२० लाख भारुसहित दुई भारतीय पक्राउ



कपिलवस्तु ।

२० लाख भारतीय रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले कपिलवस्तुबाट दुई जना भारतीय नागरिकलाई रकमसहित पक्राउ गरेको हो । महाराष्ट्र प्रदेशको राइगढ जिल्ला मुम्बई सिटीका ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका ३९ वर्षीय उमेशसखाराम खंडागले पक्राउ परेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनमणि अधिकारीका अनुसार नेपाल प्रवेश गरिरहेका बेला उनीहरूको साथबाट सवारी चेकजाँचका क्रममा साढे २० लाखभन्दा बढी रकम बरामद भएको थियो ।

उनीहरू बेग्लाबेग्लै भारतीय नम्बर प्लेटका भाडाका गाडीबाट नेपाल प्रवेश गरेका थिए । यूपी४५एएस ६६६३ नम्बरको गाडीमा सवार सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी४२डिटी ५७२१ नम्बरको भाडाका गाडीमा सवार उमेश सखाराम खंडागलेको झोलाबाट साढे १२ लाख स्रोत नखुलेको नगद बरामद भएको डिएसपी अधिकारीले जानकारी दिए ।

कृष्णनगर नगरपालिका वडा नम्बर २ स्थित लिंक गेटमा सोमबार बेलुकी पौने ९ बजेतिर उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका दुवैले उक्त रकमको स्रोत खुलाउन सकेका थिएनन् । उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार