श्यामलाल पोखरेल । बुटवल ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही पुस ३ गतदेखि बुटवलमा औद्योगिक व्यापार मेलामा लागेको छ । ‘लगानी लुम्बिनीमा समृद्धि देशमा’ भन्ने मूल नाराका साथ जारी मेला १८ गतेसम्म चल्नेछ । बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलामा विभिन्न क्षेत्रका ५ सय स्टल रहेका छन् । तीमध्ये भाँगोको तेल पाइने स्टलमा दर्शक तथा उपभोक्ताको आकर्षण बढ्दो छ ।
यस क्षेत्रका दर्शक तथा उपभोक्ताका लागि भाँगोको तेल नौलो भएकाले पनि उक्त स्टलमा उपभोक्ताको भीडभाड लाग्ने गरेको छ । युरिक एसिड, वाथ रोग, टाइफाइड तथा चिसोबाट बच्नका लाािग भाँगोको तेल उपयोगी मानिन्छ ।
रुकुम पूर्वको भुमे गाउँपालिका–३ मा सञ्चालित मारिम बहुउद्देश्यीय सहकारीले बहुउपयोगी मानिने भाँगोको तेल उत्पादन गरी बुटवलको मेलामा बिक्री गरिरहेको छ । भाँगोको तेलमा औषधीजन्य गुण रहेकाले भाँगोको तेल सबैका लागि उपयोगी हुने मेला अवलोकनकर्ता एकादेव रिजालले बताए ।
किसानले उत्पादन गरेको भाँगो सहकारीले कृषि उपज तथा प्रशोधित बस्तुहरूको बिक्रीवितरणका लागि बुटवलमा जारी औद्योगिक व्यापार मेलामा स्टल नम्बर २ य ४४ मा राखेको छ । सहकारीले किसानसँग उत्पादन गरेका कृषि उपजसहित प्रशोधित सामग्रीको बिक्री गरिरहेको सहकारीका कर्मचारी हरिप्रसाद रोकाले जानकारी दिए ।
मारिम बहुउद्देश्यीय सहकारीले औषधीजन्य गुण भएको भाँगोको तेल, राडीपाखी, अल्लोका कपडाहरू बिक्री गर्दै आएको छ । सहकारीले भुमे गाउँपालिकाका ९ वटै वडा र आसपासका क्षेत्रमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु खरिद गरी प्रशोधन गरेर बिक्री गर्दै आएको छ ।
सहकारीले प्रशोधन गरेका कृषि उपज र अल्लोका कपडाहरूको बिक्रीका लागि बजारको खोजीमा रहेको सहकारीका कर्मचारी हरिप्रसाद रोकाले बताए ।
सहकारीलाई लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले तेल निकाल्ने मिल र अल्लोका कपडा बनाउने मेसिन खरिदमा अनुदान दिएको छ । कृषि क्षेत्रमा काम गर्दै आएका सहकारीहरूलाई भने प्रदेश र स्थानीय सरकारले दिएको यो अनुदान पर्याप्त नभएको मेला अअवलोकनकर्ता भूमि ढकालले बताए ।
कृषि क्षेत्रमा काम गर्दै आएको सहकारीले स्थानीय किसानको मन जितेर किसानले उत्पादन गरेका कृषि उत्पादन खरिद गरी संगलन गरेर प्रशोधन गरी बिक्री गर्दै आएपछि पूर्वी रुकुमका किसानहरू कृषिप्रति थग आकर्षित बनेका छन् ।
स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई प्रभाव पार्ने गरी आयोजना गरिएको मेलामा ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड आर्थिक कारोबार हुने आयोजकहरूले अपेक्षा गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्