कांग्रेसका युवाहरूले पूरा गरे संकल्प यात्रा



कन्चनपुर ।

नेपाली कांग्रेसका नेताहरूले मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्रा मंगलबार सकिएको छ । गत कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु भएकोमा यात्रा मंगलबार सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा पुगेर समापन भएको हो ।

युवा नेताहरू भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, प्रेमिका राना मगरलगायतको अगुवाइमा युवा संकल्प यात्रा भएको थियो । कन्चनपुरमा कांग्रेस जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा मंगलबार युवा संकल्प यात्रा भएको थियो । सभापति बोगटीले संकल्प यात्राले युवामा भरोसा, उत्साह र जागरण ल्याएको बताए । ‘यस्तो यात्राले युवालाई कांग्रेससँग र जनतालाई पार्टीमा जोड्न तथा साझा मुद्दालाई अघि बढाउन सहयोग गर्छ,’ उनले भने ।

मेचीनगरमा मंगलबार भएको कार्यक्रममा नेता भूपेन्द्रजंग शाहीले यात्राका क्रममा सबै क्षेत्रका मानिसहरूसँग संवाद गरेको जानकारी दिए । ‘युवा संकल्प यात्राका क्रममा विभिन्न जिल्ला पुगेर हामीले पार्टीका साथीहरू र आमजनसमुदायबाट सुझावहरू लियौँ, ती सुझाव सभापति शेरबहादुर देउवा र सरकारसँग जोडिएका विषय प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुझाउँछौं,’ उनले भने ।

कांग्रेस झापा सभापति देउमान थेवेले पार्टीको झन्डा यात्राका नेतृत्वकर्ता शाहीलाई हस्तान्तरण गरेर संकल्प यात्रा सुरु भएको थियो ।
भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रण, सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने जस्ता एजेन्डासहित युवा संकल्प यात्रा भएको थियो ।

साथै सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने एजेन्डा पनि संकल्प यात्राको थियो ।

प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार