केही दिनयता नेपालगन्जको यातायात व्यवस्था कार्यालय कोहलपुर सार्न लागिएको भन्दै सामाजिक सञ्जालमा नेपालगन्ज र कोहलपुरका नागरिक तर्क–वितर्कमा उत्रिँदै आएका छन् । तर, मन्त्री न्यौपानेले नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय अन्यत्र सारिने भन्ने गलत बुझाइ भएको बताए ।
नेपालगन्ज ।
‘मलाई पनि ५०–५५ वटा कल आयो, नेपालगन्जका सरोकारवालाहरूको । मैले भनँे, नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय सार्ने भन्ने कुरा कहीँ निर्णय पनि भएको छैन, सार्न लागेको पनि हैन । कहाँबाट यो हल्ला आइराछ ?’ लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखसहित विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरूलाई मेयरको कार्यकक्षमै भेट्दै भने ।
नगर प्रमुख प्रशान्त विष्ट, नगर उपप्रमुख कमरुद्धिन राईलगायतले मन्त्री न्यौपानेसमक्ष नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय अन्यत्र नसार्न आग्रह गरेपछि उनले गलत हल्लाका पछि नलाग्न आग्रह गरेका हुन् । उनले नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय मातहत रहने गरी कोहलपुरमा सेवा कार्यालय भने स्थापना गर्न लागिएको जानकारी दिए । उक्त कार्यालयबाट पटके शुल्क संकलन, लाइसेन्स तथा सवारी साधन पुर्जा नवीकरणको काम मात्रै गरिने उनले बताए ।
मन्त्री न्यौपानेले आफू मन्त्री भइसकेपछि यातायातका क्षेत्र सुधारका लागि एउटा कार्यदल बनाइएको र उक्त प्रतिवेदनमा कतै पनि नेपालगन्जको कार्यालय सार्ने भन्ने विषय उल्लेख नभएको बताए । कोहलपुरसँगै बर्दियामा सेवा केन्द्र स्थापना गर्ने सुझावका सम्बन्धमा संक्षिप्त ओ एन्ड एम सर्भे गरेर सेवा केन्द्र स्थापना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय भएको उनले जानकारी दिए ।
केही दिनयता नेपालगन्जको यातायात व्यवस्था कार्यालय कोहलपुर सार्न लागिएको भन्दै सामाजिक सञ्जालमा नेपालगन्ज र कोहलपुरका नागरिकहरू तर्क–वितर्कमा उत्रिँदै आएका छन् । नेपालगन्जका राजनीतिक दलहरूले पनि नेपालगन्जबाट महत्वपूर्ण सरकारी कार्यालयहरू अन्यत्र सारिसकिएको र भएका कार्यालय पनि सार्न लागिएको भन्दै ध्यानाकर्षण पत्र बुझाउने, आन्दोलनमा जाने चेतावनी दिनेलगायतका क्रियाकलाप गर्दै आएका छन् ।
तर, मन्त्री न्यौपानेले नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय अन्यत्र सारिने भन्ने गलत बुझाइ भएको बताए । उनले भने, ‘त्यहाँ (कोहलपुरमा) दुई तीनवटा कर्मचारी बस्छन् । त्यसो भयो भने सेवा बिस्तार हुन्छ । एक्सटेन्सन काउन्टर हुन्छ । बाँकी त सबै कुरा यतैबाट हुने हो ।’
मन्त्री न्यौपानेले बरु यातायात व्यवस्था कार्यालयसँग हाल स्थायी कार्यालय र जमिन नभएकाले कार्यालयका लागि भवनको व्यवस्थामा सघाउन नेपालगन्ज उपमहानगरपालिकासँग अनुरोध गरेका छन् । अहिले कार्यालय सञ्चालन भइरहेको नेपालगन्जको रामलीला मैदान नजिकैको भाडाको घर कार्यालयका लागि अनुपयुक्त रहेको र उक्त घरको बहाल सम्झौता पनि यसै वर्षको पुस महिनाबाट सकिन लागेकाले तत्काल नयाँ भवनको व्यवस्था गर्नुपर्ने अवस्था रहेको मन्त्री न्यौपानेले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाले यसभन्दा अघि पनि जमिन तथा भवनका लागि पहल गरेको तर सफल नभएको बताए । अहिले पनि आफूहरूले खाली रहेका विभिन्न सरकारी भवनहरूमा यातायात व्यवस्था कार्यालय सञ्चालन गर्न सकिने अवस्था देखेको र ती भवनमा विषयमा अध्ययन गरेर कार्यालय सार्नुपर्ने सुझाव दिएका छन् ।
नगर प्रमुख विष्टले अब नेपालगन्जबाट सरकारी कर्यालयहरू अन्यत्र सार्ने कुरा भने आफूहरूका लागि स्वीकार्य नहुने प्रष्ट्याए । उनले भने, ‘नेपालगन्ज राजधानीका विषयमा पनि ठगिएको हो । अहिले आएर कार्यालयहरू पनि सार्दै जाने हो भने प्रदेश सरकारका विषयमा पनि हामीले सोच्नुपर्ने हुन्छ ।’
मन्त्री न्यौपानेले कुन भवन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा चाँडै सरोकारवाला सम्मिलित समिति गठन गरेर टुंगोमा पुगिने बताए । नगर प्रमुख विष्ट तथा वडाध्यक्षहरूले नेपालगन्जस्थित पशुसेवा केन्द्र, कारकाँदोस्थित सीप विकास केन्द्र, नेपाल टेलिकमको भवन उपयुक्त रहेको बताएका छन् ।
सेवा लिन कोहलपुर नजाने जनप्रतिनिधिको धम्की
मन्त्रीले न्यौपानेले यातायात सेवा कार्यालय मात्रै कोहलपुरमा स्थापना गर्न लागेको बताइरहँदा नेपालगन्जका नगर उपप्रमुखलगायत केही वडाध्यक्षहरूले सेवा केन्द्र सारिँदा नेपालगन्ज आउने सेवाग्राहीहरू घट्ने भएकाले त्यसो नगर्न आग्रह गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका–१८ का अध्यक्ष दीपक बर्माले सेवा कार्यालय कोहलपुर सार्ने नभई कोहलपुरमा रहेको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा लिने स्थान (ट्रायल सेन्टर) पनि नेपालगन्जमै बनाउन माग गरे ।
उनले भने, ‘ट्रायलका लागि पनि जग्गा हामी यहाँ दिन्छौँ । नेपालगन्जमा ट्रायल सेन्टर हुनुपर्छ । हामी सेवा लिन त्यहाँ जाँदैनौँ ।’ नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले पनि ट्रायल सेन्टर र कार्यालय एकै ठाउँ बनाउनु उपयुक्त हुने बताए ।
वडाध्यक्ष बर्माको भनाइमा प्रतिक्रिया दिँदै मन्त्री न्यौपानेले त्यसो भन्नु उपयुक्त नहुने बताए । न्यौपानेले भने, ‘तपाईंले उता जाँदिन भन्ने, कोहलपुरका यहाँ आउँदिन भन्नेजस्ता कुरा नगर्नुहोस् । यस्ता कुरा बोल्नुहुँदैन । यो एउटै जिल्ला हो । नेपालगन्ज र कोहलपुर १०–११ किलोमिटर त छ ।’
नगर उप्रमुख राईले सेवा केन्द्र नै बनाउने हो भने बर्दियामा बनाउन उपयुक्त हुने सुझाव दिएका थिए । ‘यदि त्यसो हो भने बर्दियामा सेवा केन्द्र स्थापना गरौँलागि गराइदिउँ । कोहलपुरलाई कति टाढा छ र यहाँ आउन !’ राईले भने ।
प्रतिक्रिया दिनुहोस्