धेरै राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन गरेको नेपालगन्ज क्रिकेट मैदानविहीन छ । खेलाडीहरू अभ्यास गर्ने मैदानका लागि भौँतारिइरहेका छन् । खेलाडीहरूले अभ्यास गर्न खाली स्थानका मालिक तथा संस्थाहरूलाई हारगुहार गर्नुपरिरहेको छ । तर सरोकारवाला निकाय भने उदासीन देखिएका छन् ।
समीर अली बेहना । नेपालगन्ज (बाँके) ।
बाँके जिल्ला क्रिकेट टिमका क्याप्टेन हुुन्, सिद्धान्तराज शाही । उनले क्रिकेट खेल्न थालेको १६ वर्ष पुुग्यो । यसबीच उनले धेरै ठाउँमा गएर क्रिकेट खेले । आफ्नै जिल्लामा भने उपयुुक्त क्रिकेट मैदान नहुुँदा समस्या भएको उनी बताउँछन् । क्रिकेट यात्राको १६ वर्षमा उनले अनेकन समस्या भोगेका छन् । ती भोगाइ र दुःखका अनेक फेहेरिस्त छन्, उनीसँग ।
शाहीलाई क्रिकेट मैदान नभएकै कारण बाँके जिल्लाले क्रिकेटमा पछि परेको लाग्छ । जिल्लामा राम्रा प्रतिभा अवसर नपाएर गुुमनाम अवस्थामा रहेको भन्दै उनले बाँकेमा सुुविधासम्पन्न मैदानको आवश्यकता रहेको औँल्याए । ‘मलाई लाग्छ आठ दश वर्षयता बाँके जिल्लाको क्रिकेट अन्य जिल्लाभन्दा धेरै पछाडि परिसकेको छ । किनभने हामीसँग खेल मैदान छैन,’ शाहीले भने ।
शाहीले यु–१७, यु–१९ हुँदै क्रिकेट खेल्दै आएका हुुन् । उनले राष्ट्रियस्तरको खेलसमेत खेलिसकेका छन् । १० वर्षदेखि निरन्तर लुम्बिनी प्रदेश क्रिकेट टोलीको खेलाडी भएर खेलिरहेका शाही आफ्ना अग्रजहरू नै प्रेरणाका स्रोत भएको बताउँछन् । आफूले सिनियर शाहिद रजा, शिद्धान्सु पाण्डे, ईक्रम सिद्दिकीलगायतसँग पनि क्रिकेट खेलेको बताए ।
अर्का क्रिकेट खेलाडी विशाल पाण्डेको भोगाइ पनि सिद्धान्तभन्दा फरक छैन । पाण्डे भन्छन्, ‘पछिल्लो दशकमा बाँकेमा क्रिकेट खेलाडीहरूका लागि एकदम कठिन छ । हामीले क्रिकेट खेल्नका लागि जति जोसजाँगर देखाए पनि मैदान नहुँदा व्यर्थ नै छ । क्रिकेट खेलमा राम्रो इतिहास भएको नेपालगन्जमा नै अभ्यास गर्ने मैदानसमेत नहुनु दुर्भाग्यकै कुरो हो ।’
धेरै राष्ट्रियस्तरका क्रिकेट खेलाडीहरू उत्पादन गरेको नेपालगन्ज क्रिकेट मैदानविहीन छ । खेलाडीहरू अभ्यास गर्ने मैदानका लागि भौँतारिइरहेको अवस्था रहेको उनले बताए । क्रिकेट खेलाडीहरू अभ्यास गर्न खाली स्थानका मालिक तथा संस्थाहरूलाई हारगुहार गरिरहेका छन् ।
नेपालगन्जमा रमाइलोको रूपमा आयोजना हुने रात्रिकालीन क्रिकेट प्रतियोगितामा दर्शकको उपस्थितिले क्रिकेट पारखीहरूको ठूलो सङ्ख्या रहेको देखाउँछ । तर, यही सहरमा अभ्यास गर्नका लागि एउटा गतिलो क्रिकेट मैदान नहुँदा खेलाडीहरूको प्रतिभा निखारिन पाएको छैन । खेलाडी शाहीका अनुसार पछिल्लो एक दशकयता बाँकेमा नयाँ खेलाडी उत्पादन भइरहेका छैनन् ।
सन् २००७ मा नेपाली महिला क्रिकेट टिम मलेसिया जाँदा उक्त टिममा बाँकेबाट नेरी थापा, ममता थापा, सीता राना, बिनु बुढामगर, केसरी चौधरी, तृष्णा सिंह र मनीषा रावल गरी सात जना थिए । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान भइसकेका एलबी क्षेत्री बाँकेकै हुुन् । नेपाली महिला क्रिकेट टिमका पहिलो कप्तान नेरी थापा बाँकेकै उत्पादन हुन् । यसले पनि बाँकेको क्रिकेट इतिहास कति समृद्ध छ भन्ने देखाउँछ । तर, त्यसको लाभ लिने र नयाँ पुस्तका खेलाडीहरु जन्माउने माध्यम क्रिकेट मैदान नै हो ।
तर, अहिले खेलाडीहरू कहिले सरकारी, कहिले गैरसरकारी विद्यालयको मैदानमा पीच बनाएर अभ्यास गरिरहेको बताउँछन् । नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको मैदान धेरै राष्ट्रिय स्तरका खेलाडीहरूले अभ्यास गरेको र खेलाडीहरू उत्पादन गरेको मैदान हो ।
तर, पछिल्लो समय उक्त मैदानमा खुला रूपमा प्रयोग गर्न दिँदा पठनपाठन नै प्रभावित हुन थालेको भन्दै विद्यालयले अभ्यास गर्न बन्देज लगाएको छ । क्रिकेट खेलाडीलाई मात्रै भनेर खेल्न खुला गर्दा उच्छृङ्खल व्यक्तिहरूसमेतको प्रवेशले विद्यालयको सम्पत्तिमा क्षति पु¥याउनेदेखि दिनभर विद्यालयको पठन–पाठन प्रभावित हुने गरेकाले त्यस्तो अभ्यास बन्द गरिएको विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले जानकारी दिइन् ।
सुरुमा टण्डन राइस मिलको हाताभित्र र क्षेत्रीय विद्युत् प्राधिकरण नेपालगन्ज नजिकै रहेको एक व्यक्तिको जमिनमा खेल्ने गरिएकोमा ती सबै खाली ठाउँहरू अहिले उनीहरूका लागि बन्द छन् । सार्वनजिक स्थल र एमपी स्कुूलको मैदानमा पनि खेल्न नपाएपछि अहिले खेलाडीहरू खाली ठाउँ खोज्दै हिँड्नुपरेको गुनासो पोख्छन् ।
उनीहरूका अनुसार कहिले राँझा एअरपोर्ट पछाडि व्यक्तिगत जमिन, कहिले तेलियन पुर्वाको जंगलको भित्र त कहिले कारकाँदोको विशाल चोकस्थित व्यक्तिगत जमिनलाई पीच बनाएर अभ्यास गर्दै आएका छन् । ती मैदानहरू अभ्यासका लागि उपयुक्त नभए पनि बाध्यता टार्नुपरेको खेलाडीहरूको भनाइ छ ।
नेपालगन्ज रंगशालामा मौसमी प्रतियोगिता
अहिले नेपालगन्जमा क्रिकेट प्रतियोगिताका नाममा कहिलेकाहीँ हुने रात्रि क्रिकेट र वर्षमा एकपटक हुने मेयर कप मात्रै हुन् । जहाँ स्थानीय खेलाडीहरू मात्र सहभागी हुने गरेका छन् । खेलाडी शाही भन्छन्, ‘जबकि हामीलाई राम्रो लेबलको प्रतिस्पर्धी भयो भने सिक्न पाइन्छ । ग्रास लेबलको टुर्नामेन्टहरू पनि धेरै छैनन् । अहिले नेपालले क्रिकेटमा धेरै प्रगति गरिरहेको बेला बाँके चाहिँ धेरै पछाडि परेको छ ।’
कोहलपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने योजना त छ । तर त्योभन्दा पहिले नै निर्माण सुरु भएका मैदानहरू कहिले निर्माण पूरा भइसक्छन् भन्ने ठेगान नभएका बेला कोहलपुरको क्रिकेट मैदान चाँडै बन्छ भन्नेमा खेलाडीहरू विश्वस्त छैनन् ।
‘उक्त निर्माणाधीन मैदानमा अभ्यास गर्नुप¥यो भने एक त अस्तव्यस्त अवस्थामा छ, अर्काेतिर नेपालगन्जबाट टाढा छ,’ शाहीले भने । करिब एक महिना अगाडि लुम्बिनी प्रदेशबाट राष्ट्रिय यु–१९ खेलेर आएका बालेगाउँ निवासी १९ वर्षीय युवा खेलाडी शहजाद बागवानले भने, ‘हामी नेपालगन्जबाट प्रत्येक दिन अभ्यास गर्न कोहलपुर जान सक्ने अवस्था पनि हुँदैन ।’
खेलाडी पाण्डे नेपालको दुर्गम मानिने क्षेत्रमा समेत क्रिकेटको क्रेज बढेको अवस्थामा सहरी क्षेत्रमा क्रिकेटप्रति रुचि राख्ने बालबालिकाहरू धेरै रहेको बताउँछन् । भेरी रोकर्स एकेडेमीमा अध्यक्ष एवम् क्रिकेट खेलाडी मोहम्मद शाजिद खान क्रिकेट मैदानका विषयमा बारम्बार स्थानीय सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिकाको अघिल्ला जनप्रतिनिधिको कार्यकालमा नेपालगन्ज वडा नम्बर ६ मा रहेको फुल्टेक्रा ताल पटान गरी मैदान बनाउने योजना बनाएको थियो । तर, त्यहाँका स्थानीयले ताल पटान गर्न नहुने भनेर विरोध गर्दै अदालतमा मुद्दा दायर गरे ।
अदालतले ताल यथाअवस्थामा छोड्न आदेश दियो । पूर्व उपमेयर उमा थापामगर भने अदालतले संघीय सरकारको अनुमति लिएर आएमा मैदान बनाउन सकिने भनेकाले अहिलेको स्थानीय सरकारले त्यसलाई अघि बढाउनुपर्ने बताउँछिन् ।









प्रतिक्रिया दिनुहोस्