विद्यार्थीलाई तोडफोड गर्न उक्साएको भन्दै बागेश्वरीका स्ववियु सभापतिसहित ५ जना पक्राउ



बाँके ।

कोहलपुर नगरपालिका र त्रिभुवन माध्यमिक विद्यालय लगायतका क्षेत्रमा विद्यार्थीहरूलाई तोडफोड गर्न उक्साएको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढा, अखिल (क्रान्तिकारी ) ६ नं प्रदेश संयोजक सर्जन पाण्डेसहित ५ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेकोे हो ।

म्यासेन्जरमार्फत त्रिभुवनमा अध्ययरत छात्रालाई एक शिक्षकले दुव्र्यवहार गरेको भन्दै स्ववियु सभापति बुढाको नेतृत्वमा विभिन्न खालका आन्दोलन हुँदै आएका थिए । म्यासेन्जरमार्फत दुव्र्यवहार भनिएपनि हालसम्म कुनै उजुरी नपरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कात्तिकको पहिलो साता उनले शिक्षकलाई कारबाही नभए कोहलपुर नगरपालिका र त्रिभुवन माध्यमिक विद्यालयमा आगो लगाइदिने धम्की दिएका थिए । उनको नेतृत्वमा सोमबार त्रिभुवनका केही विद्यार्थीहरू शिक्षकलाई कारबाहीको माग गरेका थिए । उनीहरूले विद्यालय, कोहलपुर नगरपालिका, केही पसल र नीजि घरहरूमा समेत तोडफोड गरेका छन् ।

साना बालबालिकाहरूलाई समेत आन्दोलनमा प्रयोग गरिएको थियो । उनीहरू तोडफोडमा उत्रिएका थिए । कोहलपुर प्रहरीले बुढासहित आन्दोलनको नेतृत्व गर्नेहरूलाई कोहलपुरका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । नेतृत्व गर्नेहरूलाई प्रहरीले पक्राउ गरेसँगै आन्दोलन साम्य भइसकेको छ । अहिले कोहलपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ३ गते सोमबार