दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा यसपटक माध्यमिक तहभन्दा आधारभूत तहका विद्यार्थीलाई ध्यानमा राखेर धैरे खेलहरू समावेश गरिएको छ । अधिकांश खेलहरू आधारभूत तहका विद्यार्थीहरूका लागि हुनेछन् ।
बाँके ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नगर समिति कोहलपुरको आयोजनामा आजदेखि दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदै छ । कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
चार विधामा प्रतिस्पर्धा गराइने रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको तेह्र बिघा खेलकुद मैदानमा एक समारोहका बीच प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले उद्घाटन गर्ने तय भएको प्याब्सन नगर समिति कोहलपुरका अध्यक्ष रमेश खत्रीले जानकारी दिए । उनका अनुसार मार्शल आर्ट, फुटसल, भलिबल र एथलेटिक्स गरेर चार विधामा प्रतिस्पर्धा गराइनेछ ।
‘यस प्रतियोगितामा दुई तह अन्तर्गत खेलहरू हुनेछन्’ उनले पत्रकार सम्मेलनमा भने, ‘आधारभूत र माध्यमिक तहका खेल हुन्छन् ।’ कोहलपुर प्याब्सनमा आबद्ध नगरका २८ वटा विद्यालयका विद्यार्थीहरूले विभिन्न विधाका खेलमा भाग लिनेछन् । २८ विद्यालयमध्ये आधारभूत तहका १० वटा र माध्यमिक तहका १८ वटा विद्यालयहरूले प्रतियोगितामा भाग लिने अध्यक्ष खत्रीले जानकारी दिए ।
आधारभूत तह र माध्यमिक तह गरेर करिब १८ सय ५६ जना विद्यार्थीहरूले विभिन्न खेलहरूमा भाग लिनेछन् । माध्यमिक तहमा एथलेटिक्स र भलिबल विधाका खेलहरू मात्रै खेलाइने आयोजकले जनाएको छ । ‘यसपटक हामीले आधाभूत तहका विद्यार्थीलाई धेरै सहभागिता गराउने भनेर माध्यमिक तहमा कम खेलहरू समावेश गरेका हौँ,’ अध्यक्ष खत्रीले भने, ‘आधाभूत तहमा धेरै खेलहरू समावेश गरेका छौँ ।’
उनका अनुसार आधारभूत तहमा कक्षागत अर्थात् उमेर समूहअन्तर्गत प्रतियोगिता हुनेछ । प्याब्सन कोहलपुरका सचिव मित्रलाल ओलीले माध्यमिक तहतर्फ भलिबल र ३ हजार मिटर दौड छात्र, छात्रा हुनेछ ।
आधारभूतमा मार्सल आर्टअन्तर्गत कराते, तेक्वान्दो हुने उनले जानकारी दिए । सचिव ओलीले दिएको जानकारी अनुसार छात्र, छात्रा गरेर १६ वटा विभिन्न खेलहरू हुनेछन् । अतिथि विद्यालयको रूपमा बैजनाथका ६ वटा विद्यालयका विद्यार्थीहरूले समेत भाग लिने प्रतियोगिताका मिल्ड मार्शल दिनेश सिग्देलले जानकारी दिए ।
उनका अनुसार कोहलपुर नगरभित्र रहेका सामुदायिक विद्यालयलाई समेत समेट्नेगरी ५ हजार मिटरको खुला दौड प्रतियोगिता पनि आयोजना गरिएको छ । दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई भव्य बनाउनको लागि ११ वटा उपसमितिहरू गठन गरिएको छ ।
प्रतियोगिताको उद्घाटनअघि आज बिहान ११ बजे रामजानकी चोकदेखि प्रभातफेरी सुरु भएर तेह्र बिघा खेलकुद मैदानमा पुग्ने सचिवालय संयोजक हेमकुमार रावतले जानकारी दिए ।
बिहीबार खेल मैदानमै भएको पत्रकार सम्मेलनमा प्याब्सन बाँकेका सल्लाहकार केशरबहादुर आले, कोहलपुर नगरका प्रमुख सल्लाहकार गोबिन्द सुवेदी, प्याब्सन बाँकेका निबर्तमान अध्यक्ष यम रावत, कोहलपुर नगर उपाध्यक्ष समीर घर्ती लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्