प्रकृतिले सधैँ दिन जानेको हुन्छ, त्यसबापत हामीबाट अपेक्षा भने केही गर्दैन । प्रकृतिले हामीलाई स्वच्छ वायु दिन्छ, पानी दिन्छ, घाम दिन्छ, उज्यालो दिन्छ । प्रकृतिप्रदत्त जमिनले हामीलाई उत्पादन दिन्छ । प्रकृतिले हामीलाई खानेकुरा दिन्छ । प्रकृतिमा पहाड छ, जङ्गल छ, नदी छ । खोलानाला, छहरा, ताल, समुद्र र महासागरहरू छन् । प्रकृतिमै विभिन्न जनावर र पशुपन्छी छन् । यी सबैले हामीलाई जिउनमा सहयोग गरिरहेका छन् । हामीले पनि प्रकृतिप्रदत्त उल्लिखित चिजहरूबाट सिक्नुपथ्र्यो कि हामीले पनि अरूलाई दिनुपर्छ । हामीले दिन त सिक्यौँ तर चाहिने कुरा होइन नचाहिने कुरा । हामीले अरूलाई खुसी, शान्ति र समृद्धि होइन कि दुःख, पीडा, अभाव, तनाव र हैरानी दिन सिक्यौँ ।
जीतबहादुर शाह
घटना बुद्धकालीन समयको हो । स्कुले उमेरका बालबालिकाले आँपको रूखमा आँप पाकेको देखेछन् । ढुङ्गाले हिर्काएछन् । आँप झरेछ । आँप टिप्न जाने क्रममा आँपको रूखमुनि बसिरहेका एक जना मानिसलाई देखेछन् जसको खुट्टाबाट बालबालिकाले आँपलाई हिर्काएको ढुङ्गा लागेर रगत बगिरहेको थियो । त्यो देखेर बालबालिका डराएछन् । ती मानिसले आफूहरूलाई अब के गर्ने हुन् भनेर उनीहरू त्रसित भएछन् । डराएर भाग्नुभन्दा उनीसमक्ष गएर माफी माग्ने निधो गरेछन् । ‘हामीले आँप झार्न खोज्दा हामीले आँपलाई हिर्काएको ढुङ्गा लागेर हजुरलाई खुट्टामा चोट लाग्यो । हामीले अन्जानमा गरेको गल्तीका निम्ति एकपटकलाई माफी दिनुहोस् हजुर ।’
उनीहरूले रुञ्चे स्वरमा डरले थरथर काँप्दै माफी मागेको देख्दा ती मानिसले भनेछन्– ‘प्यारा नानीबाबूहरू मसँग डराउनु पर्दैन । माफी पनि माग्नु पर्दैन । त्यही ढुङ्गाले आँपको रूखलाई हिर्काउँदा आँपको रूखले तिमीलाई पाकेको आँप दियो । त्यही ढुङ्गाले मलाई लाग्दा मैले तिमीहरूलाई केही दिन सकिनँ । म लज्जित छु । बरु माफी म माग्छु तिमीहरूसँग ।’ बालबालिकासँग माफी माग्न खोज्ने ती मानिस अरू कोही नभएर गौतम बुद्ध थिए ।
बीबीसी न्युजका अनुसार पृथ्वीमा दशदेखि तेह्र हजार प्रजातिका चराहरूको कुल जनसङ्ख्या दुई सयदेखि चार सय अर्बसम्म रहेको अनुमान छ । चराहरू जुन प्रजातिका र जति भए पनि तिनीहरू सबैको स्वभाव मिल्दोजुल्दो हुन्छ । चराहरू रातिमा खाँदैनन् । उनीहरूले पाइयो भन्दैमा धेरै पनि खाँदैनन् । जतिसुकै अनाज वा अन्य कुरा भेटियो भने पनि अलिकति खाएपछि उडेर जान्छन् ।
बढी लोभ गर्दैनन् । राति घुमफिर गर्दैनन् । आफ्ना बच्चालाई बढी माया गर्छन् । आफ्ना बच्चालाई सही समयमै सही कुरा सिकाउँछन् । रात परेपछि सुत्छन् । रातमा बाहेक दिउँसोमा सुत्दैनन् । बिहान सबेरै गाउँदै ब्युझिन्छन् । आफ्नो शरीरले सकेको काम गर्छन् । आफ्नो आहार कहिल्यै परिवर्तन गर्दैनन् । उनीहरू आफ्नो गुँड आफैँले बनाउँछन् । प्रजाति अनुसार उनीहरूले बनाउने गुड सुन्दर र कलात्मक हुने गर्दछन् ।
