शिवु खनाल । दाङ ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह र लमही नगरपालिकाबीच डम्पिङ साइट निर्माणका लागि सहमति भएको छ । लमही बजार क्षेत्रबाट संकलित फोहोरमैला अजम्मरी सामुदायिक वन क्षेत्रभित्र फालिँदै आएको स्थानलाई लमही नगरपालिकाले भोगाधिकार लिने र डम्पिङ साइडलाई थप व्यवस्थापन गर्ने विषयमा सहमति भएको हो ।
अव्यवस्थित तवरले फालिँदै आएको फोहोरलाई तत्कालै व्यवस्थापन गर्न अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले गत असोज २३ गते लमही नगरपालिकाका प्रमुखलाई पत्रसहित ध्यानाकषर्ण गराएको थियो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले एक महिनाको अल्टिमेटम दिँदै पत्र बुझाए पनि सो अवधिभित्र नगरपालिकाले कुनै सुनुवाइ नगरेपछि सामुदायिक वनले गत २४ गते मूलगेटमै ताला लगाएको थियो ।
ताला लगाएको ६ दिनपछि मात्र सामुदायिक वन र लमही नगरपालिकाबीच छलफलपछि सहमति जुटेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिए ।
उनका अनुसार लमही नगरपालिकाले पहिलो चरणमा डम्पिङ साइडको क्षेत्रमा मूलगेटसहतिको व्यवस्थित जाली तारबार निर्माण गर्ने, डम्पिङ साइडको रेखदेख र फोहोरको उचित व्यवस्थापनका लागि एक जना जनशक्ति व्यवस्थापन गर्ने, डम्पिङ साइटमा हाल जम्मा रहेको फोहोरलाई माटोले पुरेर दुर्गन्धित फोहोरलाई व्यवस्थापन गर्ने सहमति भएको छ ।
त्यसैगरी लमही बजार क्षेत्रबाट संकलित कुहिने र नकुहिने फोहोरलाई डम्पिङ साइडभित्र छुट्टाछुट्टै व्यवस्थापन गर्ने, हाल निर्माण सम्पन्न भइसकेका दुईवटा टहरामा नकुहिने फोहोरलाई प्रशोधन गर्ने सहमति भएको छ ।
यस्तै, लमही नगरपालिकाले दुई वर्षभित्र फोहोरमैला व्यवस्थापनको डीपीआर तयार गरी डम्पिङ साइटलाई थप व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गर्ने, दिशाजन्य लेदो व्यवस्थापन आयोजना हालको डम्पिङ साइट क्षेत्रभित्र सञ्चालन गर्ने र डम्पिङ साइट क्षेत्रको जग्गा लमही नगरपालिकाले दुई वर्षभित्र भोगाधिकार लिन संघीय सरकारसमक्ष पहल गर्ने सहमति जुटेको हो ।
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक वन क्षेत्रभित्र रहेको डम्पिङ साइटलाई थप व्यवस्थापन गरिने प्रतिबद्धता जनाए । उनले डम्पिङ साइटलाई दिगो रूपमै व्यवस्थापन गरेर सञ्चालन गर्ने बताउँदै लमही नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर लैजाने जानकारी दिए ।
‘अबको नगर सभामा डम्पिङ साइटलाई पहिलो प्राथमिकता दिँदै प्रत्येक वर्ष डम्पिङ साइटलाई उचित व्यवस्थापन गर्न कार्यपालिका बैठकबाट निर्णय गरेर अगाडि बढ्नेछौँ,’ उनले भने, ‘डम्पिङ साइट व्यवस्थापन सम्बन्धमा लमही नगरपालिकको गम्भीर ध्यानाकर्षण भएको कुरा तपाईहरू माझ राख्न चाहन्छु ।’
यस्तै लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले डम्पिङ साइट व्यवस्थापनसम्बन्धी सम्पूर्ण कामकाज तत्कालै सुरु गर्ने बताए । ‘डम्पिङ साइट व्यवस्थापनमा नगरपालिकाबाट प्राविधिकसहितको टोली परिचालन गरेका छाँै,’ उनले भने, ‘डम्पिङ साइट व्यवस्थापनमा कुनै कसर बाँकी राख्ने छैनौँ ।’
अजम्मरी सामुदायिक वनभित्र विगत १४/१५ वर्षदेखि अव्यवस्थित रूपले फोहोर फालिँदँ आएको थियो । विगत १४-१५ वर्षअगाडि कर्री सामुदायिक वन उपभोक्ता समूहमा अव्यवस्थित रूपले फोहोर फाल्ने गरिएको भए पनि दुगन्ध बढेको भन्दै सो सामुदायिक वनले फोहोर फाल्न नदिएपछि तत्कालीन चैलाही गाविसको सर्वदलीय राजनीतिक समितिबाट केही समयका लागि भन्दै यस अजम्मरी सामुदायिक वन क्षेत्रभित्र फोहोर फालिने र छिटोभन्दा छिटो अन्य स्थानमा फोहोर व्यवस्थापन गर्ने मौखिक सम्झौता बमोजिम अजम्बरी वन क्षेत्रभित्र फोहोर फालिँदै आइएको थियो ।
प्रतिक्रिया दिनुहोस्