बुटवल ।
रूपन्देहीमा महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विद्यालयहरूलाई केन्द्रित गरेर १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपीभी खोप लगाउने तयारी गरिएको हो ।
स्वास्थ्य कार्यालय रूपन्देहीले जिल्लामा दुई चरण गरी १० वटै स्थानीय पालिकाभित्रका विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई एचपीभी खोप लगाइने जनाएको छ । रूपन्देहीका सबै स्कुलहरूमा पढ्ने ५८ हजार ८ सय ८९ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी गराए ।
उनका अनुसार पहिलो चरणमा यही माघ २२ गतेदेखि २९ गतेसम्म खोप लगाइने छ । पहिलो चरणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिकामा खोप लगाइने छ ।
यी आठवटा स्थानीय तहका विभिन्न स्कुलमा पढ्ने ३१ हजार ९ सय ५६ जना किशोरीहरूलाई खोप लगाइने छ । यी आठवटा स्थानीय तहमा ३ सय ६२ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने स्वास्थ्य कार्यालय रूपन्देहीका खोप अधिकृत सुरेन्द्रप्रसाद दुवेदीले जानकारी गराए ।
देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा दोस्रो चरण फागुनको १ गतेदेखि ६ गतेसम्म खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
फागुन १ गतेदेखि ६ गतेसम्म खोप अभियान सञ्चालन गरिने स्थानीय तहमा विभिन्न ठाउँमा ६ सय ८५ स्थानमा खोप केन्द्र सञ्चालन गरी २६ हजार ९ सय ४२ जना किशोरीहरूलाई खोप लगाउने योजना छ ।
विश्व स्वास्थ्य संगठनमा कार्यरत डा.सागर तिवारीले एचपीभी खोपले कुनै असर नगर्ने र खोप ९८ प्रतिशत प्रभावकारी रहेको बताए । एकपटक खोप लगाएपछि किशोरीहरूले दोस्रोपटक खोप लगाउन नपर्ने र गर्भवती महिलाले लगाउन नहुने डा.तिवारीले जानकारी गराए । एचपीभी खोप अभियान २०८१ का बारेमा रूपन्देहीमा जिल्ला खोप समन्वय समितिको बैठक आयोजना गरि सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको थियो ।
सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईले किशोरीहरूको स्वास्थ्यका लागि खोप उपयुक्त भएकाले अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले खोप अभियानलाई सफल बनाउन स्वास्थ्य र सञ्चार क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक पर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख युवराज पाण्डेयले खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र यसबारे जनचेतना जगाउन मिडियाकर्मीको सहयोग आवश्यक पर्ने बताउँदै सही सूचना प्रकाशन र प्रसारण गरेर सहयोग पु¥याउन आग्रह गरे ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेयले खोपले कुनै असर नगर्ने र धेरै फाइदा गर्ने भएकाले ढुक्क भएर लगाउने गरी समाजमा सही प्रकारको सूचना दिन जरुरी रहेको बताए । महिलाको पाठेघरको मुखको क्यान्सरबाट नेपालमा वार्षिक रूपमा २ हजार महिलाको मृत्यु हुने गरेको विश्वस्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्