अछाममा १ हजार ८६ जना भीम रावलतिर



अछाम ।

नेकपा एमालेबाट कारबाहीमा परेका भीम रावललाई अछाम र कैलालीबाट साथ बढ्दै गएको छ । मातृभूमि जागरण अभियान सुरु गरेका रावललाई एमालेमा सक्रिय रहेका पदाधिकारी तथा कार्यकर्ताहरूको समर्थन बढ्दै गएको हो ।

पार्टीले पूर्वउपाध्यक्ष डाक्टर रावललाई पार्टीबाट निष्कासन गरेपछि असन्तुष्ट एमाले नेता कार्यकर्ता उनको अभियानमा लाग्न तयार भएका छन् । सोमबार ५९ जनाले पार्टी छोडेको भन्दै वक्तव्य जारी गरेकोमा मंगलबार भने १ हजार ८६ जनाले पार्टी छोडेका छन् । उनीहरूले अछाममै पत्रकार सम्मेलनको आयोजना गरेर एमाले छाडेर नेता रावलको अभियानलाई समर्थन गरेको जानकारी दिए ।

भीम रावलको अभियानलाई समर्थन गर्नेमा अछामबाट प्रतिनिधित्व गर्दै प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिालय सदस्य पाँच जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेमसंघ कार्यबाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरू ६ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित १ हजार ८६ जनाले एमाले छोडेको बताएका हुन् ।

दलविहीन बनेपछि मातृभूमि जागरण अभियानको घोषणा गर्दै रावल अहिले गृहजिल्ला अछाम छन् । पत्रकार सम्मेलनमा बोल्दै एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहले हाललाई नेकपा एमाले परित्याग गरेको नभई मातृभूमि जागरण अभियानलाई समर्थन गरेको दाबी गरे । उनले मंगलबार सार्वजनिक भएको सूची अछामको साफेँबगर आसपासको मात्रै भएको र यसैगरी अन्य क्षेत्रको पनि सार्वजनिक हुँदै जाने बताए ।

म रावलको अभियानमा छु : पूर्व प्रदेश सभा सदस्य सुबेदी

नेकपा एमालेबाट कारबाहीमा परेपछि पूर्व प्रदेश सभा सदस्य कृष्णराज सुवेदीले खुलेरै भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने भएका छन् । पार्टीले कारण नसोधी कारबाही गरेपछि उनले भीम रावलले खोल्ने पार्टीको सदस्यता बन्ने बताएका हुन् ।

‘म जस्तो एमालेको सच्चा कार्यकर्तालाई उहाँहरूले कारबाही गर्नुभयो । एउटा स्पष्टीकरणसम्म पनि सोध्नुभएन । भीम रावलको कुनै पनि कार्यक्रममा नजानु होला भन्ने कुनै पार्टीका कार्यकर्तालाई निर्देशन थिएन,’ उनले भने, ‘यी नेताहरू जसले नेकपा एमालेलाई तहसनहस गर्ने उद्देश्यका साथ नेकपा एमाले भएका छन् । यो उनीहरूको चाल हो । अब यसमा उहाँहरूले निर्णय गरिसक्नुभएको छ । म भीम रावलको मात्रभूमि नेपालमा समावेश हुनेछु ।’

उनले मातृभूमि नेपालमार्फत समग्र नेपाल, नेपाली दाजुभाइ दिदीबहिनीहरूको सेवामा समर्पित हुने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार