हाम्रा उत्पादनहरू स्विमिङमा विद्यावारिधि त गर्दछन् तर पौडी खेल्न नजानेका कारण नदी र तलाउमा डुबेर अकालमा ज्यान फाल्छन्् । हाम्रा उत्पादनहरू साहित्यमा विद्यावारिधि त गर्दछन् तर सिर्जनाको हिसाबले भने शून्य हुन्छन् । हाम्रा उत्पादनहरू बाणिज्य शास्त्रमा उत्कृष्ट अङ्क त पाउँछन् तर जीविकोपार्जन र जागिरका लागि भने नेता र शक्तिमा भएकाहरूको पछि–पछि धाउन थाल्छन् । कारण स्पष्ट छ, सिकाइलाई सिद्धान्त र व्यवहारसँग परिचित र अन्तर्घुलन गराउन सकिएको छैन ।
जीतबहादुर शाह ।
रारा भ्रमणको क्रममा हामी गाडीमा कालीकोटको बाटो दगुर्दै थियौँ । सडक साँघुरो भएका कारण गाडीबाट सडक छेउतिर हेर्दा सडक देखिँदैनथ्यो, बरु बाँदर लड्ने जस्तो भीर देखिन्थ्यो र त्यसपछि धेरै तल बैँसले मात्तिएझैँ गरी तिला नदी बगिरहेकी देखिन्थिन् । गाडीभित्रबाट भीरतिर नजर लगाउँदासमेत हामीलाई हाम्रो आँखाले काम नगरेर रिङ्टा लाग्ला जस्तो हुन्थ्यो र जीउ सिरिङ्ग हुन्थ्यो त्रासले ।
तथापि त्यही भीरमा विद्यालय उमेरका बालबालिकाहरू घाँसी, ग्वाला र अन्य विविध भूमिका निर्वाह गर्ने क्रममा हिँडिरहेका देखिन्थे । हिँडिरहेका मात्र होइन, दौडिरहेका देखिन्थे । भीरमा दौडिरहेका ती बालबालिकाका बारेमा कुरा गर्दै बाटो काट्ने क्रममा तेजकुमारी म्याडमले भनेका कुरा बिर्सिएको छैन– ‘यी बालबालिका भनेका भीरमा फूलेका लालीगुराँसहरू हुन् ।
हाम्रा बालबालिका भनेका घरको बगैँचामा फुलेका फूलहरू हुन् भने राजधानीका हुनेखानेहरूका घरका बालबालिका भनेका गमलाका फूलहरू हुन् ।’ उहाँले भनेका यी कुराहरू साँच्चि हो जस्तो लाग्यो र अहिले पनि त्यस्तै लागिरहेको छ ।
रारा जाने र फर्कने क्रममा लालीगुराँस जस्ता लाग्ने बालबालिकाहरूसँग साक्षात्कार हुने अवसर पाइलापाइलामा मिल्यो । राराको छेउमा गएपछि सवारीका निम्ति तैनाथ घोडाहरूलाई देखेर हामीलाई पनि घोडा चढ्ने रहर जाग्यो । त्यतिबेला विद्यालयहरूमा दसैँतिहारको बिदा भएका कारण त्यहाँ पनि विद्यालय उमेरका छात्र विद्यार्थीहरू सवारीका निम्ति घोडाहरू ल्याएर सःशुल्क घोडा चढ्ने मानिसहरू खोजिरहेका थिए । यस्तैमा हामीले विद्यालयमा कक्षा ७ मा अध्ययन गरिरहेका १३–१४ वर्षका जस्ता देखिने एक जना विद्यार्थीसँग कुरा ग¥यौँ ।
उनले हामीलाई घोडा चढ्ने तरिका सिकाइदिए । घोडालाई कुदाएर पनि देखाइदिए । उनीबाट घोडा चढ्न सिक्ने विषयमा प्रशिक्षण लिइरहेकामध्ये धेरै त विद्यालयका शिक्षक र प्रिन्सिपल थियौँ । त्यसमा पनि कतिपय शिक्षक र प्रिन्सिपलका समेत सुपरीवेक्षक थियौँ । तथापि सीपको कुरा थियोे । पद र पदसोपानको काम थिएन त्यहाँ ।
उनले सिकाएका धेरै कुराहरू उनले र हामीले समेत अपेक्षा गरेझैँ गरी हामीले सिक्न सकेनौँ । मुस्किल–मुस्किलले उनकै सहयोगले घोडाको पिठ्यूँमा उक्लन भने सिक्यौँ । हाम्रो सिकाइको यो हविगत देखेर उनलाई हामी बुद्धु विद्यार्थी जस्ता लागिरहेका थियौँ सायद ।
बाटो र सडकको छेउमा व्यापारमा खटिएका विद्यार्थीहरू पनि धेरै देख्यौँ । कोही स्याउ बेचिरहेका देखिन्थे भने कोही ओखर । त्यस्तै कोही सिमी बेचिरहेका देखिन्थे भने कोही जडिबुटी । कालीकोटको पिलीमा एक जना बेलौती बेचिरहेकी स्कुले नानीको फोटो त फेसबुकमा समेत पोस्ट गरेर संसारलाई सेयर गरेँ मैले । धेरैबाट धेरै थरिका कमेन्टहरू आए । समग्रमा कसैले सकारात्मक भने त कसैले नकारात्मक ।
त्यसरी नै कसैले खुसी व्यक्त गरे त कसैले दुःख । बाटो हिँड्ने क्रममा एक बिहान एउटा चिया पसलमा हामीलाई जाडो भाग्ने गरी मीठो र तातो तातो चिया पकाएर दिने नानीलाई सोधेपछि थाहा भयो, उनले कक्षा ९ मा अध्ययन गर्ने विद्यालयमा पुग्न उनको घरबाट अढाइ घण्टा पैदल हिँड्नु पर्दोरहेछ । बाटोभरि यस्तै लालीगुराँसजस्ता लाग्ने विद्यार्थीहरूसँग साक्षात्कार हँुदैगर्दा यो मन मस्तिष्कमा अब्दुल कलामको एउटा भनाइले अड्डा जमायो– ‘कक्षाकोठाका अन्तिम बेन्चहरूमा पनि देशका केही तीक्ष्ण मस्तिष्कहरू भेटाउन सकिन्छ ।’
रारा यात्राको क्रममा बाटोभरि भेटिएका यी स्कुले बालबालिकालाई कक्षाकोठाको अन्तिम बेन्चमा भेटिएका तीक्ष्ण मस्तिष्क भएका विद्यार्थीहरू भनेर उपमा दिन मन लाग्यो ।
राराको यात्रा टुङ्गिएपछि मैले यात्राको क्रममा छलफलमा आएका बगैँचाका फूल र गमलाका फूलहरू भनेर उपमा प्राप्त विद्यार्थीहरूलाई पनि सम्झिएँ । उनीहरूले गर्ने र उनीहरूबाट अपेक्षित क्रियाकलापहरूको बारेमा पनि सम्झिएँ । हाम्रा कतिपय बालबालिकाका अभिभावकहरूले माया गर्ने नाममा त्यस्ता बालबालिकालाई १३–१४ वर्षको उमेरसम्म पनि आफैँले खाना खुवाइदिएका कुराहरू पनि सम्झेँ ।
त्यस्ता बालबालिकालाई अलिकति पनि पैदल हिँड्न नदिएर गेटमा गाडी आएर विद्यालय लैजाने सन्दर्भहरू पनि सम्झेँ । तुलना गरेँ, रारा यात्राको क्रममा भेटिएका भीरमा दौडने र सहरमा भेटिएका एक पाइला पनि पैदल हिँड्न नपर्ने बालबालिकाको बीचमा । तुलना गरेँ, आफैँले आयआर्जन गरेर खाने र उमेर छिप्पिइसक्दा पनि तयारी खानासमेत अरूले खुवाइदिनुपर्ने बालबालिकाको बीचमा । को हो त स्वावलम्बी र आत्मनिर्भर रु को हो त यो देशका निम्ति काम लाग्ने असल नागरिक रु यस्तै दृष्टान्तलाई नियाल्दा हाम्रो शिक्षा, सोच र कर्ममा कतै त्रुटि त छैन भनेर घोत्लिनसमेत बाध्य भएको छ यो पङ्तिकार ।
जोन एडम्सले भनेका छन्– ‘शिक्षा विशेष गरी दुई प्रकारका छन्– एउटाले जीवन कसरी बनाउने ९ज्यध तय mबपभ ष्खिष्लन० भन्ने तर्फ निर्देश गर्दछ भने अर्कोले कसरी बाँच्ने भन्ने तर्फ निर्देश गर्दछ ।’ मलाई त लाग्यो, हामीले भनेका भीरका लालीगुराँस जस्ता लाग्ने बालबालिकाले जीवन कस्तो बनाउने भन्ने बारेमा सोच्नै भ्याएनन् कहिल्यै र कसैले यो बारेमा सिकाउनसमेत भ्याएनन् । उनीहरूले कसरी बाँच्ने भन्ने बारेमा मात्रै सोच्न र तदनुसारका जीवकोपार्जनका काम गर्न भ्याए ।
त्यसैले त कन्फुसियसले भने जस्तै सिद्धान्तबिनाको उनीहरूको सिकाइ खेर गइरहेको श्रमजस्तो भयो र भइरहेको छ । साँच्चि, उनीहरूले घोडा चढ्न सिक्ने क्रममा यसलाई यसका सिद्धान्त र विश्वबजारसँग जोडेर सिकाउन सकेको भए उनीहरूको जीवन सिकाइको विशेष उचाइमा पुग्न फेरि अर्को कुनै विद्यालयमा धाउनु पर्दैनथ्यो होला ।
बाँदर लड्ने भीरमा दौडिरहेका बालबालिकालाई यसको तरिका, सिद्धान्त र उपादेयताका बारेमा थप कुरा सिकाउनका लागि कसैले हिक्मत गरेको भए सायद उनीहरू भीरमा दौडँदा दौडँदै पनि आफ्नो जीवनको उत्तम बाटो कोर्न सक्थे होला । रक क्लाइम्बिङजस्ता साहसिक खेल र कार्यहरूमा उनीहरूले विश्वमा अब्बल भएर पनि निस्कन्थे होला । अफसोच त्यसो गर्न हामीले सकिरहेका छैनौँ । हाम्रो शिक्षाले सकिरहेको छैन ।
हाम्रो शिक्षाले विद्यार्थीको दिमागमा अक्षर, अङ्क र सङ्केतहरूको सङ्ख्या बढाउनुलाई नै आफ्नो मक्सद बनाएझैँ महसुस हुन्छ । उनीहरू कसैले तयार पारेको खानासमेत राम्रोसँग खान जान्दैनन् तथापि कसैले तयार गरेका कुराहरू भने किताबको सहयोगले दिमागमा स्टोरेज गर्न माहिर हुन्छन् । हामी त्यसैलाई गुणस्तरीय शिक्षा भनेर हवाला दिइरहेका छौँ । त्यसैले त हाम्रा उत्पादनहरू स्विमिङमा विद्यावारिधि त गर्दछन् तर पौडी खेल्न नजानेका कारण नदी र तलाउमा डुबेर अकालमा ज्यान फाल्छन्् ।
हाम्रा उत्पादनहरू साहित्यमा विद्यावारिधि त गर्दछन् तर सिर्जनाको हिसाबले भने शून्य हुन्छन् । हाम्रा उत्पादनहरू बाणिज्य शास्त्रमा उत्कृष्ट अङ्क त पाउँछन् तर जीविकोपार्जन र जागिरका लागि भने नेता र शक्तिमा भएकाहरूको पछि–पछि धाउन थाल्छन् । एकातिर हाम्रा उत्पादनको यस्तो बिजोग छ भने अर्कोतर्फ कसैको क्षमता त छ तर ऊसँग व्यवस्थित ज्ञान, सीप र त्यसलाई वैधता प्रदान गर्ने सर्टिफिकेटको अभाव छ । कारण स्पष्ट छ, सिकाइलाई सिद्धान्त र व्यवहारसँग परिचित र अन्तर्घुलन गराउन सकिएको छैन ।
सिकाइलाई व्यवहारसँग जोड्नु जति आवश्यक छ त्यत्तिकै सिकाइलाई नियम र सिद्धान्तसँग जोड्नु पनि आवश्यक छ । विशेषगरी सानो उमेरका बालबालिकालाई किताबका लाइनहरू घोकाउनुभन्दा व्यावहारिक पक्षतर्फ डो¥याउन सक्यौँ भने उनीहरूको जीवनमा एउटा छुट्टै ऊर्जा र पाइन आउने गर्दछ । बालबालिकाहरूको लजिकल मस्तिष्क (बाँया मस्तिष्क) लाई भन्दा अनुभूतिजन्य अर्थात फिलिङ मस्तिष्क (दाँया मस्तिष्क)लाई एक्टिभ गराउनु आवश्यक हुन्छ ।
दृष्टान्तको रूपमा भन्नु पर्दा रेडियमको आविष्कारक म्याडम क्यूरीले आफ्ना छोरीहरूलाई घोक्ने र कण्ठ गर्ने कक्षाहरूबाट निकालेर व्यावहारिक शिक्षा अर्थात रूख चढ्ने, पहाड चढ्ने, घोडा चढ्ने, प्रयोगशालामा गएर प्रयोग गर्ने, इच्छा भए त्यसको बारेमा लेख्ने, इच्छा नभए नलेख्ने आदि क्रियाकलापमा संलग्न गराउँदै अगाडि बढाएकी थिइन् । अन्ततः उनको एउटी छोरीले नोबेल पुरस्कार हात पार्न सफल भइन् भने अर्की छोरी विश्वप्रसिद्ध लेखिका बनिन् ।
शिक्षालाई जीवन र जगत्सँग जोड्नुको विकल्प छैन । यसका लागि शिक्षा र सिकाइमा प्रयोग र सिद्धान्तलाई उपयुक्त भार दिएर शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गर्न सक्नुपर्दछ । धेरै मुलुकहरूले यस प्रकारबाट शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने कामको थालनी गरिसकेका छन् । टेक्निकल एजुकेसनतर्फ हाम्रो देशमा पनि प्रयोगात्मक पक्षले प्राथमिकता पाएको त छ । साधारण शिक्षामा भने यसले त्यति प्राथमिकता नपाएको अवस्था छ । शिक्षामा यसलाई गरेर सिक्ने भनेर पनि चिनिन्छ । शैक्षणिक विधिको हिसाबले यो विधि आगमन विधि सँग सम्बन्धित छ । यो विधि व्यवहारसँग सम्बन्धित छ र जानेका कुराहरूसँग सम्बन्धित छ । यसले गर्दा सिकाइलाई रोचक, अनुभूतिजन्य, सरल र अर्थपूर्ण बनाउन सहयोग गर्दछ ।
समग्रमा हाम्रो शिक्षालाई प्रभावकारी बनाउनका लागि सिकाइका दुइटा पाटाहरू– सिद्धान्त र व्यवहारलाई एकैठाउँमा जोड्नु आवश्यक छ । रारा तालको छेउमा घोडा चढ्न सिकाउने स्कुले बालकको सीपलाई पनि विद्यालय र विश्वविद्यालयको शिक्षासँग फ्यूजन गरेर हाम्रो शिक्षाले सम्मान गर्न सक्नुपर्दछ भने सहरतिर मौलाएको किताबी शिक्षालाई पनि प्राजेक्ट कार्य, अनुभूति जन्य क्रियाकलाप र प्रयोगात्मक कार्यसँग जोडेर सकेसम्म व्यावहारिक र जीवनसापेक्ष बनाउनु आवश्यक छ । शिक्षा बाँच्नका लागि त चाहिनुपर्छ नै ।
यसलाई सिद्धान्त र व्यवहारको बीचमा उचित सन्तुलन गरेर अगाडि बढाउन सकियो भने जीवन कसरी असल बनाउने भन्ने सवालमा समेत शिक्षा र सिकाइले विशेष योगदान गर्न सक्छ भन्ने लाग्छ । त्यसो भयो भने मलाई त विश्वास छ, विद्यालय र विश्वविद्यालयले गरेका उत्पादनहरू चाकरी र जीहजुरीतिर नलागेर देश र समाज निर्माणको बाटोमा उत्साहपूर्वक लाग्नेछन् र त्यही दिनदेखि परिश्रमी हात र सिर्जनशील मस्तिष्कहरूलाई अपमान गर्ने संस्कारको पनि देहावसान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्