माघे संक्रान्तिमा खाइने विभिन्न परिकारमध्ये तरुल र सखरखण्ड मुख्य हुन् । उसिनेर खाइने यी कन्दमूलहरूकोे माघे संक्रान्तिको बेला राम्रो मूल्यसहित व्यापार हुन्छ । तरुल विशेषगरी माघे संक्रान्तिको दिनमात्रै खपत हुने गरे पनि सखरखण्ड जाडो अवधिभरि खपत हुने गरेको व्यापारीहरू बताउँछन् । तरुल र सखरखण्डको मूल्य पनि प्रकृतिअनुसार फरक छ ।

नेपालगन्ज ।
नेपालगन्जको तरकारी बजार रानीतलाउ तरकारी मण्डीमा केही दिनदेखि तरुल र सखरखण्डका थुप्रोहरू देखिन्छन् । फरक–फरक आकार र रङका ती कन्दमूलहरू माघे संक्रान्तिलाई लक्षित गरेर बिक्रीमा राखिएका छन् । तरकारीका एक जना थोक बिक्रेता मेराज कबडिया नेपालगन्जमा बिक्रीका लागि राखिएका सबै तरुलहरू नेपालकै उत्पादन भएको बताउँछन् ।
सखरखण्डहरू भने आधाजति नेपालकै र आधा भारतबाट आयातित रहेको उनले बताए । उनले भने, ‘तरुलहरू जति सबै यसवर्ष बर्दियाबाट ल्याएका छौँ । सखरखण्ड नेपालको दाङको सतबरियाबाट र इन्डियाबाट ल्याएका छौँ ।’ कबडियाका अनुसार माघेसंक्रान्तिमा तरुल खाने चलन नेपालमा जस्तो भारतमा छैन । त्यसकारण त्यहाँ तरुलको उत्पादन पनि कम हुने गरेको र नेपालमा आयात पनि नगन्य मात्रामा हुने गरेको उनले बताए ।
‘इन्डियामा तरुल खाने चलन रहेनछ । यहाँ आउँदा उनीहरू तरुल देखेपछि यो के हो ? भनेर सोध्छन् । त्यसकारण उताबाट तरुल कमै आउँछ । हामीले नेपालकै तरुल किनेर ल्याएर बेच्छौँ,’ कबडियाले भने । तरुल प्रायः बर्दिया, दाङ लगायतका जिल्लाबाट र कहिलेकाहीँ थोरै मात्रामा कर्णालीका पहाडी जिल्लाबाट पनि नेपालगन्ज आउने गरेको उनको भनाइ छ ।
यसवर्ष नेपालगन्जमा करिब १० टन तरुल बिक्रीका लागि आएको उनको भनाइ छ । यसैगरी, करिब ५० टन सखरखण्ड नेपालगन्जमा मात्रै खपत हुने अनुमान गरिएको उनको भनाइ छ । गतवर्ष नेपालगन्ज भन्सार हुँदै माघ मसान्तसम्म ५२ लाख ७४ हजार ९ सय २६ रूपैयाँको सखरखण्ड आयात भएको तथ्यांक छ । यसवर्ष सखरखण्ड आउनेक्रम सुरु भएको र माघ महिनाभरि आयात हुने सिजन भएकाले यकिन तथ्यांक त्यसपछि मात्रै थाहा हुने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
तरुलभन्दा सखरखण्डको माग धेरै रहेको र खेती खर्नका लागि पनि सहज भएकाले किसानहरूका लागि अवसर रहेको व्यापारी कबडिया बताउँछन् । बालुवा भएको जमिन सखरखण्ड खेतीका लागि उपयुक्त हुने गरेको छ । बाँकेमा यसका लागि उपयुक्त जमिन प्रशस्त भए पनि खेती नगन्य मात्रामा हुने गरेको व्यापारीहरूको भनाइ छ ।

माघे संक्रान्तिमा खाइने विभिन्न परिकारमध्ये तरुल र सखरखण्ड मुख्य हुन् । उसिनेर खाइने यी कन्दमूलहरूकोे माघे संक्रान्तिको बेला राम्रो मूल्यसहित व्यापार हुन्छ । तरुल विशेषगरी माघे संक्रान्तिको दिनमात्रै खपत हुने गरे पनि सखरखण्ड जाडो अवधिभरि खपत हुने गरेको व्यापारीहरू बताउँछन् ।
तरुल र सखरखण्डको मूल्य पनि प्रकृतिअनुसार फरक छ । मुख्यगरी नेपालगन्जमा घर तरुल, वन तरुल र सेता तरुल गरी तीन किसिमको तरुल बिक्रीमा रहेको तरकारी व्यापारी मोविन राई बताउँछन् । घर तरुल खेती गरेर उत्पादन गरिएको हुनाले सबैभन्दा बढी घर तरुल नै बजारमा पाइन्छन् । तर, वन तरुल वनजंगलबाट संकलन गरी ल्याउनुपर्ने हुनाले निकै कम मात्रमा बजारमा उपलब्ध छ र मूल्य पनि बढी छ ।
घर तरुलको थोक मूल्य १ सय २० देखि १ सय ५० रूपैयाँसम्म छ । बजारमा खुद्रामा यही तरुल २ सय रूपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । वन तरुलको थोक मूल्य २ सय देखि ३ सय रूपैयाँ भए पनि बजारमा ५ सय रूपैयाँ किलोसम्ममा खुद्रामा बिक्री भइरहेको छ । सेतो तरुल भने १ सयदेखि १ सय २० रूपैयाँ किलोमा बिक्री भइरहेको व्यापारीहरू बताउँछन् ।
यसैगरी नेपालको सखरखण्ड ५५ रूपैयाँदेखि ६० रूपैयाँ किलो थोक मूल्य हुँदा खुद्रामा १ सय रूपैयाँदेखि १ सय २० रूपैयाँसम्ममा बिक्री भइरहेको छ । भारतबाट आयातित सखरखण्ड ६५ देखि ७० रूपैयाँ थोक मूल्य रहेकोमा खुद्रामा १ सय रूपैयाँदेखि १ सय २० रूपैयाँसम्ममै बिक्री भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्