कपडा लगायतका सामानहरू भारतबाट नेपालमा भन्सार छलेर ओसार्न प्रयोग भएको भारतीय नम्बर प्लेटको कारसहित नेपालगन्जबाट दुईजना पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।
नेपालगन्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतीय नम्बर प्लेटको कारमा भन्सार छली गरेर कपडा भित्र्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलबाट कटन र उलनको कुर्ता सुरुवाल, स्वेटर लगायतका कपडाहरूसहित युपी१६एडी ६६८२ नम्बरको कार बरामद गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।
बरामद भएको कारमा रहेका कपडाहरू भारतबाट अवैधरूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको उनले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कारबाट अन्दाजी दुई लाख ६९ हजार चार सय ५० रुपैयाँ बराबरको विभिन्न कपडाहरू बरामद भएको छ ।
ढुवानीमा प्रयोग गरिएको गाडीको अन्दाजी मूल्य ६ लाख ५० हजार रहेको एसपी कार्कीले जानकारी दिए ।
एसपी कार्कीका अनुसार गोप्य सूचनाको आधारमा पक्राउ परेका व्यक्तिहरू पेशेवर तस्करहरू रहेको आशंका गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरूले कपडा ल्याएर घरबारीटोलस्थित गोदाममा पुगिसकेको अवस्थामा प्रहरीले पक्राउ गरी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको एसपी कार्कीको भनाइ छ ।
लत्ताकपडा, गाडी र ढुवानीमा संलग्न दुईजना मानिसलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्जमा सोमबार नै बुझाएको हो । नाकामा रहेका विभिन्न चेकपोष्टहरू पार गर्दै नेपालगन्ज बजारसम्म पुगेर तस्करहरू समातिनुले नाकामा रहेको चेकजाँचको व्यवस्थामा प्रश्न उब्जिाएको छ ।
पक्राउ परेका व्यक्तिहरूको नाम भने जिल्ला प्रहरी कार्यालय बाँकेले खुलाउन मानेन । सामान्य घटनामा समेत नाम ठेगाना सार्वजनिक गर्ने गरेको बाँके प्रहरीले कारमा तस्करी गर्नेहरू पक्राउ परेपनि नाम सार्वजनिक नगरेपछि विभिन्न आंशकाहरू उब्जिएका छन् ।
प्रतिक्रिया दिनुहोस्