श्री शाईकुमारी भगवती देवी मन्दिरमा हिन्दु, बौद्ध, वैष्णव, जैन धर्म मान्ने धर्मावलम्बीहरू आउने गर्दछन् । यहाँ देवी र सिद्धबाबाको ठूलो शक्ति रहेको जनविश्वास छ । आफ्नो धर्मको रक्षा गर्दै अरू धर्मको सम्मान गर्ने गरिन्छ । जुन धर्म मान्ने मानिस भए पनि मन्दिर प्रवेशमा रोक लगाइँदैन । विभिन्न धर्म, जातजाति र लिंगको रूपमा यहाँ आउने विधिन्न श्रद्धालु भक्तजनहरूमा विभेद तथा भेदभाव गर्ने चलन छैन । यहाँ सबै भक्तजनहरूलाई समान रूपले स्वागत र सम्मान गरिन्छ ।
लालबहादुर केसी ।
नेपाल धर्म संस्कृति भेषभूषा भाषा भौगोलिक विविधता धरातलीय प्राकृतिक स्वरुप प्राकृतिक स्रोत साधनले भरिपूर्ण तथा सम्पन्न मुलुक भएको कुरा सर्वविदितै छ । धर्म संस्कृति भौगोलिक र प्राकृतिक विविधतासँगै आर्थिक सामाजिक सांस्कृतिक जातजाति र भाषिक विविधता पनि नेपालको विशिष्ट पहिचान हो । नेपालमा धार्मिक स्थलहरूको स्थापना र संख्या पनि उल्लेख्य छन् ।
नेपालको पश्चिममा अवस्थित दुर्गम जिल्ला रुकुमको सदरमुकाम मुसीकोट खलंगादेखि करिब एक घन्टाको पैदल बाटो र गाडीमा २० मिनेटको समयमा पुग्न सकिने मुसीकोटको उत्तर पूर्वमा अवस्थित मध्यपश्चिमकै सु–प्रसिद्ध श्री शाईकुमारी देवी भगवती डिग्रे मन्दिर पनि एक रहेको छ । यो मन्दिर ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले र प्राकृतिक सौन्दर्यले झपक्कै सजिएको छ । यस मन्दिरको शिरमा वसन्त ऋतुमा फुल्ने लालीगुराँसले राताम्य भई शोभायमान भएको दृश्य देख्न पाइन्छ ।
वरपरको क्षेत्रमा सुनगाभा भनिने केरेफूलको सुगन्धित बास्नाले झनै मन लोभ्याउने गर्दछ । विभिन्न थरिका प्राकृतिक सम्पदाको धनी यस मन्दिर परिसर साह्रै मनमोहक छ । मन्दिरको केही तलतिरबाट बाह्रै महिना कलकल बग्ने चिसोपानीको मूल जाग्नु यहाँको एक मुख्य विशेषता हो । यहाँ पर्यटकीय दृष्टिले भन्ने हो भने मन्दिरदेखि एक घण्टा पैदल दूरीमा करिब तीन हजार एक सय मिटरको उचाइमा अवस्थित जन्ती ओल पिएको लेक भ्यू टावरको रूपमा रहेको छ ।
जहाँबाट रुकुम जिल्लाका मुख्य पर्यटकीय स्थलहरू जस्तै सिस्ने हिमाल, स्यार्पु ताल, पुरानो सदरमुकाम रुकुमकोट वाँफीकोट, काँडा गाउँमा अवस्थित गादीघर मन्दिर, नागबेलीझैँ कलकल बगिरहने सानीभेरी नदी झारमारेको उच्च लेक, तीन बहिनीको लेक, कमल दह, मौराखारको उच्च लेक, सिंह लेक पृथा हिमाललगायत डलसिंगे लेक, चित्रीपाटन, खौला छेर्ना, ठूली कुमाख र चाखुरे हिमाललगायत रुकुम जिल्लाका रमणीय ठाउँहरू अवलोकन गर्न सकिन्छ ।
पौराणिक किम्बदन्तीअनुसार द्वापर युगको अन्त्यसँगै प्राचीन कालमा धेरै लामो समयसम्म पानी नपरी खडेरी परेर पानीको हाहाकार परेछ । त्या समयमा थर्पु गाउँमा गृहस्थी गौतम थरका ब्राह्मणका गाईहरू पानी खान नपाई पानीको खोजीमा पश्चिम नेपाल तत्कालीन सल्यान थुम गौँडा रुकुम मुसीकोटअन्तर्गत थर्पु डिग्रेको पानीको धारा भएको स्थानमा पुगेछन् । त्यहाँ रहेको अद्भूत पहरामा एक अपरिचित सुन्दरीले हालको शाईकुमारी मन्दिरको तलतिर मुहान भएको धारामा स्नान गरिरहेकी रहिछन् ।
ती गृहस्थ पुरुषले सुन्दरीले स्नान गरिरहेको देख्दा ती सुन्दरीको तेजले उनलाई हेर्न नसकी उत्तर पूर्व फर्कंदा एक पहेँलो वस्त्रधारी पुरुषलाई देखेपछि आश्चर्यचकित भई केही वचन बोल्न वा कुरा गर्न नसकी आफ्ना गाई खोज्न लागेछन् । त्यस स्थानबाट नजिक उन्नेचौर भन्ने ठाँउमा गाईहरू भेटाई घरतिर ल्याउन खोज्दा ती गाईहरू आफ्नो घरतिर नआई पानीको मुहान भएको ती सुन्दरी बसेको ठाँउतिर लागेछन् ।
गाईहरू आफ्नो नजिक आई वरिपरि बसेपछि ती गृहस्थी पुरुषले गाईलाई घरतिर लैजान खोजेपछि ती सुन्दरीले भनिछन्– ‘गाईहरू तपाईंका होइनन् यी गाई अबदेखि मेरा भइसके यी गाईलाई यदि तपाईं लैजानुहुन्छ भने तपाईंले मैले भनेका वचनहरू मान्नुपर्दछ । यो अति पवित्र स्वच्छ सुन्दर ठाउँलाई तपाईंले अति सुन्दर पवित्र र शक्तिपीठ बनाउनु पर्दछ ।’
उनले अगाडि भनिछन्– ‘ठूली एकादशीमा तुलसीको बीउ रोपी मठ बनाई तुलसीको बेर्ना रोपी बेर्ना जगाई कात्तिकको बैकुण्ठ एकादशीको दिनमा नुहाइधुवाई गरी तुलसी पूजा गरी तुलसीलाई बाँसको लिंगो हाली तुलसीको जल खाई शुद्ध भई ब्रत वस्ने चलन चलाउनुहोस् । बैकुण्ठ चतुर्दशीको दिनमा पूजाआजा गर्ने मूल पर्वको रूपमा मानी म शाईकुमारी भगवती देवी र महादेव सिद्धबाबाको विधिवत पूजाआराधना गरी मेरा वाहनहरूलाई बोका बली चढाई साँझ सन्ज्य पर्नुभन्दा अगाडिसम्म पूजापाठ चलाउनू ।
राति देवी र सिद्धबाबाको आराधना गरी जाग्राम बसी भोलिपल्ट पूर्णिमाको दिनमा मेला भरी पूर्णिमाको साँझपख फूलपाती फलफूल फल्लार बाँडी मेला विसर्जन गर्ने गरी म शाईकुमारी भगवती देवी र महादेव सिद्ध बाबाको पवित्र मन्दिर विधिवत् रूपमा स्थापना गरिदिनू । यही पानीको मुहान रहेको गुफा फल्याघर मन्दिर र मेरो नजिकमा रहनुभएका महादेव सिद्धबाबाको मेरो मन्दिर भन्दा माथि मन्दिर बनाई विधिवत् तरिकाले पूजाआजा गर्ने चलन चलाउनू । नत्र अनिष्ट हुनेछ ।’
सुन्दरीबाट यति निर्देश भएपछि ती सुन्दरी र पहेँलो वस्त्रधारी महादेव सिद्धबाबालगायत गाईहरू समेत अदृश्य भएछन् । त्यसपछि ती गृहस्थ ब्राह्मणले आफ्नो घरमा आई गाउँघरमा सो कुरा जाहेर गरेछन् । स्थानीय गाउँलेहरूलाई ती देवीले भनेका सबै वृत्तान्त राम्रोसँग बताई बुझाई स्थानीय गाउँलेहरूबाट सहयोग लिई सो स्थानमा काष्ठ मन्दिर फल्याघर बनाइदिएछन् । सो मन्दिरमा गौतम थरका अत्री गोत्रका ब्राह्मण जीवदास उपाध्याय गौतमका सन्तानलाई पूजारी तोकिएछ ।
यसरी त्यहाँ विधिवत् तरिकाले नित्य पूजा आराधना गर्ने कामको सुरुवात भएछ । श्री शाईकुमारी भगवती देवी रमहादेव सिद्धबाब मन्दिरसहितको सुरक्षा गर्ने जिम्मा साँख गाउँका आदिवासी तथा जनजातिहरूलाई सुम्पिएछ । कात्तिक शुक्ल बैकुण्ठ चतुर्दशीको दिन देवी र सिद्धबाबाको पूजा आराधना गरी बोका वली दिने र रातमा जाग्राम बसी भोलिपल्ट पूर्णिमाको दिन मेला भरी पूर्णिमाको साँझ फूलपाती वितरण गरी वर माग्नेलाई पूजारीको तर्फबाट आशीर्वाद दिई मेला विसर्जन गर्ने परम्परादेखि चल्दै आएको छ ।
सनातन संस्कृतिलाई थाती राख्दै यो मन्दिरमा बिहान–साँझ नित्य पूजा गर्ने चलन चल्दै आएको छ । कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाको दिन पूजा पाठ गर्ने र मेला भर्न रुकुम जिल्लालगायत छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा, डोल्पा, प्युठान, सुर्खेत, बाँके, बर्दिया, दाङ, जुम्ला, दैलेख, कैलालीलगायत अन्य तराईका जिल्ला र राजधानी काठमाडौँ र भारतबाट समेत दर्शन गर्न र मेला भर्न श्रद्धालु भक्तजनहरूको ओइरो लाग्ने गरेको छ । यस मन्दिरको स्थापना कहिले भएको भन्ने कुरा यकिन हुन नसके पनि यस मन्दिरमा रहेको १६४१ लेखिएको घण्टले पुष्टि गर्दछ कि यो मन्दिर पौराणिक मन्दिर हो ।
भौगोलिक क्षेत्र
श्री शाईकुमारी भगवती देवी मन्दिर समुद्र सतहबाट करिब १८००मिटरदेखि २२०० मिटरको उचाइमा अवस्थित छ । यस मन्दिरको क्षेत्रफलले ओगटेको जग्गाको क्षेत्र मन्दिरको चार किल्लाको क्षेत्र पूर्व केदार केसी र रामबहादुर केसीको आवादी, पश्चिम टोपबहादुर खत्री गेदलाल देवकोटाको जग्गा, उत्तर भीमसेन केसी र सात दुले सामुदायिक वन र दक्षिण कुमार गौतम, सूर्यलाल गौतम, माया केसीको आवादी जग्गा र बाछिमेला महिला सामुदायिक वन रहेको छ । २४७६५ वर्ग मिटर जग्गा मुसीकोट नगरपालिका वडा नं ५ थर्पु डिग्रे क्षेत्रमा रहेको छ ।
यो जग्गा कुनै गुठी नभई मन्दिरको नाममा दर्ता गरिएको छ । विभिन्न समयमा दाताहरूले श्री शाईकुमारी भगवती देवी डिग्रे मन्दिरको नाममा राजीनामा गरी दिएका छन् । हाल श्री शाईकुमारी देवी भगवतीको नाममा गुठी सञ्चालनमा रहेको छ । हाल सिस्ने गाउँपालिका वडा नं ८ धपेमा रहेको खेत र वडा नं ८ लम्फाकोटमा रहेको जग्गा र मुसीकोट नगरपालिका वडा नं ५ थर्पु डिग्रेमा रहेको गरी जम्मा ४०२०० वगर्गमिटर अर्थात करिब ८० रोपनी जग्गा रहेको छ ।
यस मन्दिरका नाममा जग्गाका साथै केही वन क्षेत्र पनि रहेको छ । यस क्षेत्रभित्र बाँज, रयाँज, खर्सु, चाँप, काउलो, टिमुर, लालीगुराँस, अयाँर, कटुज, घउँस, लिरी, पुर्से, डिमुर, काफल, घुयली, सल्लो आदि प्रजातिका रूख र बुट्यानहरू छन् ।
सांस्कृतिक क्षेत्र र मान्यता
यस मन्दिरमा दैनिक रूपमा साँझ बिहान नित्य रूपमा विधिवत् रूपमा पूजापाठ गर्ने चलन परम्परादेखि चल्दै आएको छ । दैनिक रुपमा पूजापाठ गर्ने काम मन्दिरको तर्फबाट पूजारीबाट गर्ने गरिन्छ भने देवीको दर्शन गर्न आउनुहुने श्रद्धालु भक्तजनहरू पनि दैनिक रूपमा मन्दिरमा आई पूजापाठ गरी बोका बली दिने तथा नरिवल र अन्य फलफूल देवीलाई चढाउने चलन छ ।
यस मन्दिरमा आई पूजा पाठ गरी देवीलाई भाखा कबोल गरी वरदान मागेमा पुत्र, धन, अन्न, विद्यालगायत मनले चिताएका मनोकामना पूर्ण हुन्छ भन्ने श्रद्धालु भक्तजनहरूमा विश्वास रहेको छ । यहाँ आई स्वच्छ मनले पूजापाठ गरेमा मोक्ष प्राप्त हुन्छ र जुठोपिठो फोहोरफाहर, छातछुत, चोरी डकैती गरेमा नराम्रो हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
खास गरी यस मन्दिरमा पूर्णिमा अथवा मूल पर्व कात्तिक बैकुण्ठ चतुर्दशी र पूर्णिमाको दिनमा भव्य पूजाआजा हुनेगर्दछ । हरिबोधनी एकादशीको दिनदेखि यस मन्दिरका मुख्य पुजारी, सहायक पुजारी र यस मन्दिर वरपरका श्रद्धालु भक्तजनलगायत अन्य सर्वसाधारणहरूले पूजापाठ गर्ने गर्दछन् । एकादशीदेखि जूठोपिठो नगरी बैकुण्ठ चतुर्दशीको दिनसम्म शुद्द रही चतुर्दशीको बिहानै सफासुग्घर भई पूजापाठ गर्दछन् । देवीको विधिवत पूजापाठ सिद्धयाएपछि अन्त्यमा वरदान र पानफुल मागी घर फर्किन्छन र भोलिपल्ट पूर्णिमाको दिन मेला भर्न र हेर्न आउने चलन छ ।
बहु–सांस्कृतिक विश्वास
श्री शाईकुमारी भगवती देवी मन्दिरमा हिन्दु, बौद्ध, वैष्णव, जैन धर्म मान्ने धर्मावलम्बीहरू आउने गर्दछन् । यहाँ देवी र सिद्धबाबाको ठूलो शक्ति रहेको जनविश्वास छ । आफ्नो धर्मको रक्षा गर्दै अरू धर्मको सम्मान गर्ने गरिन्छ । जुन धर्म मान्ने मानिस भए पनि मन्दिर प्रवेशमा रोक लगाइँदैन । विभिन्न धर्म, जातजाति र लिंगको रूपमा यहाँ आउने विधिन्न श्रद्धालु भक्तजनहरूमा विभेद तथा भेदभाव गर्ने चलन छैन । यहाँ सबै भक्तजनहरूलाई समान रूपले स्वागत र सम्मान गरिन्छ ।
यस मन्दिरमा पूर्णिमाको दिन वा बैकुण्ठ चतुर्दशी र पूर्णिमाको दिनमा विभिन्न प्रकारका नाचगानहरू र विभिन्न समुदायका झाँकी नाचहरू प्रदर्शन गरिँदै आएको पाइन्छ । झ्याउरे, सिंगारु, सोरठी, पैसेरी, मयुर, ख्यालिलगायत नाच प्रदर्शन गर्ने गरिएको छ ।
मेलाको अवधिमा यहाँ विभिन्न प्रकारका होटल र पसलहरू राखिएका हुन्छन । विभिन्न परिकारका खानपिन र विभिन्न सामग्री र फलफूल किनबेच हुने गरेको छ । यहाँ विभिन्न प्रकारका साँस्कृतिक झाँकी, नृत्य, जादु, भिडियो, डकुमेन्ट्री देखाउने चलन पनि छ । मेलामा चर्खे पिङ खेल्ने खेलाउने र चिठ्ठा पनि खेलाउने गरिन्छ ।
वर्तमान अवस्थाका समस्याहरू
यस मन्दिरमा वर्तमान अवस्थामा विभिन्न प्रकारका समस्याहरू छन् । बैकुण्ठ चतुर्दशी र पूर्णिमाको दिनमा मन्दिरमा श्रद्धालु भक्तजनहरूको भीडभाड हुने भएकाले पूजापाठ गर्न समस्या हुने गरेको छ । खुला ठाँउ नभएका कारण यस्ता विशेष अवस्थाहरूमा मन्दिरको पूजापाठ गर्ने काममा बाधा हुँदै आएको छ । बैकुण्ठ चतुर्दशी र पूर्णिमाको दिन सधैँ यो समस्या खड्किरहन्छ ।
अघिपछि भने खासै त्यस्तो समस्या आउँदैन । बाहिरबाट आउने श्रद्धालु भक्तजनहरूलाई बास बस्न पनि समस्या हुने गरेको छ । मन्दिरमा हालसम्म कुनै पनि सरकारी वा गैरसरकारी संघसंस्था वा कार्यालयहरूबाट एक पैसाको पनि सहयोग प्राप्त भएको छैन । धर्मशाला, पिउनेपानी, शौचालय, वृद्धाश्रम, पुस्तकालय, मञ्च, विभिन्न मन्दिर निर्माण एवं जर्णोद्वार, वलीस्थानको राम्रो व्यवस्था हुन सकेको छैन ।
सञ्चारका साधनको असुविधा, घेराबार, फूलबारी, प्रदक्षिणालय निर्माण, पहिरो नियन्त्रण, वृक्षरोपण, गुठी जग्गाको व्यवस्थापन, पिकनिक पार्क निर्माण, बाटो तथा सडक निर्माण, अग्नि कुण्ड तथा विवाह मण्डप निर्माण तथा प्रतीक्षालय यहाँ निर्माण गर्नैपर्ने संरचना हुन् ।
यसका अलावा यहाँ सरसफाइलगायत वातावरणीय समस्याहरू खड्किरहेका छन् । यी समस्याहरूलाई वर्तमान समयमा नै समाधान गर्नुपर्ने आवश्यकता छ । दीर्घकालीन रूपमा यहाँ निम्न प्रकारका काम गर्नु आवश्यक देखिन्छ । धार्मिक पर्यटकीय क्षेत्र घोषणा, आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन पहल गर्नुपर्ने, यातायातको सुविधा, डम्पिङ साइटको व्यवस्था, होमस्टे स्थापना, गौशाला निर्माण, बजार तथा होटलको व्यवस्था, बलि चढाइएका बोका व्यवस्थापन गर्नु आवश्यक छ ।
यस मन्दिरमा रहेका समस्या समाधान गर्न यस क्षेत्रका सबै सरोकारवाला पक्षले आ–आफ्नो ठाउँबाट आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारी निर्वाह गर्न जुट्नु पर्दछ । यसका सरोकारवाला पक्षहरू जस्तैः मन्दिर व्यवस्थापन समिति, नजिकका समुदाय, विभिन्न पालिका, जिविस, सुरक्षा निकायहरू तथा संघसंस्था र श्रद्धालु भक्तजनलगायत सबै पक्षहरू मिलिजुली यहाँका समस्या समाधान गर्न सकिन्छ ।
साथै आ–आफ्नो तर्फबाट क–कसले कति सहयोग गर्न सकिन्छ यसको बारेमा खुलेर छलफल चलाउनु आवश्यक छ । यहाँको विकासका लागि तत्काल गुरुयोजना निर्माण गरी कार्य प्रारम्भ गर्न सकिन्छ ।
(लेखक डिग्रे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हुन् ।)
प्रतिक्रिया दिनुहोस्