लोकुसिंह ठकुरी,कैलाली : सेती, कर्णाली र भेरीको संगमस्थल त्रिवेणीधामको पहिचानका लागि कैलालीको मोहन्या गाउँपालिका–७ चिप्लेमा त्रिवेणी महोत्सव सञ्चालन भइरहेको छ । महोत्सव स्थलमा सञ्चालन गरिएको छ मोटरबोट महोत्सवकै आकर्षण बनेको छ । किनमेल र गीत संगीतमा झुम्न मात्रै होइन कर्णाली नदीमा मोटरबोटको अनुभव लिन पनि मानिसहरू त्यहाँ पुग्ने गरेका छन् ।
‘महोत्सव पनि हेरौँ अनि मोटरबोट पनि चढौँ भनेर आएका हौँ । ८÷१० जना साथीहरू छौँ । यसको अनुभव लिऔँ भनेर चढ्दै छौँ ।’ लाइफ ज्याकेट लगाउँदै गरेकी सुर्खेतको पञ्चपुरी नगरपालिकाकी पुनम मगरले भनिन् । पुनम जस्तै अन्य धेरै जना मोटरबोटकै अनुभव लिन चिप्ले पुगेको बत्ताउँछन् । ‘टिकट काटेर फेरि बाहिर आउन पाइँदैन । बाहिर आयो भने फेरि भित्र जान पाइँदैन । त्यसैले पहिला मोटर बोट चढौँ अनि महोत्सवभित्र जाउँला भनेर बिहानै आएका हौँ,’ मोटरबोट चढ्न पालो कुर्दै गरेका चौकुने गाउँपालिका सुर्खेतका अजय माझीले भने ।
चिप्लेमा पहिलोपटक सञ्चालन गरिएको मोटरबोटमा सस्तो शुल्कमै चढ्न पाइने भएकाले मोटरबोटमा धेरै जना आकर्षित भएको महोत्सव मूल आयोजक समितिका संयोजक वीरेन्द्रबहादुर रावलले बताए । टिकट लिएर महोत्सवभित्र प्रवेश गरेका दर्शकहरूले पनि सहजै मोटरबोट चढ्न सक्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । त्रिवेणीधाममा धार्मिक पर्यटन तथा कर्णाली नदीमा जलयात्राको सम्भावना भएकाले यसतर्फ पनि सरकारको ध्यान जान आवश्यक रहेको उनले बताए ।
महोत्सवको आकर्षण र शुल्कसमेत सस्तो भएकाले पनि दर्शकहरू यसतर्फ आकर्षित भएको हुन सक्ने मोटरबोट सञ्चालक पवन रावलले बताए । ‘हामीले चिसापानी पुलमा प्रतिव्यक्ति ५ सय, ८ सय र १ हजार गरी विभिन्न प्याकेजमा मोटर बोट चलाउँछौ तर यता मात्र दुई सयमा सञ्चालन गर्दैछौँ । भित्रिबण्डलका मानिसहरूले मोटरबोटको अनुभव लिऊन् र महोत्सवमा पनि आऊन् भनेर सस्तो प्याकेजमा चलाएका छौँ,’ रावलले भने । उनका अनुसार मोटरबोटको आनन्द लिन कैलालीसँगै सुर्खेत र डोटीसम्मका मानिसहरू आउने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्