बाँके ।
नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई नेपाली कांग्रेस बाँके र अनलाइन पत्रकार संघ नेपालगन्ज, बाँकेले बधाई ज्ञापन गर्दै सम्मान गरेका छन् । गत शुक्रबार सम्पन्न निर्वाचनबाट केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित भएकाहरूलाई सोमबार कांग्रेस बाँके र अनलाइन पत्रकार संघले अबिर, माला र खादा लगाई सम्मान गरेका हुन् ।
कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला उपसभापति कृष्णबहादुर कार्की, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेनुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, नेतृ उमा थापा मगरलगायतले अबिर, माला र खादा लगाई सम्मान गरेका थिए ।
उनीहरूले स्थानीय सरकारहरूले गरेका राम्रा कामहरूको बारेमा पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिए । कांग्रेस पत्रकारहरूसँग सँगसँगै रहेको भन्दै आफ्नो पार्टीका बारेमा पनि स्वस्थ आलोचना गर्न नेताहरूले आग्रह गरे ।
यस्तै, अनलाइन पत्रकार संघले समेत नयाँ कार्यसमितिलाई आगामी कार्यकालको सफलताको कामना गर्दै सम्मान गरेको छ । संघका अध्यक्ष न्यौपानेले महासंघका अध्यक्ष गिरीसहितको नवनिर्वाचित टीमलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
संघका अध्यक्ष न्यौपानेले पत्रकार महासंघ बाँकेलाई चलायमान बनाउँदै नयाँ नेतृत्व पत्रकारको हक–अधिकार संरक्षणसँगै सुरक्षा र लेखनशैलीमा क्षमताबृद्धिका लागि गम्भीर भएर लाग्नुपर्ने बताए । महासंघले आस्था र विचारका आधारमा कसैलाई पनि विभेद गर्न नहुने र श्रमजीवी पत्रकारका पक्षमा आवाज उठाउन सक्नुपर्ने उनले सुझाव दिए ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित अध्यक्ष नवीन गिरीले पत्रकारको हकहित संरक्षण र व्यावसायिक सुरक्षामा खरो उत्रिने बताए । नयाँ पत्रकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने बताउँदै उनले नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्न विशेष ध्यान दिने उल्लेख गरे । उनले पत्रकारिता कर्मलाई सबै पत्रकारले इमान्दारपूर्वक निभाउनुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्