कोहलपुर– २ मा विद्यालयस्तरीय छात्रा सीप विकास तालिम सुरु



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका–२ मा सामुदायिक विद्यालयस्तरीय छात्रा सीप विकास तालिम सुरु भएको छ । कविराज फाउन्डेसन नेपालको आयोजनामा सामुदायिक विद्यालयस्तरीय छात्रा सीप विकास तालिम सुरु भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने तालिमको लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्घाटन गरे । उद्घाटन सत्रमा बोल्दै मन्त्री न्यौपानेले सामुदायिक विद्यालय शिक्षालाई प्रयोगात्मक बनाउन आवश्यक रहेकोमा जोड दिए । उनका अनुसार सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने अवस्थामा छ । संस्थागत विद्यालयप्रति आकर्षण बढ्दो छ ।

त्यसैले सामुदायिक विद्यालयमा सीपयुक्त बनाउन आवश्यक रहेकोमा मन्त्री न्यौपानेको जोड थियो । शिक्षा आफ्नो मन्त्रालयमातहत नभए पनि शिक्षा क्षेत्रको विकासका लागि व्यक्तिगत रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘कोहलपुरमा पर्यटन विकासको सम्भावना छ । यस क्षेत्रलाई औद्योगिकीरण गर्न आवश्यक छ । प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गर्न तयार छ,’ मन्त्री न्यौपानेले भने । तालिम उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले विद्यार्थीहरूलाई सीपयुक्त बनाउने अहिलेको आवश्यकता रहेको बताए ।

यस्तै, कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले प्रयोगात्मक शिक्षाका लागि पालिका वडाहरूलाई सहयोग गर्न तयार रहेको बताए । उनले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गर्न नीतिगत रूपमै अघि बढ्न आवश्यक रहेको बताए । कोहलपुर नगरपालिका–२ का वडाध्यक्ष हरि कठायतले विद्यालयमा अध्ययनरत छात्राहरूलाई सीपयुक्त बनाउने उद्देश्यले तालिम सञ्चालनका लागि सहयोग गरिएको बताए ।

कोहलपुर नगरपालिका–२ मा तीन वटा सामुदायिक विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छात्राहरूलाई विभिन्न सीप सिकाइएको उनले बताए । आयोजक कविराज फाउन्डेसन नेपालका अध्यक्ष मानबहादुर शाहीले तालिम ५ दिनसम्म सञ्चालन हुने जानकारी दिए ।

तालिममा शिवशक्ति प्रावि र मुक्ति प्राविका छात्रा सहभागी छन् । दुई वटा विद्यालय गरेर तालिममा एक सय विद्यार्थीको सहभागिता रहेको छ । तालिमका लागि आर्थिक सहयोग कोहलपुर नगरपालिका–२ ले गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार