थारु समुदायमा माघिको रौनक शुरु



कोहलपुर,२४ पुस/  थारु समुदायको नयाँ वर्षका रुपमा मनाउने माघिको रौनक थारु समुदायमा शुरु भएको छ । थारु समुदायले माघीलाई विशेष पर्वको रुपमा लिने गर्दछन । माघीकै अवसरमा अर्थात माघे संक्रान्तिको दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गर्ने गरिन्छ ।

पहाडि समुदायमा आफ्ना नाता गोतालाई घरमा बोलाई खिचडि, तरुल ,सख्खरखण्ड आदि खुवाउने चलन रहँदै आएको छ भने मधेसमा थारु समुदायहरुले यो पर्वलाई निकै हर्षका साथ मिठा परिकारहरु ढिक्रि ,माछा–मासु तिलको लड्डु ,जाँड आदि एक आपसमा बाँडेर खाने गर्दछन ।

करिब एक हप्तासम्म मनाइने माघी पर्व अन्तरगत थारु समुदायले विभिन्न कृयाकलाप गरी मनाउने गरेका छन् । नयाँ वर्षको रुपमा मनाउने यो पर्वमा थारु सामुदायले सद्भाव तथा आत्मिक प्रतिकको रुपमा समेत लिने गरेका छन् ।

त्यसका लागि थारु समुदायले माघे संक्रान्ति आउनु पुर्व नै माघीमा खानपिनको लागि धान कुटाउने, ढिक्री खान पिठो पिसाउने, मासुको लागि योजना बनाउने, नयाँ कपडा किन्ने, घर आँगन सरसफाई तथा लिपपोत गर्ने, नाँचगानका लागि बाजागाजा तयारी गर्ने लगायतका योजना हरु बनाउने गर्दछन । यतिबेला सो समुदायमा त्यही काम भइरहेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।

थारुले भने ‘माघे संक्रान्ति आउनुभन्दा २ दिन अगाडि देखि नै थारु समुदायमा यो पर्वले छोइसकेको हुन्छ । उनीहरुले माछा मार्न महिनौअघि देखि खोला या तालमा माछा संरक्षण गरेर राख्ने थारु समुदायको परम्परा छ । उनीहरु २ दिन अगाडि तलाउ नदिमा गई माछा मार्ने तथा विभिन्न परिकारहरु बनाउने गर्दछन् ।’
माघीमा थारु समुदायको मुख्य परिकारका रुपमा ढिक्रीलाई लिने गरिएको छ । यो पर्बमा ढिक्रीको ठुलो महत्व रहने गर्दछ । ३ दिन सम्म मनाउने माघीमा थारु समुदायका युवाहरु १ गते देखि नै नाचगान गरी रमाइलो गर्छन भने युवतीहरु २ गते देखि रमाइलो गर्ने गर्दछन ।

भाले नबास्दा सम्म मात्रै रमाइलो गर्ने थारु सामुदायहरु भालेको डाँको सगै कोही संग नबोलेर नजिकैको तलाउ, नदिमा नुहाउन माघ १ गते जाने गर्दछन् । विहान भगवानको नाममा स्नान गर्दा खेरी जेठो छोरा बाट सुरु भइ पालै पालो नदिमा स्नान गर्ने गर्दछन् । स्नान गरिसकेपछि तिलको डाँठको आगो बालेर तापि कसै सगं नबोलेर टिका लगाइ एक अर्का प्रति माया साटासाट गर्ने गर्दछन् ।

उनीहरु विहान ८ बजे पछि सपरिवार बसेर ढिक्री, घोँगी, माछा सख्खरखण्ड लगायत सात परिकार खाने गर्दछन । उक्त ७ परिकार खाइसकेपछि उनीहरुको घरको महत्वपूर्ण बैठक सुरु हुन्छ ।

जसमा वर्ष भरीको कार्य प्रगति विवरण, तथा खेति पातीको वार्षिक योजना आगामी वर्ष के गर्ने भनेर योजना तर्जुमा सबैको सहमतिमा गर्ने गर्दछन । योजना अन्तरगत घरबनाउने, विहे गर्ने, घर छुट्टीन,े लगायत रहेका हुन्छन् । यसैगरी गाँउ भरिका घरमुली जम्मा भएर मतावा, बरघर, भल्मन्सा चुन्ने र गाँउ भरिको वार्षिक योजना तर्जुमा गर्ने गरिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार