बाँकेमा साढे ३ महिनामा ६३ सर्पको उद्धार



नेपालगन्ज ।

डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८१/०८२ को साढे तीन महिनामा ६३ वटा सर्पहरूको उद्धार गरेको छ ।

सर्पदंशबाट मानिसहरूलाई बचाउन र सर्पहरूलार्ई पनि मानिसहरूले हानी नपु¥याउन उद्देश्यले वन कार्यालयले सर्पहरूको उद्धार गर्दै आएको कार्यालयका वरिष्ठ वन अधिकृत बाबुराम पोखरेलले जानकारी दिए ।

उद्धार गरिएका सर्पहरूमा संरक्षित वन्यजन्तु वर्गमा राखिएको अजिंगर सात वटा र दुर्लभ मानिने दुईमुखे एउटासहित नौ प्रजातिका रहेका छन् । वन कार्यालयको कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी १४ वटा करेत सर्प समातिएका छन् भने ११/११ वटा रसेल्स भाइपर र फेतारा, १० वटा धामन सर्पको उद्धार गरिएको छ । यसैगरी, ६ वटा गोमन सर्प, दुईवटा क्इाट स्नेकको पनि उद्धार गरिएको छ ।

प्रायः घरनजिक र मानव बस्ती क्षेत्रमा भेटिएका सर्पहरूलाई उद्धार गर्न आएको खबर पछ्याएर सर्पहरूलाई उद्धार गरी वन तथा निकुञ्जमा सुरक्षित तवरले छोड्ने गरिएको वरिष्ठ वन अधिकृत पोखरेलले जानकारी दिए ।

कतिपय समुदायमा सर्पलाई मारे पाप लाग्ने विश्वासले नमार्ने गरिएको पाइएको छ भने कतिपयले मारिदिने गरेका छन् । कतिपय मानिसहरू उस्तै देखिने विषालु र विष नभएका सर्पहरूमा झुक्किएर पनि दुर्घटना हुनसक्ने र सर्पहरूलाई मार्नु उचित नहुने भएकाले सर्प देखेमा खबर गर्न पोखरेलले आग्रह गरे ।

यसैगरी, वन कार्यालयले अन्य पाँच प्रजातिका जनावरहरूको पनि उद्धार गरेको जानकारी दिएको छ । दुई वटा रतुवा र एक–एक वटा गोही, सुनगोहोरो र चितुवाको उद्धार गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार