किवीका बेर्ना बेचेर वार्षिक ५ लाख आम्दानी



डडेल्धुरा ।

किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक ५ लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।

थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन् । फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी ६ प्रजातिका किवीको बिरुवा उत्पादन तथा बिक्री भइरहेको छ ।

उनले आलिताल–२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी–२ कुस्मालीमा पनि स्थापना गरेका छन् । लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवीखेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको जानकारी दिए ।

फार्ममा हाल ५ हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले बताए । किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट १ सय ५० चालूका दरले बिक्री गरिरहेको उनले जानकारी दिए । डेढ रोपनी क्षेत्रफलमा उनले किवीका बेर्ना उत्पादन गरिरहेका छन् । किवीका बेर्ना जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताए ।

बेर्ना बिक्री गरेरै वार्षिक ५ लाख चालूसम्म आम्दानी गरिरहेको थापाको अनुभव छ । आफूले किवीखेती सुरु गर्दा प्रतिबोट ५ सय चालूका दरले किनेर लगाएको उनको भनाइ छ ।

अहिले डडेल्धुरा जिल्लामा ४०–५० किसानले किवीखेती गर्दै आएका छन् । सुरुमा एकपटक लगानी गरेपछि ४०–५० वर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवीखेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । ‘किवी खेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुँदा त्यसतर्फ किसान बढी आकर्षित भएका छन्,’ प्रमुख पनेरुले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमबार