बाँके ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् ।
नेपाल किसान महासंघ बाँकेद्वारा मंगलबार कोहलपुरमा आयोजित एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि कार्यका लागि ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारी दिए । उनले आफ्नो तर्फबाट सक्दो काम गर्ने बताउँदै मन्त्रालयबाट निस्कँदा निष्कलंक भएर निस्कने दृढता व्यक्त गरे । मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको समेत बताए ।
उनले आफूले मन्त्रालय सम्हालेपछि दूध र उखुको बाँकी बक्यौता भुक्तानी तथा बाली बीमाको रकम उपलब्ध गराउन सफल भएको बताए । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सरकारले तत्काल मलको कारखाना खोल्ने निर्णय गर्नुपर्नेमा जोड दिए । उनले पाउडर प्लान्ट स्थापना गर्न आग्रह समेत गरे ।
किसानहरूले समयमै मल तथा बीउबिजनको व्यवस्था गर्न, सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन, सिँचाइको व्यवस्था मिलाउन, उत्पादनको बजारीकरणको व्यवस्था गर्न, युवा पलायन रोक्न, अनुदानको दुरुपयोग रोक्न, खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध ओसारपसार रोक्न मन्त्री अधिकारीसमक्ष माग गरेका छन् ।
मन्त्री अधिकारीलाई कोहलपुर डेरी एसोसिएसनले विभिन्न माग राख्दै ज्ञापनपत्र पनि बुझाएको महासचिव सन्तोष पौडेलले बताए ।









प्रतिक्रिया दिनुहोस्