कोहलपुर (बाँके) ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेले महासंघका सदस्यहरूलाई अनिवार्य रूपमा मिडिया आबद्ध भएर मात्रै सञ्चार कर्म आह्वान गरेको छ । मंसिर २८ गतेसम्म निर्वाचनमार्फत निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट बाँके शाखाले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका साथै सम्पूर्ण साधारण सदस्यहरूलाई अनिवार्यरूपमा मिडिया आबद्धता कायम गरी सञ्चार कर्म गर्न आह्वान गरेको हो ।
पहिलो बैठकपश्चात बाँके शाखाका सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तिमा पत्रकार आचारसंहिताको पूर्णपालना गरेर जिम्मेवार पत्रकारिताका लागि आग्रह गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । मंगलबार बसेको पहिलो बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।
सचिव ओलीले मंसिर २८ गतेको महासंघको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, सम्पूर्ण सदस्य (मतदाता), निवर्तमान कार्यसमितिलगायत सबै सरोकारवालालाई धन्यवाद व्यक्त गर्ने निर्णय गरिएको बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेले सल्लाहकारमा निवर्तमान अध्यक्ष दामोदर भण्डारी र अध्यक्ष पदका निकटतम् प्रतिद्वन्द्वी प्रदीप वाग्लेलाई सल्लाहकार मनोनीत गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
यस्तै पहिलो बैठकमा उपस्थित पूर्वअध्यक्षहरूबाट प्राप्त सुझाव, मार्गनिर्देशन र पृष्ठपोषणहरूलाई शिरोपर गरी शाखाको संस्थागत विकास तथा पत्रकारहरूको हकहित र व्यावसायिक सुरक्षाका लागि दृढ संकल्पित भएर काम गर्ने निर्णय गरिएको सचिव ओलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्