चराहरूको जस्तै स्वभाव हाम्रो पनि भएको भए अथवा चराहरूलाई गुरु मानेर हामीले पनि उनीहरूबाट सिकेको भए हाम्रो पनि खाना खाने ठीक समय हुन्थ्यो होला ! भोक लाग्यो भन्दैमा सुतेको समयमा राति उठेर खाइँदैनथ्यो होला ! हामीलाई मन परेको खानेकुरा भेटियो भने पनि आवश्यकताभन्दा बढी नखाई ठिक्क खाएर रोगी र अस्वस्थ हुनबाट जोगिन्थ्यौँ होला ! हाम्रो सुत्ने समय पनि राति मात्र हुन्थ्यो होला ! काम प¥यो भन्दैमा राति पनि नसुत्ने र काम छैन भन्दैमा दिउँसो पनि सुत्ने हाम्रो अस्तव्यस्त स्वभाव हुँदैनथ्यो होला ! आफ्नो दुई वर्ष पनि नपुगेको बच्चालाई अर्काको जिम्मा लगाएर आफू अन्यत्रै पनि लाग्दैनथ्यौँ होला ! पाइयो भन्दैमा जे पनि र जति पनि हसुर्ने बानी पनि हाम्रो हुँदैनथ्यो होला !
सन्तानलाई ठिक समयमा उपयुक्त सीप सिकाएर ऊ आत्मनिर्भर भएपछि मात्रै आपूmले उसलाई स्वतन्त्र छोड्थ्यौँ होला ! हामी पनि बिहान सबेरै गीत गुनगुनाउँदै उठ्थ्यौँ होला ! साँच्चिकै मानिसको जीवन पनि चराहरूको जीवनजस्तै व्यवस्थित, अनुशासित, कर्तव्यनिष्ठ, संयमित, समयनिष्ठ र चरित्रवान भइदिएको भए हामी पनि चराहरूजस्तै स्वस्थ र खुसी हुन्थ्यौँ होला !
पानीको मुहान, पँधेरा, खोला, नदी, सागर र महासागरबीचको सहकार्य देख्दा पनि अचम्मै लाग्छ । पानीको मुहानबाट पँधेराहरूको निर्माण हुन्छ, पँधेराहरू मिलेर खोला बन्छ, खोलाहरू मिलेर नदी बन्छ, नदीहरू मिलेर सागर बन्छ र सागरहरू मिलेर महासागरको निर्माण हुन्छ । मुहानको पानी धमिलो–सङ्लो, फोहोर–स्वच्छ जेजस्तो भए पनि महासागरसम्म पुग्दा सबै अन्तरघुलन भई छुट्याउन नमिल्ने गरी एकैनासे हुन्छ । महासागरले सागरहरूलाई आफ्नो सम्झेर आफूमा समाहित गर्छ ।
त्यसरी नै सागरले नदीहरूलाई, नदीले खोलाहरूलाई र खोलाले मुहान र पँधेराहरूलाई आफ्नो सम्झेर आफूमा समाहित गर्छन् । कसैले कसैलाई अपमान गरेको आभास हुँदैन, सधैँ सबैतिर सम्मान र सामिप्यताले घर गरेको हुन्छ । मान्छेको बस्तीतिर फर्किंदा भने त्यस्तो सम्मान र त्यस्तो सामिप्यता पाउन कठिन छ । परिवार र गाउँटोल, वडा, पालिका, जिल्ला, प्रदेश, मुलुक र विश्वस्तरको सम्बन्धमा भाँजा फाटेको अवस्था छ । प्रकृतिबाट सिकेको भए त्यस्तो नभई जस्तो सम्बन्ध मुहानदेखि महासागरसम्म छ त्यस्तै सुमधुर सम्बन्ध गाउँटोलदेखि विश्वसम्म पनि हुन्थ्यो होला ! जहाँको नागरिक भए पनि विश्वभर नै आफन्तको रूपमा पहिचान बन्थ्यो होला, जसरी मुहान, पँधेरा, खोला, नदी र सागरहरूलाई महासागरले आफ्नो सम्झन्छ ।
प्राकृतिक भूगोलको हिसाबले हिमाल पृथ्वीको सबैभन्दा अग्लो भूभाग हो । यो सेतो र चम्किलो हुन्छ । यस्तो लाग्छ हिमाल निर्भिक र शालिन हुन्छ । ब्रम्हा, विष्णु, महेश्वरलाई ध्यान र तपस्याका लागि स्थान दिने हिमाल आफैँमा एउटा त्यागी हो र तपस्वी पनि । हिमाल आफू केही बोल्दैन तथापि नबोले पनि मानिसलाई धेरै कुरा सिकाउँछ । हिमालले मानिसलाई निर्भिकता र शालिनता सिकाउँछ । हिमालले मानिसलाई स्वाभिमान र स्वाधीनता सिकाउँछ । त्यति मात्र नभई हिमालले कसैसामु झुकेर हात पसार्दैन बरु हात पसारेर झुक्नेहरूलाई रित्तो हात फर्काउँदैन । हिमालले पहाड र तराईका लागि ढाल र तरबारको काम गर्छ, जल र जडिबुटी दिन्छ तथापि बदलामा केही खोज्दैन । यस्तो लाग्छ, हिमाल सबैको अभिभावक हो र अगुवा पनि ।
यस्तै कुरा हिमालबाट मानिसहरूले सिकेको भए हाम्रा नेता र अगुवाहरू पनि हिमालजस्तै हुन्थे होला, नागरिकबाट कुनै कुराको आशा नगर्ने, बरु नागरिकहरूलाई जति दिए पनि कहिल्यै नथाक्ने । त्यसको बदलामा सधैँभरि निरन्तर हाँसिरहने र निरन्तर सहयोग गर्न पाएकोमा गर्वको अनुभूति गर्ने । यहाँ त त्यस्तो छैन, नागरिकबाट अगुवा र नेताहरूले पद पाउँछन्, प्रतिष्ठा पाउँछन्, सेवा र सुविधा पनि बग्रेल्ती पाउँछन् तथापि उनीहरूबाट नागरिकले भने आश्वासनबाहेक अरू केही पाउँदैनन् ।
यो धर्तीमा प्रकृतिले अनगिन्ति फूलहरू दिएको छ । फूलहरू पनि ओइलाउँछन्, झर्छन् र मर्छन् पनि । उनीहरू पनि रोगी र बिरामी हुन्छन् । उनीहरू पनि कीरा, फटेङ्ग्रा र झुसिल्किराका सिकार हुन्छन् । फूलका पत्रपत्र प्वाल पारेर कीराहरूले आफ्नो भोक पूरा गर्छन् । तथापि फूलहरू कहिल्यै दुःख र पीडामा देखिँदैनन् । सधैँ मुस्कुराइरहन्छन्, सधैँ हाँसिरहन्छन् । फूलका केही पत्रहरू कीराले प्वाल पारेर खाए पनि फूलका बाँकी पत्रहरूको खुसी र मुस्कानमा कुनै कमी हँुदैन । फूलका केही पत्रहरू ओइलाएर झरे पनि हाँगामा रहेका फूलका बाँकी पत्रहरूको हसिलो जीवनमा कुनै तलमाथि आभास हुँदैन ।
साँच्चि मानिसले फूलबाट यस्तै कुरा सिकेको भए त मानिस पनि कहिल्यै दुःखी हुँदैनथ्यो होला ! डिप्रेसन, एन्जाइटी जस्ता मानसिक कारणले लाग्ने रोगहरू त मानिसलाई देखेर टाढैबाट भाग्थे होला ! मानिसमा नकारात्मक सोचको बिउ त खोजेर पनि भेटिँदैनथ्यो होला ! जसलाई भेटे पनि मानिसहरू मुस्कुराएको, हाँसेको, नाचेको र रमाएको मात्र देखिन्थ्यो होला ! साँच्चि त्यतिबेला दुःख, पीडा, मतभेद, झैझगडा, युद्ध, हिंसा र क्रोधजस्ता नकारात्मक सोचका उत्पादनहरू त मानव बस्तीबाट रातारात सुइँकुच्चा ठोकेर सधैँका लागि भाग्थे होला !
प्रकृतिमा भएका घरपालुवा र जङ्गली जनावरहरू उनीहरूले खाने भोजनको हिसाबले दुई किसिमका छन्– शाकाहारी र मांसाहारी । उनीहरूको शारीरिक बनावट नै त्यही किसिमको हुन्छ । मांसाहारी जनावरहरूका दाँत (दारा) तिखा हुन्छन् भने शाकाहारी जनावरका सामान्य हुन्छन् । त्यसरी नै मांसाहारी जनावरहरूले पानी पिउँदा जिब्रोले ल्याप–ल्याप पारेर पिउने गर्छन् भने शाकाहारी जनावरहरूले घटघटी पिउने गर्छन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि शाकाहारीले मासु खाँदैनन् र मांसाहारीले पनि घाँस खाँदैनन् । हामी मानिसको शरीरको बनावट शाकाहारीसँग मिल्छ र पानी पिउने तरिका पनि ।
मांसाहारी भोजन लिँदा पचाउन अलि असहज हुन्छ भने शाकाहारी भोजन सजिलै पचाउन सकिन्छ । तथापि हामी जिब्रोको दास भएर मांसाहारी भएका छौँ । रोगहरूले पनि शाकाहारीलाई भन्दा पनि मांसाहारी मानिसहरूलाई बढी लखेटेको पाइन्छ । हामी पनि जनावहरूजस्तै अनुशासित भएर शाकाहारी हुन सकेको भए अहिले भन्दा पनि बढी स्वस्थ हुन्थ्यौँ जस्तो लाग्छ । त्योभन्दा पनि ठूलो र महत्त्वपूर्ण कुरा हाम्रो कारणले धेरै जनावरहरू आफ्नो ज्यान व्यर्थैमा गुमाउनबाट जोगिन्थे जस्तो लाग्छ ।
प्रकृतिले सधैँ दिन जानेको हुन्छ त्यसबापत हामीबाट अपेक्षा भने केही गर्दैन । हामीलाई स्वच्छ वायु दिन्छ, जुन वायुबिना एक पल पनि बाँच्न सक्दैनौँ हामी । साँच्चि त्यो वायु प्रकृतिले हामीलाई निःशुल्क नदिएर अन्य सामानहरू खरिद गरेझैँ पैसा तिरेर खरिद गर्नुपर्ने भए हाम्रो अवस्था के हुन्थ्यो होला । प्रकृतिले हामीलाई वायु मात्र नदिएर पानी दिन्छ, घाम दिन्छ, उज्यालो दिन्छ । प्रकृत्तिप्रदत्त जमिनले हामीलाई उत्पादन दिन्छ । प्रकृतिले हामीलाई खानेकुरा दिन्छ । प्रकृतिमा पहाड छ, जङ्गल छ, नदी छ ।
खोलानाला, छहरा, ताल, समुद्र र महासागरहरू छन् । प्रकृतिमै विभिन्न जनावर र पशुपन्छीहरू छन् । यी सबैले हामीलाई जिउनमा सहयोग गरिरहेका छन् । हामीबाट बिना कुनै अपेक्षा हामीलाई निरन्तर दिइरहन्छन् उनीहरू । हामीले पनि प्रकृत्तिप्रदत्त उल्लिखित चिजहरूबाट सिक्नुपथ्र्यो कि हामीले पनि अरूलाई दिनुपर्छ । दिन त सिक्यौँ तर चाहिने कुरा होइन कि नचाहिने कुरा । हामीले अरूलाई खुसी, शान्ति र समृद्धि होइन कि दुःख, पीडा, अभाव, तनाव र हैरानी दिन सिक्यौँ ।
प्रकृतिलाई हामीले लोभपापी भएर अनावश्यक रूपमा दोहन गर्न थाल्यौँ भने प्रकृतिले पनि बाध्य भएर केही प्रतिक्रिया जनाउँछ । हामी जङ्गल फँडानी गर्छौं, उद्योगधन्दा सञ्चालन गरेर वातावरण प्रदूषण गर्छौं, बाटो र सडक निर्माणको नाममा जमिनलाई अनावश्यक रूपमा कटानी गर्छौं । बढी उत्पादन गर्ने नाममा हामीले जमिनमा रासायनिक मल र फलफूल र खाद्यान्न उत्पादनमा विभिन्न रसायनहरूको प्रयोग गर्छौं । यसले गर्दा खडेरी, खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टिले हामीलाई हैरानी दिन्छ । प्रदूषित वायुका कारणले हामी विभिन्न रोगका सिकार हुन्छौँ र स्वच्छ वायुको अभावमा हाम्रो आयु क्रमशः घट्दै जान्छ या त हामी ओखतीका भरमा बाँच्ने परिजीवीमा परिणत हुन्छौँ ।
बढी उत्पादन गर्ने र त्यसमा पनि छिटो उत्पादन गर्ने हाम्रो दबाबले प्राकृतिक खानेकुराहरू अप्राकृतिक र पत्रु खानाको रूपमा हाम्रो पेटमा प्रवेश गर्छन् र हामी अस्वस्थ हुन्छौँ । कतिपय खानेकुराहरू नपकाई खाँदा जति स्वास्थ्यवर्धक हुन्थ्यो, पकाउने नाममा स्पाइसी बनाएर खाँदा विषाक्त र अस्थस्थकर हुने गर्दछ । हाम्रो खाने शैली आदिम हुँदा जति स्वस्थकर थियो, आधुनिक हुँदा अस्वस्थकर भएको छ किनकि हामी आधुनिकताको नाममा प्रकृतिविरोधी भएका छौँ । एउटा पढेको छोराले अनपढ भनेर आमालाई अपमान गरेजस्तै भएको छ आधुनिक मानिस र प्रकृतिको सम्बन्ध ।
प्रकृतिवादी दार्शनिक जिन ज्याक रुसो भन्छन्– ‘विद्यालयका पर्खालहरू भत्काइदेऊ र बालकलाई प्रकृतिको काखमा छोडिदेऊ ।’ यो कुरा रुसोले सनकको भरमा भनेका होइनन् । एउटा बालकलाई विद्यालयले भन्दा एउटा बिरुवा, एउटा नदी र एउटा हिमालले नबोलेर पनि धेरै कुरा सिकाउन सक्छ । यसका लागि मानिस प्रकृतिको अगाडि शिष्य हुन सक्नुपर्छ । तथापि मानिसले त्यस्तो गर्न सकिरहेको छैन । मानिसले प्रकृतिको विरुद्धमा नै हमला गरिरहेको छ । प्रकृतिलाई दास बनाएर आफू प्रकृतिको मालिक हुने प्रयत्न गरिरहेको छ । जबकि मानिस स्वयम् पनि प्रकृतिको उपज हो र प्रकृतिको पुत्र हो ।
तथापि मानिसले आफ्नो औकात बिर्सिएको छ । मानिसले समाजवादको कुरा त गर्छ तर पर्यावरणलाई बिर्सिएको छ । अब मानिसले समाजवादलाई मात्र होइन पर्यावरणीय समाजवाद (Eco-socialism) लाई अघि सार्नुपर्ने भएको छ । अन्यथा अरू सबै सम्झिने, सास फेर्न भने बिर्सने भनेझैँ हुन्छ । यस्तो अवस्थामा मावनशास्त्री डा. मेरी डेसेनले भनेझैँ हाम्रो सपना प्रकृतिको चिहानमाथि समृद्धिको महल बनाउने जस्तो हुनेछ, जुन सपना नभई मात्र दिवास्वप्ना हुनेछ । बाँकी तपाईंको मर्जी ।
प्रतिक्रिया दिनुहोस्