामन्त, दलाल, पुँजीवादी आदि आदि भनेर घृणा गर्छौैं व्यवहारगत हिसाबले हामी त्यो वर्गका हौँ कि झैँ लाग्ने गर्दछ पटकपटक । हामीले सामन्त, शोषक, पुँजीवादी भन्नेहरूको व्यवहार बरु सामान्य र विभेदरहित देखिएको हुन्छ । उनीहरू सम्बोधन गर्दासमेत लेडिज एन्ड जेन्टिलमेन (महिला तथा सज्जनवृन्द) भनेर उपस्थित सारालाई समेटेर सम्बोधन टुङ्गाइदिन्छन् ।

हामी भने सम्बोधनमै लगाइदिन्छौँ आधा घन्टा । त्यति गर्दा पनि मेरो त नामै लिएन, मेरो नाम त अघि लिनुपर्नेमा पछि लियो भन्नेहरूको पनि लर्को हुन्छ । जसलाई हामी केन्द्रबिन्दुमा राखेर सम्मानजनक व्यवहार गर्नुपर्ने हो उसका निम्ति त आसनग्रहण गर्नका लागि बेवारिसे किसिमबाट भुइँमा व्यवस्था गरिएको हुन्छ । बजेट र कार्यक्रमहरूमा त ऊ पुछारमा समेत अटेको हँुदैन । राजनीति गर्नेहरूबाट नै देशको मुख्य खण्ड नागरिक समाज नै पुछारमा पारेपछि देश अग्रगमनतिर लगाउने त पशुपतिनाथकै जिम्मामा त होला नि !

हाम्रा नेताहरूबाट सामन्ती, विस्तारवादी, उपनिवेशवादी, साम्राज्यवादी, पुँजीवादी आदि आदि भनिने देशहरूले उच्च पदस्थ अधिकारीहरूका निम्ति भन्दा पनि नागरिकका निम्ति सेवासुविधाहरूको विस्तार गरेको देखिन्छ । त्यस्ता देशका राष्ट्रपति, प्रधानमन्त्रीहरू सत्ताबाट बाहिरिएपछि सामान्य नागरिकहरूले झैँ जीवनयापन गरिरहेका देखिन्छन् । कसैले त पुरानै काममा फर्किएको अवस्था देखिन्छ ।

हाम्रो जस्तो विपन्न र त्यसमा पनि गणतन्त्रवादी भनिएको गरिब मुलुकमा भने प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, गृहमन्त्रीलगायतलाई बाँचुन्जेलसम्म सरकारी सेवा, सुविधा र सुरक्षा दिएर पाल्नुपर्ने अवस्था रहेको छ । राज्यबाट त्यस्ता सुविधा नलिने सर्तमा मात्र त्यो पदमा जानका लागि नेताहरूलाई किन प्रेरित गरिँदैन ? सामन्तवादी र पँुजीवादी मुलुकहरूमा नागरिकको शिक्षा र स्वास्थ्यलाई निःशुल्क र अनिवार्य गरिएको छ । हामी कहाँ नागरिकको शिक्षा र स्वास्थ्यलाई भने अस्तव्यस्त र ध्वस्त बनाइँदै छ । शोषणरहित समाजको सिर्जना गर्ने अभीष्ट बोकेको पञ्चायती व्यवस्थाजस्तै त होइन गणतन्त्र पनि ? कुरा एउटा गर्ने, काम भने त्यसको विपरित गर्ने । नागरिकको मन र मस्तिष्कभित्र शङ्का र उपशङ्काको कालो बादल मडारिरहेको अवस्था छ ।

टोक्ने कुकुरको पुच्छर हेरेर थाहा हुन्छ भनेझैँ हाम्रा नेताहरूको कार्यक्रमको सञ्चालन र उद्घाटनका तरिकाहरूबाट बोध हुन्छ कि यी नेताहरू पनि कुनै मानेमा पनि जनताका बैरी भनिएकाहरू भन्दा फरक देखिँदैनन् । अलि–अलि बाटोघाटो र सडकहरू बनेका छन् । त्यो पनि जनताको सुविधाका निम्ति भन्दा पनि उनीहरूका डोजर, जेसीबी र ठेकेदारहरूले काम पाउने लालसाबाट प्रेरित भएर । निःशुल्क औषधी वितरणको नाटक हुन्छ, कमिसनको खेलमै सकिन्छ त्यो कार्यक्रम पनि । गाउँमा सरकार र जनप्रतिनिधिहरूले यो काम ठिक गरे भनेर खोजी भेटिँदैन । सरकारले गर्ने सानातिना काममा पनि व्यक्तिगत स्वार्थ र कमिसनको हस्कोले गाउँटोल दुर्गन्धित भइरहेको हुन्छ ।

गाउँका सरकारी स्कुलहरू कामयावी हुन सकेका छैनन् । तिनै स्कुलमा जागिर खानेहरूका सन्ततिहरू पनि त्यो स्कुलमा पढ्दैनन् भनेपछि कुरा प्रष्ट छ । शिक्षकहरू निजीमै किन नहोस् नियुक्त गर्दा जनप्रतिनिधि र राजनीतिक दलहरूबाट ठाडो हस्तक्षेप हुन्छ । सबैले देख्ने गरी कालोलाई सेतो बनाएर मान्छेहरूलाई शिक्षकमा पजनी गरिन्छ । यस्ता व्यवहारबाट विचरा क्षमतावान युवाहरूको मनमा ठेस लाग्छ र पलायन हुन्छन् विदेशतिर । यस्तो काम पनि हुन्छ र जनताद्वारा, जनताका निम्ति र जनताको भनी बखान गरिएको गणतन्त्रमा ?

जसको नाम जे राखिदिए पनि व्यक्ति र देशको जीवन कस्तो बनाउने भन्ने कुरामा नामले भन्दा पनि कामले असर पार्ने गर्दछ । वीरबहादुर नाम भएकाहरू कायरमा अघि देखिएका दृष्टान्तहरू पनि छन् । खुसी कुमारहरू जीवनभर दुःखी भएकाहरू प्रमाणहरू पनि देखिन्छन् । यस्तै–यस्तै, कतै गणतन्त्र भनी नामकरण गरिएका शासन व्यवस्थाहरू पनि जनताका सुखसुविधाका निम्ति अभिशाप सावित भए भने त्यो जस्तो दुर्भाग्य अरू केही हुनेछैन । त्यसपछि यस्ता नामका शासन व्यवस्थाका निम्ति कसैबाट पनि रगत बगाउने र प्राणको आहूति दिने काम हुनेछैन । नागरिकमा देखिन सक्ने यस प्रकारको निराशा, कुण्ठा र वितृष्णाको फाइदा अरू कुनै अहिलेका नेताहरू भन्दा झन् खतरनाक जल्लादले लिनेछ ठिक त्यसरी नै, जसरी एउटा दैलोबाट स्याल धपाउँदै गर्दा अर्को दैलोबाट ब्वाँसो छिरिसकेको अवस्था हुन्छ । योभन्दा बढी नभनौँ । बाँकी जो हजूरहरूको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहीबार