कोहलपुर रेडक्रसद्वारा ब्लड बैंक स्थापना



कोहलपुर ।

नेपाल रेडक्रस सोसाइटी उप–शाखा कार्यालय कोहलपुरले रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख संगीता सुबेदीले ब्लड बैंकको उद्घाटन गरेकी हुन् । नेपाल रेडक्रस सोसाइटी उप–शाखा कार्यालय कोहलपुरको २०औँ साधारण सभा तथा छैटौँ अधिवेशनका अवसरमा शुक्रबारदेखि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा रेडक्रस उप–शाखा कार्यालय कोहलपुरले उक्त बैंक सञ्चालनमा ल्याएको हो । कोहलपुर नगरपालिकाको २५ लाख र उप–शाखा कार्यालयको २५ लाख रुपैयाँ गरी करिब ५० लाखको लागतमा सो केन्द्र स्थापना भएको नेपाल रेडक्रस सोसाइटी उप–शाखा कार्यालय कोहलपुरका सभापति दिनेश सिग्देलले जानकारी दिए । रेडक्रस कार्यालय भवनको पहिलो तलामा स्थापना गरिएको ब्लड बैंकमार्फत बिरामीहरूलाई आवश्यक पर्ने रगत संकलन तथा वितरण गरिने जनाइएको छ ।

विभिन्न सामाजिक सेवा गर्दै आएको रेडक्रस उप–शाखा कोहलपुरले यस क्षेत्रका बिरामीहरूलाई आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउन सो बैंकको स्थापना गरिएको जनाएको छ । बैंकमा रगत संकलन र भण्डारणका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणहरूसमेतको व्यवस्था गरिएको सभापति दिनेश सिग्देलले बताए । ‘अब कुनै पनि किसिमको रगतका लागि बिरामी अन्यत्र जानुपर्दैन,’ सभापति सिग्देलले भने, ‘रगत संकलन र वितरणको सम्पूर्ण काम यहीँबाट गर्न सकिन्छ ।’

जिल्ला रेडक्रस कार्यालय बाँकेले यसअघिदेखि नै रगत संकलन तथा वितरण गर्दै आए पनि अत्याधुनिक उपकरणहरूसहितको कक्ष नहुँदा त्यति प्रभावकारी हुन सकेको थिएन । कोहलपुरमै केन्द्र स्थापनापछि अब सुरक्षित तरिकाले रगत संकलन तथा वितरण गर्न सकिने भएको छ ।
केन्द्रमा रगत संकलन, वितरण र स्टोर गर्नका लागि छुट्टाछुट्टै कक्षको स्थापना गरिएको छ । रगत संकलन र संकलित रगतलाई सुरक्षित राख्नका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरूको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै आएको रेडक्रस सोसाइटी उप–शाखा कार्यालय कोहलपुुरले रक्त सञ्चार केन्द्रको स्थापना गरेर मानवीय सेवा कार्य अगाडि बढाएकोमा कोहलपुर नगरपालिकाकी कार्यबाहक प्रमुख संगीता सुबेदीले खुसी व्यक्त गरिन् ।

मानवीय तथा सामाजिक सेवा प्रवाह गर्ने उद्देश्यले रेडक्रस जस्तो सामाजिक संस्थासँग सहकार्य गर्दै नगरपालिका अघि बढेको उनले बताइन् । उनले केन्द्र सफलतापूर्वक सञ्चालनका लागि शुभकामनासमेत व्यक्त गरिन् ।

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार