अदालतको आदेशविपरीत कर असुल्दै गढवा



श्रवण बस्नेत । लमही ।

दाङको गढवा गाउँपालिकाले अदालतको आदेशविपरीत दोहोरो कर असुल्दै आएको छ । अदालतले २०८१ कात्तिक १३ गते दोहोरो कर नलिनु भनी आदेश गरेको भए पनि गढवा गाउँपालिकाले भने अदालतको आदेशलाई समेत बेवास्ता गर्दै मनोमानी ढंगले ढुवानी कर असुली गर्दै आएको हो ।

गत कात्तिक १३ गते उच्च अदालत तुलसीपुरमा न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले कात्तिक २७ गते दुबै पक्षलाई छलफलमा बोलाउँदै त्यसअघि दोहोरो कर नउठाउनु, कुनै बाधा अवरोध नगर्नू-नगराउनू भनी विपक्षीहरूको नाममा अल्पकालीन आदेश जारी गरेको थियो । आदेश पालन गर्नु-गराउनु भनी अदालतले पत्रचार गरिसकेको अवस्थामा समेत पालिकाले अटेर गरी ढुवानी शुल्क उठाउन छोडेको छैन ।

गत कात्तिक १२ गते व्यवसायी विष्णु भुसाल र शिव बन्जाडेले उक्त दोहोरो कर खारेजीको माग गर्दै गढवा गाउँपालिका, गढवा गाउँ कार्यपालिका, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, प्रमुख प्रशासकीय अधिकृत र कर असुलीको ठेक्का पाएको स्वर्गद्वारी निर्माण सेवा लमही नगरपालिका–६, देउपुरको विरूद्ध रिट दर्ता गराएका थिए ।

तर गढवा गाउँपालिले पूर्व–पश्चिम राजमार्गको जुरौनीमा चेकपोस्ट नै राखेर मनोमानी ढंगले ढुवानी कर असुली गर्दै आएको छ । जुरौनीमा स्वर्गद्वारी निर्माण सेवाले ठेक्का लिएर कर असुल्दै आएको छ । विशेषगरी पालिकाले ढुंगा, गिट्टी, र बालुवाको उत्खनन तथा ढुवानीका लागि चेकपोस्ट राखेर शुल्क उठाउँदै आएको हो ।

यसबारे प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पूर्व–पश्चिम राजमार्गमा कर असुल्न नपाइने बताएका छन् । उनले गाउँपालिकालाई यो विषयमा सचेत गराइसकिएको बताए । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले अदालतको आदेश पालना गर्दै ठेकेदारले तत्काललाई कर नलिने गरी पत्राचार गरिसकेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले भने दोहोरो करको विषयमा कानुनी सल्लाह लिने बताएका छन् ।

व्यवसायीहरूले भने पालिकाको यस्तो व्यवहारले आफ्नो व्यवसायमा ठूलो नोक्सानी पु¥याइरहेको गुनासो गरेका छन् । उनीहरूले स्थानीय प्रशासनले कानुनी आदेशलाई अवज्ञा नगर्न र व्यवसायमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

व्यवसायी डिलाराम भुसालले एउटै सामग्रीका लागि तीन पटकसम्म कर तिर्नु अन्यायपूर्ण भएको भन्दै यसको विरोध गरे । ‘हामीले राज्यलाई तिर्नुपर्ने कर तिरिसकेका छौं, तर दोहोरो र तेब्बर कर तिर्न लगाउनु अन्याय हो,’ व्यवसायी भुसालले भने ।

प्रकाशित मिति : २०८१ कात्तिक ३० गते शुक्रबार