कोहलपुरको शवदाह गृह अन्यत्र सार्न स्थानीयको माग



गणेश रावत । कोहलपुर ।

कोहलपुर नगरपालिकाले डुडुवा र रोहिणी खोलाको संगममा निर्माण गर्न लागेको शवदाह गृह स्थानान्तरण गर्न कोहलपुर नगरपालिका–१० र ११ का स्थानीयले माग गरेका छन् ।

सोमबार नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउँदै उनीहरू सो शवदाह गृह निर्माण कार्यको विरोध गरेका हुन् । धुवाँधुलो र खरानीले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा असर पर्ने भन्दै शवदाह गृह अन्यत्र निर्माण गर्न उनीहरूले माग गरेका हुन् ।

शवदाह गृह निर्माण गर्दा स्थानीयको सल्लाहबिना निर्माण कार्य थालिएको भन्दै उनीहरूले आपत्तिसमेत जनाए । कोहलपुर नगरपालिका–१० र ११ एकता नगरको पूर्व वधशाला नजिकै निर्माण हुन लागेको शवदाह गृहले स्थानीयको स्वास्थ्यमा असर गर्नुका साथै ढल व्यवस्थापनलगायतका कुुरामा समस्या पर्ने कोहलपुर–११ टोल विकास समितिका अध्यक्ष घनबहादुर चौधरीले बताए ।

एकता नगर बस्ती राज्यको नजरबाट पछाडि परेको र हालसम्म उल्लेखनीय विकास हुन नसेको सुनासो गर्दै उनले त्यसमाथि शवदाह गृह निर्माण गरेर यसलाई मसानघाट नै बनाउन खोजिएको गुनासो गरे । स्थानीयको सल्लाहबिनै अकस्मात शवदाह गृह निर्माणको थालनी गरिनु आपत्तिजनक रहेको उनको भनाइ छ ।

कोहलपुरका विभिन्न ठाउँका स्थानीय आएर मर्निङ वाक गर्ने ठाउँमा कुनै सर्वेबिना शवदाह गृह निर्माण थालिनु कति उचित होला ? स्थानीय तेजबहादुर कार्कीले प्रश्न गरे । यसै पनि दशबिघा अस्पतालको ढलमिश्रित फोहोरबाट वाक्क भएका यहाँका बासिन्दालाई शवदाह गृह निर्माण गरेर नगरपालिकाले उठिबास गराउन खोजेको उनले दुःखेसो पोखे ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले स्थानीयको ज्ञापनपत्र बुझ्दै झट्ट सुन्दा शवदाह गृह नराम्रो लागे पनि आधुनिक बन्ने भएकाले त्यस्तो समस्या नआउने दाबी गरे । अझै पनि सबै मिलेर पुनः एकपटक अनुगमन गरिने उनले बताए । अत्याधुनिक शवदाह गृह बन्ने भएकाले वातावरण प्रदूषण नहुने उनको भनाइ छ ।

डुडुवा र रोहिणी खोलाको संगमस्थलमा नगर प्रमुख आचार्यले असोज २० गते सो शवदाह गृहको शिलान्यास गरेका थिए । शवदाह गृहको शिलान्यास गर्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरबासीको लामो समयदेखिको साझा एजेन्डाको रूपमा रहेको शवदाह गृह निर्माण कार्य सुरु भएको बताएका थिए । शवदाह गृह निर्माणसँगै करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्म पुग्नुपर्ने झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने उनले विश्वास लिएका थिए ।

कोहलपुर क्षेत्रमा एउटा शवदाह गृहको अनिवार्य आवश्यकता बोध गरेर उपयुक्त स्थानको खोजी भइरहे पनि उपयुक्त स्थानको पहिचान हुन नसक्दा लामो समयसम्म सो कामले गति लिन सकेको थिएन ।

कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वमा सर्वपक्षीय समिति बनाएर नगरपालिकाले शवदाह गृह निर्माणका लागि उपयुक्त स्थानको खोजी गरिरहेको थियो । समितिकै सिफारिसका आधारमा सो स्थान पहिचान गरिएको थियो ।

करिब १ करोड २५ लाख रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको शवदाह गृह निर्माणका लागि नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा कोहलपुुरका व्यवसायी चक्र अधिकारीलाई संयोजक तोकिएको छ । अधिकारीको संयोजकत्वमा सर्वपक्षीय समिति बनाएर शवदाह गृहको निर्माणको काम थालिएको थियो ।

सोका लागि कोहलपुर नगरपालिकाले चालू आवमा १५ लाख रुपैयाँ छुट्याएको छ भने नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण सहयोग लिएर सो शवदाह गृह निर्माण गर्न लागिएको थियो । थप आवश्यक रकमका लागि विभिन्न सामाजिक तथा वित्तीय संस्थाहरूबाट जुटाउने योजना नगरपालिकाको थियो ।

संयोजक अधिकारीका अनुसार एभरेस्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको थियो भने ग्लोबल आइएमई, गोल्छा गु्रपलगायतसँग सहयोगका लागि कुराकानी चलिरहेको थियो ।

दु्रतगतिमा काम अघि बढाएर पुस मसान्तभित्रै काम सक्ने दाबी गरिएको सो शवदाह गृह निर्माणको काम स्थानीयको अवरोधका कारण रोकिने अवस्थामा पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १३ गते मंगलबार