खजुरा ।
खजुरा गाउँपालिकाका वडाहरूमा निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । गाउँपालिकाअन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा विभिन्न वडामा शिविर भइरहेको हो ।
नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगञ्ज र रुइत फाउन्डेसन काठमाडौँको सहकार्यमा शुुक्रबार र शनिबार वडा नम्बर १ र २ मा निःशुल्क आँखा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
वडा नम्बर १ स्थित राधापुर र वडा नम्बर २ स्थित सीतापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ३ सय ५१ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । राधापुर स्वास्थ्य चौकीमा १ सय ३६ जनाले आँखा परीक्षण गरेका थिए । राधापुरमा स्वास्थ्य जाँच गरिएकामध्ये २५ जनामा मोतिया बिन्दु पत्ता लागेको थियो ।
वडा नम्बर २ स्थित सीतापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा २ सय १५ जनाको परीक्षण गरिएको नेत्र अधिकृत छन्दुलाल थारूले जानकारी दिए । उनका अनुसार वडा नम्बर २ मा ४८ जनामा मोतिबिन्दु रहेको पाइएको थियो । वडा नम्बर १ र २ मा कुल ७३ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ ।
शिविरमा निःशुल्क चेकजाँचसँगै निःशुल्क औषधिसमेत वितरण गरिएको उनले बताए । मोतियाबिन्दुको समस्या देखिएका र आर्थिक अवस्था नाजुक भएकाहरूको मोतिया बिन्दुको निःशुल्क शल्याक्रिया गरिनेछ ।
मोतिया बिन्दुको समस्या देखिएका बिरामीहरूको निःशुल्क आँखाको शल्याक्रियाका लागि रिफर गरिएको छ । सोमबार वडा नम्बर ३ र ४ मा निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्