गणेश रावत । कोहलपुर ।
कुन दिन अन्तिम हुन्छ थाहा हुँदैन
कुन छिन आखिरी हुन्छ पत्तो हुँदैन
कस्तो घमण्ड ? के को अभिमान
याद रहोस्…
कोही पनि कहिल्यै अजम्बरी हुँदैन
बिहीबार एभरेष्ट बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रबन्धक लव कुइकेलले कोहलपुर विद्युतीय शवदाह गृहलाई सहयोग हस्तान्तरण कर्यक्रममा सम्बोधन गर्ने क्रममा सुरुवात यसरी कविताबाट गरेका थिए । ‘मलाई बोल्न त धेरै आउँदैन,’ उनले कविता वाचन गर्नुपूर्व भनेका थिए, ‘तर कहिलेकाहीँ यसो लेख्ने गर्छु । त्यसैले कविता वाचन गरेरै मन्तव्यको सुरुवात गर्छु ।’
सो अवसरमा बोल्दै उनले मानिस सबैको एक दिन मृत्यु अवश्य हुने र मृत्यु भएपछि ल्याइने ठाउँ घाट नै भएकाले आफूले सोही विषयलाई अनुभूत गरेर कविता रचना गरेको बताए । ‘हामी सबै एक पटक मरेर जानैपर्छ,’ उनले भने, ‘जाँदा सबै यहाँ आउनै पर्छ ।’
बैंकका तर्फबाट शवदाह गृहलाई आर्थिक सहयोग हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै सन्तुष्टि मिलेको उनले बताए । ‘शवदाह गृह भोलि मलाई पनि चाहिन्छ, सबैलाई चाहिन्छ,’ उनले भने, ‘यस्ता पुण्य काममा सहयोग गर्न पाउँदा खुसी त नभनौँ अत्मसन्तुष्टि मिलेको छ । आगामी दिनमा पनि सहयोग गर्न पाऊँ ।’
सो अवसरमा बोल्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसासर मोटो रकम (५० लाख रूपैयाँ) आधिकारिक रूपमा सम्झौता गरेर हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे । शवदाह गृह निर्माणका लागि बैंकले विभिन्न ठाउँहरूमा सहयोग गरेको सुनेर बैंकमा पुग्दा सहजै स्वीकार गरिएकोमा एभरेष्ट बैंक परिवारलाई धन्यवाद दिए ।
शवदाह गृह निर्माणसँगै कोहलपुरका नागरिकलाई दाहसंस्कारका लागि ४६ मिलोमिटर टाढा अगैया धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । सबैको सहयोगमा अहिले शवदाह गृह निर्माण तीव्र रूपमा भइरहेको उनले बताए । ‘विद्यालय, संघसंस्था र बैंकहरूको सहयोगले जुन अपेक्षाअनुसार निर्माण थालिएको थियो त्योभन्दा अझै राम्रो निर्माण हुने विश्वास लिएको छु,’ नगर प्रमुख आचार्यले भने ।
कोहलपुर नगरपालिका, बैंक र निर्माण समितिबीचको त्रिपक्षीय सम्झैताअनुसार समितिलाई ५० लाखको चेक हस्तारण गरिएको हो । नगरपालिकाको शवदाह निर्माण गर्ने सोचलाई पूर्णता दिन एभरेष्ट बैंकले आर्थिक रूपमा ठूलो सहयोग गरेकोमा कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगीता सुवेदीले आभार व्यक्त गरिन् ।
‘दाह संस्कारका लागि अगैयासम्म पुग्नुपर्दा समय खर्च बढी हुने गरेको थियो,’ उपप्रमुख सुबेदीले भनिन्, ‘अब नजिकै भएपछि समयका साथै खर्चमा पनि बचत हुनेछ ।’ सुरुवातमा सवा करोडको लागत अनुमान गरिएको भए पनि त्यसले पर्याप्त नहुने भएकाले सबैको सहयोगले निर्माण कार्यमा सहजता आएको उनको भनाइ छ ।
बैंकको चेक ग्रहण गर्दै समितिका संयोजक चक्रबहादुर अधिकारीले बैंकले गरेको सहयोगप्रति कृतज्ञता प्रकट गरे । शवहाद गृह निर्माण कार्य तीव्र रूपमा भइरहेको जानकारी दिँदै उनले माघ महिनामै निर्माण सम्पन्न हुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्