मधुर पौडेल । बाँसगढी ।
बाँसगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको उपाधि ककौरा सुपर किङ्सले हात पारेको छ । शुक्रबार बाँसगढी–५ स्थित बाह्रबिघा खेल मैदानमा भएको फाइनल खेलमा बाँसगढी राइनोजलाई २५ रनले पराजित गर्दै ककौरा सुपर किङ्सले उपाधि हात पारेको हो ।
उपाधिका लागि भएको फाइनल खेलमा ककौराले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङमा उत्रिएको ककौराले २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन जोड्न सफल भयो । पहिलो इनिङमा ककौराका अजय सहानीले ४२ रन, सुदीप रानाले २६ रन तथा विशाल केसीले २१ रन जोडेका थिए ।
बाँसगढी राइनोजका रेशम चापागाईं र निशान्त आचार्यले समान २/२ गरेर ४ विकेट लिएका थिए । १३५ रनको लक्ष्य पछ्याएको बाँसगढी राइनोजले २० ओभरमा १० विकेट गुमाएर १०९ मात्र जोड्न सफल भएको थियो ।
१३५ रनको लक्ष्य पछ्याएको बाँसगढी राइनोज १०९ रनमै सीमित हुँदा ककौरा सुपर किङ्सले बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पार्न सफल भयो । उपाधि जितेसँगै ककौरा सुपर किङ्सले १ लाख ५० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र हात पारेको थियो । बाँसगढी प्रिमियर लिगको पहिलो संस्करणमा पशुपति वारियर्सले उपाधि जितेको थियो ।
दोस्रो इनिङमा बाँसगढी राइनोजका गौतम कनोजियाले ३५ रन तथा हेमन्त आचार्यले १६ रजको पारी खेलेका थिए । बलिङतर्फ ककौराका सुदीप रानाले ४, अस्मित शाही र भुवन शाहीले समान २–२ विकेट लिए । फाइनल खेलमा अलराउन्ड प्रदर्शन गरेका ककौराका सुदीप राना म्यान अफ दी म्याच घोषित भएका थिए ।
प्रतियोगिताको उदीयमान खेलाडीको उपाधि बाँसगढी राइनोजका रेशम चापागाईं, उत्कृष्ट बलरको उपाधि ककौरा सुपर किङ्सका सुदीप राना, उत्कृष्ट ब्याटरको उपाधि ककौरा सुपर किङ्सका अजय सहानी तथा प्लेयर अफ दी सिरिजको उपाधि बाँसगढी राइनोजका सिद्धान्तराज शाहीले पाएका छन् ।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले नेपालमा सम्भावना बोकेको क्रिकेट खेल तथा खेल मैदान प्रवद्र्धन र निर्माणमा बाँसगढी नगरपालिकाले विशेष ध्यान दिने बताएका थिए ।
बडादसैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबको आयोजनामा प्रतियोगिता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्