राप्ती नदीमा गोहीको सर्वेक्षण गर्दै बाँके निकुञ्ज



नेपालगन्ज (बाँके) ।

बाँकेको राप्ती नदीमा गोहीको सर्वेक्षण सुरु गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शनिबारदेखि नदीका विभिन्न क्षेत्रमाा घडियाल गोहीको सर्वेक्षण, निरीक्षणका साथै गणना कार्य सुरु गरेको हो ।

यसअघि नदीमा पटकपटक छाडिएका घडियाल गोहीको अवस्थाका बारेमा जानकारी लिनका लागि गणना सुरु गरिएको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दिप पंगेनीले यसअघि पटकपटक राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण, निरीक्षणका साथै गणना सुरु गरिएको जानकारी दिए ।

‘राप्ती नदीमा यसअघि पटकपटक घडियाल गोहीहरू छाड्ने गरिएको छ, ती गोहीहरूको अवस्था के कस्तो छ भनेर जानकारी लिनका लागि गत शनिबारदेखि राप्ती नदीमा घडिायाल गोहीको सर्वेक्षण, निरीक्षणका साथै गणना गर्ने कार्य सुरु गरेका छौँ,’ सूचना अधिकारी पंगेनीले भने, ‘शनिबारका दिन दुई वटा घडियाल गोही र एउटा मगर गोही फेला पा¥यौँ, नदीमा गोही रहन सक्ने सम्भावित क्षेत्रमा सर्वेक्षण गरेर उनीहरूको अवस्थाका बारेमा सम्पूर्ण जानकारी लिएर सोही अनुसार गोही संरक्षण्का लागि आगामी योजना बनाउँछौ ।’

गोहीको सर्वेक्षण, निरीक्षण तथ गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही सिटिजन साइन्टिस्ट सहभागी रहेको उनले बताए । ‘गोहीको संरक्षण गर्ने दायीत्व स्थानीय समुदायको पनि हो, गोही संरक्षणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहन्छ, हामीले स्थानीय समुदायका व्यक्तिहरूलाई यसका बारेमा तालिम दिने र जानकारी प्रदान गर्ने कार्य गर्दै आएका छौँ,’ उनले भने, ‘गोहीको गणनामा पनि स्थानीय समुदायका केही सिटिजन साइन्टिस्टलाई सहभागी बनाएका छौँ, यसबाट उहाँहरूले गोहीका बारेमा थप जानकारी लिने र सिक्ने मौकासमेत मिल्नेछ र उहाँहरू झन उत्तरदायी बन्नुहुनेछ ।’

बाँके र दाङ जिल्लाको सिमानामा पर्ने शिव खोलाबाट राप्ती नदीमा गोहीको गणना कार्य सुरु गरिएको सूचना अधिकारी पंगेनीले बताए शिव खोलाबाट गोहीको गणना कार्य सुरु गरेको उनले बताए ।

उनका अनुसार कुसुम, अगैया लगायतका नदी क्षेत्रमा घडियाल गोहीको गणना हुनेछ । हरेक वर्ष गोही ल्याएर नदीमा छाडेर मात्र नहुने भन्दै उनले उनीहरूको अवस्था के छ, कति जीवित छन्, उनीहरूको आहाराको अवस्था के कस्तो छ जस्ता कुराहरूको जानकारी लिनका लागि सर्वेक्षण, निरीक्षण र गणना कार्य सुरु गरिएको पंगेनीको भनाइ छ ।

पटकपटक बाहिरबाट घडियाल गोही ल्याएर राप्ती नदीमा छाडिने गरिएको निकुञ्जले जनाएको छ । गतवर्ष पनि चितवनबाट १४ वटा घडियाल गोही ल्याएर राप्ती नदीमा छाडिएका थिए । नदीमा छाडिएका घडियाल गोहीको अवस्थाका बारेमा जानकारी लिनका लागि निकुञ्जले गोहीको सर्वेक्षण, निरीक्षण तथा गणना गर्दै आएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार