बिरामीलाई भन्दा चिकित्सकलाई झनै हतारो हुन्छ । धेरैको सेवा गर्ने भन्दा पनि धेरै पैसा कमाउने हतारो, जुन सबैभन्दा खतरनाक हतारो हो । यो हतारोले चिकित्सकको काम र जिम्मेवारीको गुणस्तरमा कटौती गर्छ । इमान्दारितामा ह्रास ल्याउँछ । यसले गर्दा बिरामीको स्वास्थ्यमा गम्भीर रूपले लापरबाहीका सङ्केतहरू देखिन्छन् ।
जीतबहादुर शाह
समयले कात्तिकको चौथो हप्तालाई काँधमा बोकेर कुलेलम ठोकिरहेको छ । प्रभाती हिँडाइको क्रममा सडक र बाटो वरिपरि भएका खेतहरूतिर पनि स्वाभाविक किसिमले आँखा लाग्छ । यतिबेला धेरैले आ–आफ्ना खेतहरूमा धान काटेर खेतमै थुपारेका छन् भने कतिपयले खेतबाट धान उठाएर भकारी र भण्डारातिर लगिसकेको देखिन्छ । केही खेतहरूमा भने धान काटिएको छैन ।
यसको मतलब धान अझै पाकिसकेको छैन । नपाकेको धानमा स्थानीय अर्थात कालो धान (जरन) देखिन्छ । उक्त स्थानीय कालो धान पाक्न अरूभन्दा बढी समय लाग्छ । बढी समय लागे पनि धान फल्ने परिमाण भने छिटो पाक्ने धानको तुलनामा धेरै पनि हुँदैन, बरु थोरै हुन्छ, छिटो पाक्ने धानभन्दा । तथापि केही किसानहरू त्यही स्थानीय कालो धान नै लगाउँछन् ।
यसको कारण हो, यो धानको चामलको भात मीठो र पौष्टिक हुन्छ । बेच्दा महँगो पनि हुन्छ । त्यसै कारण पनि अन्य हाइब्रिड जातका धानका प्रजाति रोपेका खेतहरू रित्ता भइरहेका अवस्थामा पनि स्थानीय धान रोपेका खेतहरूमा भने धानका बालाहरू लहलहाउँदै जवानी भइरहेको देख्दा यो मन र मस्तिष्कभित्र त्यस्ता केही भावना र विचारहरू तरङ्गित हुन्छन्, जसलाई समेटेर यो आलेख तयार गरिएको छ ।
खेतिपातिमा मात्र होइन, अहिले मानिसहरू हरेक कुरामा हतारो गरिरहेका जस्ता देखिन्छन् । वर्षौंपछि आफ्नो अभिन्न मित्र भेटिए पनि सञ्चै छ भन्नेबाहेक अरू कुरा गर्ने फुर्सद छैन, मानौँ ऊ मञ्जुश्रीले जस्तै चोभारको डाँडो काटेर काठमाडौँमा बस्ती बसाउने अभियानमा अहोरात्र लागेको छ ।
फेसबुकका माध्यमबाट विवाह गर्छन् । विवाह गरेको भोलिपल्टै दुबै दम्पतीले रातारात करोडपति हुने हतारो गरिरहेका देखिन्छन् जसले गर्दा कोही विदेशतिर भासिन्छन् त कोही स्वदेशतिरै कमिसन, दलाल र भ्रष्टाचारको खेतितिर भासिन्छन् । यस्तै–यस्तैमा भासिँदा–भासिँदै कसै–कसैको त दाम्पत्य जीवन नै नउत्रिने गरी भासिन्छ । उनीहरूबीचको मीठो प्रेमको कहानी त सेक्सपियरका वियोगान्त नाटकहरूजस्तै आँसुमा परिणत हुन्छ ।
कर्मचारी, शिक्षकलगायतका जागिरेहरूले जागिर खाएको एक महिना भएको हुँदैन, महलमा बसेर मस्ती गरेको सपना देख्न थाल्छन्, कति त सफल पनि हुन्छन् । कतिका सपनाहरू भने हुरीले उडाएझैँ गरी कोही अख्तियारको फन्दामा पर्छन् त कोही अदालतको । समय नपुग्दै तुहिएको काखझैँ जागिरे सपनाहरू चिहानमा परिणत हुन्छन् असमयमै । यो मामलामा सफलजस्ता देखिनेहरूको समेत मनमा चयन हुँदैन । चोकमा निस्ँिकदा कसैले धारे हात लगाएर भ्रष्टाचारी भन्ने हो कि भन्ने चिन्ताले चिथोरिरहेको हुन्छ भित्रभित्र ।
अभिभावकहरू बालबालिकाको उन्नति र प्रगतिप्रति पनि त्यत्तिकै हतारो गरिरहेका हुन्छन् । नेपाली अभिभावकहरूको कुरा गर्दा उनीहरू चाहन्छन्, उनीहरूका सन्ततिहरूले बोली फुट्नेबित्तिकै अङ्ग्रेजीमा कुरा गरुन्, मानौँ उनीहरूका निम्ति अङ्ग्रेजी भाषा भनेको सभ्यताको पहिचान हो, प्रतिष्ठाको द्योतक हो र सम्पत्तिको स्रोत हो । उनीहरूलाई थाहा छैन कि अङ्ग्रेजी बोल्नेहरू सबै विद्वान र सबै महान् हुँदैनन् । अङ्ग्रेजीभाषी मुलुकहरूमा चोर, डाँका र भिख माग्नेहरूले पनि अङ्ग्रेजी बोल्छन् ।
अङ्ग्रेजी बोल्न सिकाउने नाममा पाँच वर्षको उमेर पूरा भएपछि विद्यालयमा भर्ना हुने बच्चाहरू दुई वर्ष नपुग्दै विद्यालयमा घोक्रेठ्याक लगाएर पठाइन्छ । उसलाई जन्म दिने आमाले सिकाएको भाषा बोल्न निषेध गरिन्छ र सुरु गरिन्छ न त इङिग््लस न त नेपाली जस्तो लाग्ने भाषा नेपाङ्लिस । पराधिनताको परिधि त्यहीँबाटै प्रवद्र्धन हुन थाल्छ र मर्न थाल्छ, संस्कृति, स्वाभिमान, संस्कार र आफ्नो सालीन सभ्यता ।
बालकहरू अक्षर चिन्न थाल्छन् र बिर्सन थाल्छन् आफन्तहरू । अङ्ग्रेजी वाक्यहरू घोक्न थाल्छन् र बोक्न थाल्छन् बिदेसिने सपनाहरू । सोचविचार नगरी सन्ततिलाई असल बनाउने हतारोले अभिभावक र सन्तति अनि समग्र मुलुकलाई कहाँ पु¥याउने हो थाहा छैन । जवान नहुँदै हतारहतार बिदेसिनका लागि सपना देख्न तत्पर नागरिकहरू उत्पादन गर्ने शिक्षा हाम्रो निम्ति गुणस्तरीय शिक्षा भएको छ । थुक्क हाम्रो गुणस्तरीय शिक्षा !
मानिसहरू यात्रुको रूपमा गाडीमा चढेका छन् । गाडी चालकले गाडी हाँकेको छ । गाडीमा थरिथरिका यात्रुहरू छन् र हतारहरू पनि थरिथरिका छन् । कसैलाई बेलुका समयमै घर पुग्ने हतार छ । ऊ बेलुका समयमै घरमा पुगेन भने उसले घरका सदस्यहरूका सामु लामो स्पष्टीकरण पेस गर्नुपर्ने हुन सक्छ । कसैलाई तोकिएको समयमा अफिस वा विद्यालयमा पुग्ने हतार छ ।
तोकिएको समयमा ऊ अफिस वा विद्यालयमा पुगेन भने ऊ आफ्नो बोस र सेवाग्राहीको आँखामा कामचोर ठहरिन सक्छ । कसैलाई आफूले सधँै मनको टुक्रा भनेर सम्बोधन गर्ने मानिसलाई भेट्न हतार छ । ऊ त्यो मान्छेलाई तोकिएको समयमा भेट्न सकेन भने जुनीजुनीलाई भनेर आर्जन गरेको विश्वास निमेषभरमै अविश्वासमा परिणत हुन सक्छ ।
अझै त्योभन्दा बढी हतार त गाडी मालिक र गाडी चालकलाई छ । गाडी मालिकलाई अर्कोतिरको ट्रिप भ्याएर अझै अलि बढी कमाउनु छ र छिटोछिटो किस्ता तिरेर गाडीको सक्कली मालिक हुनु छ । गाडी चालकलाई पनि छिटोछिटो आफ्नो पालो सकेर एकैछिन भए पनि साइँलीको भट्टीभित्र छिेरेर ठर्राको चुस्कीसँगै साइलीसँग मजाकिनु छ । गाडीको पछाडितिर हाम्रो मुलुकमा ‘छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’ लेखिएको हुन्छ भने सिमाना काट्ने हो भने इन्डियातिर ‘दुर्घटना से देर भला’ लेखिएको हुन्छ । तथापि जे लेखे पनि सबैलाई हतार हुन्छ । यस्तो हतारो धेरैका निम्ति तोकिएको गन्तव्यमा पुग्नका लागि भन्दा पनि मृत्युको नजिक पुग्नका लागि गरिएको हतारो जस्तो प्रमाणित भइरहेको तथ्य विभिन्न सडक दुर्घटनाहरूले बताइरहेका छन् ।
खानपानमा पनि मानिसहरू हतारिएकै हुन्छन् । होटल र रेष्टुराँतिर गएर छिटोछरितो हुने के हुन्छ भनेर सोधिरहेका हुन्छन् । छिटोछरितो खोज्नेहरू कहिलेकाहीँ त बासी खानेकुराहरू खान पुग्छन् । किनभने आलो र तात्तातो पकाएको खान त समय लाग्छ । बासी नभए पनि जङ्कफुडको फेला त अवश्य पर्छन नै । पौष्टिक र अर्गानिक खानेकुराका लागि केही समय पर्खने धैर्य अलिकति भए पनि हुनुपथ्र्यो, तर हुँदैन । अभिभावकहरूले सन्ततिहरूलाई पकाउन अल्छी र झन्झट मानेर जङ्कफुड किनेर दिन्छन् ।
कतिपयले त्यसो गर्न पनि नभ्याएर आफैँले किनेर खानका लागि पैसा दिएर पठाउँछन् । जङ्कफुड खान बानी परिसकेको बालकले अरू किनेर खाने त कुरै भएन । पोसिलो दूध बेचेर मादक पदार्र्थ खरिद गरी सेवन गर्ने अभिभावकको बाहुल्यता भएको समाजमा विचरा सन्तति अर्गानिक बाटो लागोस् पनि कसरी ? सबै कुरा छिटोछरितो खोज्ने हाम्रो प्रवृत्तिले अब त फलफूल र तरकारी खान पनि होसियार हुनुपर्ने भएको छ ।
किनभने तरकारी र फलफूलहरू पनि इन्जेक्सन लगाएर असमयमै हुर्काएर छिटो बेच्ने र छिटो खाइहाल्ने स्वभाव बढ्दो छ समाजमा । अरू त अरू, दिगो विकासका लक्ष्य बोकेर अघि बढेका तीनै तहका सरकारका जनप्रनिनिधिहरूले समेत पाँच वर्षभन्दा अघिको कुरै नगर भन्दै डोजरे विकासतिर लागेको देख्दा यो मन सिउन नमिल्ने गरी फाट्ने गरेको छ ।
अस्पताल र क्लिनिकतिर गयो भने त्यहाँ पनि बिरामी, बिरामी कुरुवा, औषधी पसले, एम्बुलेन्सलाई मात्र नभई चिकित्सकहरूलाई पनि हतार भइरहेको हुन्छ । बिरामी पनि थरिथरिका हुन्छन् । कसैले छिटो चेकजाँच गरिदिए अर्को कुनै महत्वपूर्ण ठानिएको आफ्नो काममा जानेथिएँ भन्ने किसिमले हतारो गरिरहेका हुन्छन् जब कि राम्रोसँग उपचार गरिएन भने उसलाई यो धर्तीमा बस्न अब धेरै छैन भन्ने कुरा समेत उसले भुलिसकेको हुन्छ । कोही भने छिटो उपचार गराएर छिटो सञ्चो हुने र छिटो अस्पतालबाट फर्किने चक्करमा हतार गरिरहेका हुन्छन् ।
बिरामीलाई भन्दा चिकित्सकलाई झनै हतारो हुन्छ । धेरैको सेवा गर्ने भन्दा पनि धेरै पैसा कमाउने हतारो, जुन सबैभन्दा खतरनाक हतारो हो । यो हतारोले चिकित्सकको काम र जिम्मेवारीको गुणस्तरमा कटौती गर्छ । इमान्दारितामा ह्रास ल्याउँछ । यसले गर्दा बिरामीको स्वास्थ्यमा गम्भीर रूपले लापरबाहीका सङ्केतहरू देखिन्छन् । यस्तै कुराको सिंहावलोकन गरेर होला, योगी विकासानन्द भन्ने गर्छन्– ‘डाक्टर र डाँकु उस्तै–उस्तै हुन्, दुबैको हातमा छुरी हुन्छ र दुबै पैसाका निम्ति मरिहत्ते गर्छन् ।’ विकासानन्दले भनेझैँ अधिकांश डाक्टरहरू त्यस्तै देखिन्छन्, अपबादमा केही डाक्टरहरू देवताजस्ता पनि छन् ।
लखनऊको सञ्जय गान्धी स्नातकोत्तर मेडिकल साइन्स कलेज हस्पिटलको न्यूक्लियर डिपार्टमेन्टका प्रमुख प्रा.डा. एस. गम्भीरका गतिविधिहरू तीन दिनसम्म नजीकबाट अवलोकन गर्ने अवसर मिल्यो । उनी आफ्नो कक्षमा आधा घन्टा बसिसकेपछि आधा घन्टा सबै अपरेसन कक्षहरूमा अवलोकन गर्ने रहेछन् ।
बिरामी र उनका आफन्तहरूसँग आवश्यकता अनुसार आफैँले पनि भलाकुसारी गरेर वास्तविकता बुझ्ने प्रयास गर्दा रहेछन्् । उनी कहिल्यै पनि हतार र हतासमा देखिँदैनन् । सधैँ भद्र र शालीन । उनको जवाफदेहिता, इमान्दारिता र भद्रताका कारण सबै स्टाफहरूले उनलाई हार्दिकतापूर्वक सम्मान गर्छन्् । विगत चार वर्षदेखि उनलाई देखिरहेको छु मैले त्यो अस्पतालमा । बिरामीप्रति सबै चिकित्सकहरू जिम्मेवार देखिन्छन् ।
हामी उक्त डिपार्टमेन्टबाट बिदा भएर बाहिरिँदै गर्दा डिपार्टमेन्ट प्रमुख डा. गम्भीर भन्दै थिए– ‘डु यू ह्याभ एनी सजेसन फर अस ?’ मैले आभारी छु मात्र भनेँ । नेपालका डाक्टरहरू र त्यसमा पनि अस्पतालका डिपार्टमेन्ट प्रमुखहरूमा बिरामी र बिरामीका आफन्तहरूसँग यो प्रकारको शालीनता र आभार पाउन कठिनजस्तै लाग्छ । उनको यस्तै शालीन र अनुकरणीय व्यवहारका कारण कलेजमा अध्ययनरत प्रशिक्षार्थी चिकित्सकहरू पनि उनीप्रति बेहद आभारी देखिन्छन्, सत्ययुगका शिष्य र गुरुहरूजस्तै ।
साँच्चि मानिसहरू कित यति साह्रो हतार गरिरहेका छन् ? यो हतारो कहाँ जान हो ? स्वर्ग जान हो वा नर्क ? यो हतारो केका लागि हो ? दीर्घायूका लागि हो वा अल्पायूका लागि ? निरोगी बन्नका लागि हो वा रोगी ? खुसी हुनका लागि हो वा दुःखी ?
यस्तै–यस्तै कुराहरूको उपस्थितिले कहिलेकाहीँ मथिङ्गल हल्लिने गर्दछ । सारमा वास्तविकता यही निस्कन्छ कि मानिसले गर्ने यो हतारोले मानिसलाई नै हर किसिमबाट कमजोर र हर किसिमबाट दास बनाइरहेको छ । मानिस प्रकृतिबाट टाढिएको छ । घरबाहिर निस्कँदा सर्सराउँदै चलिरहेको चिसो हावा पाइन्छ, तथापि मानिस एसीजडित कोठामा बसेर चिसो हावाको उपभोग गर्नुमा आफूलाई सहज ठान्दछ ।
किनभने बाहिर निस्कने ऊसँग समय छैन । कतिपय अवस्थामा हतारो पनि गर्नुपर्छ तथापि जहाँ हतारो गर्नुपर्ने हो त्यहाँ मानिसले निच मारेर बसेको छ तर जहाँ मानिसले संयम हुनुपर्ने हो त्यहाँ हतारो गरिरहेको छ । व्यक्तिगतदेखि समाज र मुलुककै समुन्नति र सुशासनका लागि मानिस हतारिनुपथ्र्यो, किनभने यस मामलामा हामी धेरै पछि परिसकेका छौँ । यसतर्फ हामी बेखबर भएका छौँ । आरम्भमा उल्लेख गरेझैँ हाम्रो हतारोले कालो धान जस्ता अर्गानिक उत्पादनहरू लोपोन्मुख अवस्थामा पुगेका छन् । साँच्चि, हाम्रो हतारो उन्नतिका लागि हो वा अवसानका लागि ? यो बबुरोलाई पर्गेल्न धौ–धौ परिरहेको छ । बाँकी तपाईंको मर्जी !
प्रतिक्रिया दिनुहोस्