प्रदेश सभा निरन्तर सञ्चालन गर्न मुख्यमन्त्रीले थाले छलफल



कैलाली ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभालाई निरन्तर सञ्चालन गर्न सभामुख तथा पूर्वमुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिजनेसविहीन बनेको प्रदेश सभालाई प्रभावकारी र बैठकलाई निरन्तर सञ्चालन गर्न मंगलबार मुख्यमन्त्री शाहले आफ्नै निवासमा छलफल गरेको सचिवालयले जनाएको छ ।

सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन कार्यान्वयन हुन नसकेका ऐनहरू संशोधन गर्न सरकार तयार रहेको बताए । ‘विगतमा बनेका कतिपय ऐनहरू कार्यान्वयन हुन सकेका छैनन् । त्यस्ता ऐनहरू सरकारले संशोधन गर्ने तयारी गरेको छ,’ उनले भने, ‘सरकारको कामलाई गतिशील बनाउन ऐन, नियम तथा कानुनहरू आवश्यक पर्ने भएकाले कार्यान्वयन हुन नसकेको र सरकार सञ्चालनमा कठिनाइ भएका ऐनहरू संशोधन गरिनुपर्छ । त्यही आधारमा सरकारले काम गरिरहेको छ ।’

बैठकमा सभामुख भीमबहादुर भण्डारीले सरकारले जति प्रदेश सभालाई बिजनेस दिन सक्यो त्यही आधारमा बैठकले निरन्तरता पाउने बताए । उनले भने, ‘सदनलाई प्रभावकारी बनाउन सरकारलाई आवश्यक पर्ने ऐन, कानुनहरू सभामा दर्ता गर्न जरुरी रहेको छ ।’

प्रदेश सभामा सरकारले ऐनहरू दर्ता गर्न नसक्दा बैठक अनिश्चितताको बन्दी भएको छ । सोही विषयसहित विविध मुद्दामा मुख्यमन्त्री शाहले पूर्वमुख्यमन्त्रीहरूको रायसहितको छलफल गरेको सचिवालयले जनाएको छ । प्रदेशका सवाललाई लिएर यसरी पूर्वमुख्यमन्त्रीहरू एकसाथ छलफल बैठकमा जुटेको सम्भवतः यो पहिलो पटक हो ।

प्रदेशका समग्र विषयमा छलफल भएको बताइएको छ । राजधानीको निक्र्योल, बजेट कार्यान्वयन, प्रदेश सभाको प्रभावकारी सञ्चालनलगायतका सवालमा छलफल भएको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरीमा घोषणा भएको ६ वर्षभन्दा बढी पुगेको छ । तर, प्रदेश सरकारले वन क्षेत्रको उक्त जग्गासमेत प्राप्त गर्न सकेको छैन । सोमबार प्रदेश सभा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भण्डारीलगायतका वक्ताले राजधानीको विषय छिटो टुंगो लगाउनुपर्ने बताएका थिए ।

मुख्यमन्त्री शाहले पनि गोदावरीमा सम्भव नभए स्थायी राजधानीका लागि विकल्प खोजिने बताउँदै आएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, पूर्व मुख्यमन्त्रीहरू त्रिलोचन भट्ट, राजेन्द्रसिंह रावल, दीर्घ सोडारीलगायत छलफलमा सहभागी भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार