भेरीगंगामा प्रादेशिक सरुवा रोग अस्पताल बन्दै



सुर्खेत ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । भेरीगंगा नगरपालिका–१२ मा निर्माण हुन लागेको ५० शड्ढयाको कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको भवन शिलान्यास गरिएको हो ।

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बुधबार एक औपचारिक कार्यक्रमका बीच अस्पतालको भवन शिलान्यास गरेका हुन् । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतका अनुसार एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो ।

भवन निर्माणका लागि संघीय अर्थ मन्त्रालयले ५० करोड स्रोत सुनिश्चितता गरेपछि बहुवर्षीय ठेक्का सहमति भएको छ । सहरी विकास तथा भवन निर्माण विभागबाट ४१ करोड १५ लाख ४६ हजारमा ठेक्का आह्वान भएकोमा ३१ करोड २१ लाख ४३ हजारमा भ्याट रकमसहित ठेक्का सम्झौता भएको छ ।

२०८१/०४/१३ गते निर्माण व्यवसायी चक्रेश्वरी÷कुशेश्वर सिएलजेभी काठमाडौँले सम्झौता गरेको हो । निर्माण व्यवसायी जयराम घलेले ठेक्का लिएको यो अस्पताल भवन २०८३/०४/१२ गतेभित्र निर्माण भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । ठेक्का सम्झौतापछि २०८१/०७/०६ मा १ करोड ३५ लाख (५%) मोबिलाइजेसन पेस्की रकम भुक्तानी गरिएको छ ।

प्रादेशिक सरुवा रोग अस्पताल भवनको लम्बाइ ५२.६ मिटर र चौडाइ २२.५ मिटर हुनेछ भने भवन तीन तलाको बन्नेछ । पहिलो तलामा बिरामी चेकजाँच हुनेछ भने माथिल्लो २ तलामा ५० वटा बेड रहनेछन् । यसबाहेक पार्कीसहितको खाजा घरलगायतका संरचना बन्नेछन् ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काले कर्णालीका १० जिल्लाका नागरिकले अब सहज रूपमा उपचार पाउने दाबी गरे । अस्पताल निर्माणपछि सरुवारोग उपचारका लागि बाह्य प्रदेश जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

सस्तो र सहज रूपमा कर्णालीका नागरिकले कर्णालीमै उपचार पाउने उनले बताए । ‘प्राविधिक कारणले काम सुरु गर्न ढिलाइ भएको थियो । अब समयमै काम सक्नेगरी निर्माण सुरु भएको छ,’ उनले भने, ‘दुई वर्षमा सम्पन्न हुनुपर्ने मेहलकुना अस्पताल भवन पाँच वर्षसम्म पनि बनेन । त्यसैले यो सरुवा रोग अस्पताल निर्माणमा पनि ढिलाइ गर्न हँुदैन ।’

अस्पताल निर्माणका लागि बजेटको कमी हुन नदिने र भुक्तानीमा ढिलाइ हुन नदिने भन्दै ठेकेदारलाई रफ्तारमा काम गर्न उनले आग्रह गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार