धनगढी ।
अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी टुरको आधिकारिक भिडियो सार्वजनिक गरिएको छ । आयोजक समितिले अर्जुन ट्रफीको आधिकारिक फेसबुक पेजबाट उक्त प्रतियोगिताको महत्व, उत्साह र यसको उद्देश्य उजागर गर्ने भिडियो सार्वजनिक गरेको छ ।
भिडियोमा प्रतियोगिताको ट्रफी कैलाली र कन्चनपुरका चिसापानी, टीकापुर पार्क, घोडाघोडी, गोदावरी, क्रिकेटको सहर धनगढी, फाप्ला, वेदकोट र महाकालीलगायतका विभिन्न स्थानमा प्रदर्शन गरिएको दृश्यहरू देखाइएको छ ।
जसले देशभर क्रिकेटप्रेमीहरूलाई उत्साहित पार्ने अपेक्षा गरिएको छ । साथै, भिडियोमा प्रतियोगितासँग सम्बन्धित खेलाडी, प्रशंसक र आयोजकहरूको भावनात्मक संलग्नता झल्काइएको छ ।
अर्जुन ट्रफी टी–२० राष्ट्रिय प्रतियोगिता यही माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको छ ।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका अग्रज स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिने अर्जुन ट्रफी टी–२० फम्र्याटको प्रतियोगिता हो । प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाउँदै छन् । टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोस्टन क्रिकेट झापा छन् । समूह ‘बी’ मा सीवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ र न्यु होराइजन बुटवल रहेका छन् । उद्घाटन खेल माघ १९ गते डीसीए धनगढी र फ्रेन्ड्स युवा क्लब डडेल्धुराबीच हुनेछ ।
झन्डै २० लाख नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले १० लाख नगद र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछन् । उत्कृष्ट खेलाडीलाई १ लाख नगद र उत्कृष्ट ब्याट्सम्यान, बलर तथा उदयमान खेलाडीलाई जनही ५०–५० हजार रूपैयाँ प्रदान गरिनेछ । हरेक खेलका म्यान अफ द म्याचलाई १० हजार नगद पुरस्कार दिइनेछ ।
प्रतियोगितामा ए, बी, र सी तीन वटा क्याटगोरीका खेलाडीहरू समावेश गरिनेछन् । ए क्याटगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी, बी क्याटगोरीमा यु–१९ टिम, राष्ट्रिय टिम ‘ए’, र प्रदेशस्तरीय सिनियर खेलाडी तथा सी क्याटेगोरीमा यु–१६, प्रदेश यु–१९ र यु–१६ टिमका खेलाडी समावेश हुनेछन् ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालै निर्माण गरिएको अस्थायी प्याराफिट पनि दर्शकहरूको सुविधाका लागि जडान गरिएको छ । प्रतियोगिताले धनगढीलाई क्रिकेटको राजधानीका रूपमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्