कांग्रेसको खड्कवार–घुुइयाबारी पदयात्रा



कोहलपुर (बाँके) ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले पदयात्रा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका बीच बाँकेको कोहलपुरस्थित खड्कवारदेखि सल्यानको घुइयाबारीसम्म पदयात्रा सुरु गरेको हो । नेपाली कांगे्रसले सुरु गरेको एकदिने केन्द्रीय अभियानअन्तर्गत उक्त सडक मार्गमा पदयात्रा सुरु गरिएको क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर कांग्रेस क्षेत्र नम्बर १ बाँकेले सुरु गरेको पदयात्रा दुईदिने हुनेछ ।

उनका अनुसार २०१५ सालमा बीपी कोइरालाले उद्घाटन गर्ने तयारी गरेको सडक मार्गको निर्माणका लागि दबाब दिने उद्देश्यले पदयात्रा सुरु गरिएको हो । अभियानअन्तर्गत सरोकारवालासँग भेटघाट, सडक मार्ग निर्माणको अवस्था र समग्र अवस्थाको विषयमा जानकारी लिइने सभापति केसीको भनाइ छ ।

‘खड्कवार–घुइयाबारी जोड्ने सडकको बीपी कोइरालाले शिलान्यासको तयारी गरेका थिए । तत्कालीन अवस्थामै बजेटसमेत विनियोजन भएको थियो । संसदमा समेत उनले सडक निर्माण गर्ने तयारी भएको बताइसकेका थिए । त्यहीबेला राजा महेन्द्रले विसं २०१७ साल पुस १ गते ‘कु’ गरेसँगै सडक निर्माणको काम अलपत्र परेको हो,’ सभापति केसीले भने ।

पदयात्रामा कांग्रेसको सयदिने केन्द्रीय अभियानका बाँके जिल्ला प्रतिनिधि केन्द्रीय सदस्य कृष्णकिशोर शर्मासहितको टोली सहभागी छ । पदयात्रा शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने पनि उपस्थित थिए । उनले जनता–कांग्रेस नेता जोड्ने अभियानअन्तर्गत पदयात्रा सुरु गरिएको बताए । पदयात्राले खड्कवार–घुइयाबारी सडक निर्माणमा दबाब सिर्जना गर्ने मन्त्री न्यौापानेले बताएका थिए ।

‘अहिले नेपाली कांग्रेस केन्द्र र प्रदेश सरकारमा छ । हामीले जनताका आवश्यकतालाई ध्यान दिन जरुरी छ । हाल सञ्चालन भइरहेको अभियान पनि जनतासँग प्रत्यक्ष रूपमा जोडिनको लागि हो । त्यसैले पदयात्रा पनि सफल हुने विश्वास छ,’ उनले भने ।

पदयात्रामा ३० जनाको टोली सहभागी हुुनेछ । कांग्रेसको सयदिने केन्द्रीय अभियानका बाँके जिल्ला प्रतिनिधि शर्मा, बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल, बाँके सचिव सुधांशु कोइरालालगायत करिब ३० जना नेता कार्यकर्ताहरू सहभागी भएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार