‘पूर्ण बहादुरको सारंगी’ले नेपालगन्जबाट कमायो २ करोड



नेपालगन्ज ।

नेपालगन्जमा एउटै चलचित्रले करोड बढी कमाएको रेकर्ड बनेको छ । नेपालगन्जका दुईवटा सिनेमाहलमा भएको कमाइ जोड्ने हो भने एउटै चलचित्रले दुई करोड बढी कमाइ गरेको छ । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ले उक्त रेकर्ड बनाएको हो । यो नेपालगन्जको चलचित्र प्रदर्शनको इतिहासमै पहिलो रेकर्ड हो ।

चलचित्रले नेपालगन्जका दुई सिनेमाघर सिने रोयल र क्युएफएक्स सिनेमाज बागेश्वरीमा मंगलबारसम्म १ करोड ८० लाख माथिको व्यापार गर्दै २ करोड क्लबमा प्रवेश गरेको हो । सिने रोयलमा मात्रै चलचित्रले १ करोडको व्यापार गर्दै एउटै हलमा करोड बढी कमाउने रेकर्ड पनि बनाएको हो ।

करोडबढी कमाइ भएको खुसियालीमा चलचित्रका कलाकार विजय बराल र प्रकाश सपुतसहितको टोली नेपालगन्जमै पुगेर केक काटेर शुभकामना आदान–प्रदान गरेको छ ।

चलचित्रले देशभरि नै हाउसफुल व्यापार गरिरहेको छ । चलचित्र हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया, बलियो वर्ड अफ माउथ, सामजिक सन्जालमा चर्चा परिचर्चाले यस चलचित्रको व्यापारलाई बढावा दिइरहेको छ । यसका साथै मन छुने गीत संगीत, बलियो अभिनय चलचित्रका आकर्षण हुन् ।

चलचित्रले सार्वजनिक गरेको टिजर, गीत र ट्रेलरबाटै दर्शकलाई प्रतीक्षारत बनाएको चलचित्रले गन्धर्व समुदायको कथा, बाबु र छोराबीचको सम्बन्ध, बुबाको संघर्ष र विछोडको वेदना बोल्छ ।

सिने रोयलका सीईओ रितेश श्रेष्ठका अनुसार चलचित्रले मंगलबार पनि हाउसफुल व्यापार गरेको छ । व्यापारको गति हेर्दा चलचित्रले प्रदर्शन हँुदासम्म अझै ३० लाख माथिको व्यापार गर्ने अनुमान रहेको श्रेष्ठले बताए । ‘नेपाली चलचित्रले यो इतिहास बनाउला भनेर हामीले सोचेका थिएनौँ । तर चलचित्र पूर्णबहादुरको सारंगीले गरेको व्यापारले हामीलाई मात्रै होइन सिंगो चलचित्र जगत्मा राम्रो चलचित्र बन्यो भने दर्शकको राम्रो साथ पाइन्छ भन्ने उदाहरण पनि दिएको छ,’ श्रेष्ठले भने ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय रहेको छ ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार