अपांगता भएकाहरूको सेवा लिन असहज भएको गुनासो



समीर अलि बेहना ।नेपालगन्ज (बाँके) ।

अपांगता भएका व्यक्तिहरूले सांकेतिक भाषा सहजकर्ता नहुँदा सरकारी कार्यलयहरूबाट आफूहरूलाई सेवा लिन गाह्रो भएको बताएका छन् । मंगलबार ३३औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा नेपालगन्जमा आयोजित संवाद कार्यक्रममा सहभागी वक्ताहरूले जुनसुकै कार्यालयमा सेवा लिन जाँदा आफ्नो समस्या बुझाउन गाह्रो भएको बताएका हुन् ।

अपांगता भएका व्यक्तिहरूले स्थानीय सरकारले अपांगतामैत्री कार्यालय भवनहरू बनाउन नसकेकोले आफुहरूलाई कार्यालय छिर्न गाह्रो भएको जिकिर समेत गरे । नेपालगन्ज उपमहानगरपालिकाले लिफ्ट सेवा ल्याए पनि महिनौँदेखि सञ्चालनमा नरहेको टंकबहादुर थापाले बताए । अपांगता भएका व्यक्तिहरूका लागि बनाइएको लिफ्ट सञ्चालनमा नहुँदा हामीलाई कार्यालय तलमाथि आउनजान गाह्रो भएको छ,’ उनले भने ।

अपांगता भएका एक अर्का व्यक्तिले अहिलेको अवस्थामा राज्यले अपांगता भएका व्यक्तिहरूले समावेशताको आभाष गराउन नसकेको बताए । आफूहरूलाई कृत्रिम हातखुट्टाका लागि हामी बाहिरी देशमा जानुपर्ने बाध्यता भएको उनले दाबी गरे । नेपालगन्जस्थित भेरी अस्पतालमा समेत अपांगता भएकाहरूलाई विशेष प्राथमिकता दिने नगरिएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए ।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ डेक नेपालको आयोजनामा अपांगता भएका व्यक्तिहरूको समस्या र समाधानका विषयकेन्द्रित कार्यक्रम आयोजना गरिएको थियो ।

भेरी अस्पतालका मेसु निरञ्जन सुवेदीले अस्पतालले अपांगता भएका व्यक्तिहरूका लागि विशेष सुविधा दिने गरेको दाबी गरे ।

‘भेरी अस्पतालमा अपांगता भएका व्यक्तिहरूका लागि अलग लाइन लाग्ने र अरूभन्दा छिटो काम हुने गरेको छ । थप सुविधा प्रदान गर्न अस्पतालले पहल गरिरहेको छ,’ उनले भने । सांकेतिक भाषा सहजकर्ता नभएर अपांगता भएका व्यक्तिहरूलाई असहज भएको आफूहरूले पनि महसुस गरेको बताउँदै सुवेदीले त्यसका लागि समाधानका बाटोहरू खोजिने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले सभालाई कार्यालयमा सञ्चालनमा ल्याएको लिफ्ट पर्याप्त विद्युत आपूर्ति हुन नसकेकाले बन्द भएको जानकारी दिए । ‘हामीले विद्युत् प्राधिकरणलाई पत्राचार गरिसकेका छौँ । केही समयभित्र लिफ्ट पुनः सञ्चालनमा आउनेछ,’ उनले भने ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार